साहस ऊर्जाको सोलुखोला हाइड्रोपावरको सुरुङमार्गमा दुर्घटना, १ कामदार बेपत्ता

काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक कामदार बेपत्ता भएका छन् ।

 

आज बिहान सुरुङ भित्र पेनस्टक पाइप बिछ्या्उन जानेक्रममा सामग्री सहित चार जना कामदार चढेको बकेट बीचमा चुँडिएर दुर्घटना भएको हो । सो दुर्घटनामा एक कामदार बेपत्ता र अर्का एकजना घाइते भएका छन् । बाँकी दुईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको आयोजनाले जनाएको छ । त्यस्तै, घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको जनाइएको छ ।

 

हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि सुरुङ भित्र रहेका निर्माण सामग्रीका कारण समस्या भइरहेको जनाइएको छ । सुरुङमार्ग भित्र मानिसका साथै निर्माण सामग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ । यसअघि पनि गत पुसमा आयोजनामा परीक्षणका क्रममा पाइप विष्फोट दुर्घटना दुई जनाको मृत्यु भएको थियो ।

 

सोलुखोला दूधकोशी स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरिरहेको हालसम्मकै ठूलो क्षमताको आयोजना हो । उक्त आयोजना साहस ऊर्जा लिमिटेडले निर्माण गरिरहेको छ ।

 

८६ मेगावाट क्षमताको आयोजनाको लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जसअनुसार प्रति मेगावाट लागत साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । यसलाई तुलनात्मक रुपमा प्रतिमेगावाट लागत सस्तो मानिन्छ ।आयोजनामा नेपाल नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा १० बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।

 

वार्षिक ५२० गिगावाट आवर विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खायाममा १०० गिगावाट र वर्षायाममा ४२० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने छ । जसबाट आयोजनाले वर्षायाममा १ अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरि वार्षिक २ अर्ब ८६ करोड रुपैयाँको विद्युत विक्री गर्ने छ ।

बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्यमा लगातार आठौं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ? Read Previous

बुद्धभूमि हाइड्रोपावरको सेयर मूल्यमा लगातार आठौं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ११ कम्पनी Read Next

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ११ कम्पनी