३ नदीमा पानी जहाज संचालनका लागि अध्ययन गर्न दुई कम्पनी छनोट

काठमाडौं । मुलुकका ३ ठूला नदीमा पानी जहाज संचालनका लागि अध्ययन गर्न कम्पनी छनोट भएको छ । बबई, राप्ती र सुनकोशी नदीमा पानी जहाज सञ्चालनका लागि फिजिबिलिटी अध्यन गर्न दुई कम्पनी छनोट भएका हुन् ।

 

नेपाल पानी जहाज कार्यालयका सूचना अधिकारी राजन प्रधानका अनुसार बबई नदीको ५२ किलोमिटर क्षेत्रमा पानी जहाज संचालनको फिजिबिलिटी अध्ययनका लागि बीडीए नेपाल, श्रेष्ठ, ग्रीड जेभी कम्पनी छनोट भएको छ । उक्त नदीमा फिजिबिलिटी अध्ययनका लागि १२ कम्पनीले आवेदन दिएकोमा बीडीए नेपाल, श्रेष्ठ, ग्रीड जेभी छनोट भएको उनले बताए ।

 

त्यसैगरी, राप्ती नदी र सुनकोशी नदीमा पानी जहाज संचालनको फिजिबिलिटी अध्ययन गर्न रिती, टीएमएस, आइईजे जेभी कम्पनी छनोट भएको छ । सुनकोशीका लागि ८ कम्पनीले आवेदन दिएका थिए भने राप्तीका लागि १३ कम्पनीले आवेदन दिएका थिए । सोमध्ये प्राविधिक र आर्थिक मूल्यांकनबाट दुवै नदीका लागि रिती, टीएमएस, आइईजे जेभी कम्पनी छनोट भएको हो ।

 

राप्तीको १०२ किलोमिटर र सुनकोशीमा ४६ किलोमिटरमा फिजिबिलिटी अध्ययन गर्न लागिएको सूचना अधिकारी प्रधानले बताए । माघ ५ गते ती कम्पनीहरु छनोट भएको कार्यालयले सूचना जारी गरेको थियो ।

 

यसै वर्ष अध्ययन सकिने

 

उनले उक्त कम्पनीले सक्दो चाँडो सम्झौता गरी अध्ययन सुरू गर्नुपर्ने बताए । उनले चालु आर्थिक वर्षभित्रै तीन वटै नदीको फिजिबिलिटी अध्ययन सम्पन्न गर्नेगरी कार्य भइरहेको बताए ।

 

सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार सूचना सार्वजनिक गरिएको १५ दिनमा सम्झौता गरिसक्नु पर्नेछ । सम्झौता भएको १५ दिनमा कम्पनीहरुले अध्ययन सुरू गर्नुपर्ने छ । कम्पनीले ३ महिना भित्र अध्ययन सकेर फाइनल रिपोर्ट नेपाल पानी जहाज कार्यालयलाई बुझाउनु पर्ने उनले बताए ।

 

‘फिजिबिलिटी स्टडी यही आर्थिक वर्षभित्र सक्ने गरी गर्ने हो, उनीहरुले ३ महिना जतिको समय पाउने छन्, अब चाँडै अध्ययन सुरू हुनेछ,’ प्रधानले चाणक्य पोष्टसँग भने ।

 

फिजिबिलिटी अध्ययनका लागि राप्तीको ९९ लाख ३० हजार ३५८ रुपैयाँ, सुनकोशीको ४६ लाख ९ हजार १०७ र बबईको ५० लाख १७ हजार ९०५ रुपैयाँ खर्च लाग्ने कार्यालयले जनाएको छ ।

दुई पटक म्याद थप्दा पनि अझै भएन बलेवा विमानस्थल कालोपत्र Read Previous

दुई पटक म्याद थप्दा पनि अझै भएन बलेवा विमानस्थल कालोपत्र

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी