निफ्राको सेयरमा फेरि किन झुम्मिए लगानीकर्ता ? किन्नेको ओइरो लाग्दा बेच्ने शून्य

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)कोे सेयरमा लगानीकर्ताको फेरि उच्च आकर्षण देखिएको छ । दुई साता यता लगातार भाउ घट्दै आएको निफ्राको सेयरमा आज उच्च आकर्ष देखिएको हो ।

 

आज (दिउँसा १ः४५ बजेसम्म) निफ्राको सेयरमा पोजेटिभ सर्किट अर्थात् मूल्य १० प्रतिशतले बढेको छ । निफ्राको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँले बढेर ३७५ रुपैयाँ पुगेको छ । सो बेलासम्म निफ्राको ४ लाख २६ हजार बढी कित्ता खरिदका लागि माग भएको छ भने बेच्ने शून्य रहेका छन् । २ लाख ८५ हजार कित्ता सेयर किनबेच भइसकेको छ ।

 

पुस २९ गते प्रतिकित्ता ४०० नजिक पुगेको निफ्राको सेयर मूल्य दुईसातामा प्रतिकित्ता ६० रुपैयाँ बढीले घटेको थियो । सोही बेला सस्तोमा सेयर उठाएकाहरुले उचाल्दा मूल्य फेरि आकाशिएको लगानीकर्ताको आकलन छ ।

 

गत वर्षको नाफाबाट ८ प्रतिशत लाभांश समेत घोषणा गरिसकेकाले बैंकले तत्कालै कुनै प्रतिफल दिने सम्भावना नरहे पनि लगानीकर्ता भने एकाएक यसको सेयरमा आकर्षित भएका छन् । यस्तै, बैंकले व्यवसायमा पनि कुनै ठूलो फड्को मारेको छैन् ।

यद्यपि, पछिल्लो समय बैंकले क्रमशः व्यवसाय विस्तार गर्दै लगेको र दोस्रो त्रैमासमा पनि सुधारोन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ । यसले भविष्यमा राम्रो प्रतिफल दिने आशामा पनि लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएको देखिन्छ । तत्कालमा फाइदा नहुने भए पनि दीर्घकालमा राम्रो प्रतिफल दिने आशमा लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएको आकलन गर्न सकिन्छ ।

 

यस्तो छ वित्तीय अवस्था

 

बैंकले चालु आवको पुस मसान्तसम्ममा ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ करोड रुपैयाँ बढी हो । दोस्रो त्रैमाससम्म बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत, सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेको छ।

 

२० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा २ अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ।

 

पुस मसान्तसम्म बैंकले १ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

खुद नाफ बढे पनि बैंकको प्रतिसेयर आम्दानी ५.८७ रुपैयाँबाट घटेर ४.४३ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११४.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८८.७६ गुणा, खराब कर्जा शून्य प्रतिशत छ ।

गुह्येश्वरीदेखि थापाथलीसम्म वाग्मती किनारका अनधिकृत संरचना हटाउन निर्देशन Read Previous

गुह्येश्वरीदेखि थापाथलीसम्म वाग्मती किनारका अनधिकृत संरचना हटाउन निर्देशन

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाइका लागि कल सेन्टर स्थापना Read Next

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाइका लागि कल सेन्टर स्थापना