घाटा थेग्नै नसक्ने अवस्थामा निगम, नोक्सानी साढे २१ अर्ब नाघ्यो, अब ऋण लिएर तेल किन्नुपर्ने

काठमाडौं । नेपाल आयल निगम घाटा थेग्नै नसक्ने अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगमको घाटा पनि चुलिँदै गएको हो ।

 

हरेक महिना कम्तीमा दुई पटक पेट्रोलियम पदार्थको भाउ बढाए पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमको घाटा झन्झन बढ्दै गएको हो ।

 

विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा झनै बढेको हो । निगमका अनुसार पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि पनि अझै मासिक साढे ४ अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब २ अर्ब २३ करोड घाटा रहेको छ ।

 

मट्टीतेल र हवाई इन्धनमा थोरै नाफा भए पनि डिजेल, पेट्रोल र ग्यासमा धेरै घाटा बेहोर्नु परेपछि निगमको घाटा पनि महिनैपिच्छे चुलिँदै गएको हो ।

 

निगमका अनुसार चालु आवको ६ महिना (माघ १५ सम्म) अनुमानित घाटा साढे २१ अर्ब पुगेको छ । आगामी १५ दिनमा थप २ अर्ब ३३ करोड घाटा हुने भएकाले माघ अन्तिमसम्म निगमको कुल घाटा २३ अर्ब ८३ करोड पुग्ने निगमले जनाएको छ ।

 

आगामी दिनमा इन्धनको मूल्य झनै बढ्ने निगमको आकलन छ । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको र आगामी दिनमा अझै बढ्ने प्रक्षेपण भइरहेको छ । अहिले क्रुड आयल प्रतिब्यारेल ९० डलर रहेको र आगामी दिनमा प्रतिब्यारेल १०० डलरसम्म पुग्ने प्रक्षेपण छ । त्यसको प्रभाव नेपालमा पनि पर्ने निगमको भनाइ छ ।

 

केमा कति घाटा ?

 

निगमका अनुसार मट्टीतेल र हवाई इन्धनमा थोरै नाफा भए पनि डिजेल, पेट्रोल र ग्यासमा घाटा छ । मंगलबार मूल्य बढाएपछि पनि पेट्रोलमा प्रतिलिटर १३.२३ रुपैयाँ, डिजेलमा प्रतिलिटर ११.१३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६०.०९ रुपैयाँ घाटा छ । आगामी १५ दिनको अवधिमा पेट्रोलमा ४३ करोड, डिजेलमा १ अर्ब १ करोड, ग्यासमा १ अर्ब नोक्सान हुने निगमले जनाएको छ ।

 

निगमलाई मट्टितेलमा भने प्रतिलिटर १८.१२ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १०.५० रुपैयाँ र बाह्य इन्धनमा प्रतिलिटर ३२.७२ पैसा नाफा छ । डिजेल, पेट्रोलको तुलनामा मट्टीतेल र हवाइ इन्धन थोरै खपत हुने भएकाले नाफा भए पनि ठूलो अर्थ नराख्ने निगमका अधिकारीहरु बताउँछन् ।

 

अब मासिक ५ अर्ब ऋण लिनुपर्ने

 

मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न ऋण लिनुपर्ने बाध्यता रहेको निगमले जनाएको छ । निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपश्चात पनि प्रतिमहिना ५ अर्ब ऋण लिनुपर्ने अवस्था आएको निगमको भनाइ छ ।

 

सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो । सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत १ अर्ब ८० करोड लिएर निगमले आइओसीलाई पठाएको थियो ।

 

पेट्रोलको मूल्य इतिहासकै उच्च, २ वर्षदेखि बढेकोबढ्यै

 

पेट्रोलको मूल्य इतिहासकै उच्च भएको छ । निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३र३ रुपैयाँ बढाएको छ । सोसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ, डिजेल र मट्टीतेल १२५ रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै धेरै हो ।

 

यसअघि २०७० फागुन ३० मा पेट्रोल सर्वाधिक प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो । तर त्यसपछि मूल्य घटेर २०७३ साउनमा प्रतिलिटर ९७ रुपैयाँसम्म झरेको थियो ।

 

पछिल्लो २ वर्ष यता भने पेट्रोलियम पदार्थको मूल्य लगातार बढेको हो । २०७६ चैत यता पेट्रोलियम पदार्थको मूल्य लगातार बढेको हो । सो बेला प्रतिलिटर ९६ रुपैयाँ रहेको पेट्रोल अहिले १४२ रुपैयाँ पुगेको छ ।

महाकालीमा नेपाल-भारत जोड्ने पक्की पुल बनाइने Read Previous

महाकालीमा नेपाल-भारत जोड्ने पक्की पुल बनाइने

५ क्यासिनोलाई रोयल्टी तिर्न ७ दिनको अल्टिमेटम, कुनको कति बाँकी छ ? Read Next

५ क्यासिनोलाई रोयल्टी तिर्न ७ दिनको अल्टिमेटम, कुनको कति बाँकी छ ?