अघि बढ्दै काठमाडौं-रक्सौल रेलमार्ग, फाइनल सर्भेका लागि जनशक्ति परिचालन

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं–रक्सौल रेलमार्ग निर्माण प्रक्रिया अघि बढेको छ । नेपाल र भारत सरकारबीच भएको समझदारीपत्र (एमओयू) अनुसार रेलमार्गको फाइनल सर्भेका लागि भारतले जनशक्ति परिचालन गरेसँगै रेलमार्गको काम अघि बढेको हो ।

 

रेल विभागका सूचना अधिकारी अमन चित्रकारले एमओयू अनुसार लोकेसनमा फाइनल सर्भेका लागि भारतले जनशक्ति परिचान गराउने क्रममा रहेको बताए । उनले केही दिनमै सबै प्राविधिक जनशक्ति सर्भेका लागि नेपाल आइसक्ने बताए ।

 

‘एमओयूपछि भारतबाट फाइनल सर्भेका लागि जनशक्ति केही दिनमा सबै परिचालन हुनेछन्, सर्भेपछि बनाउने काम पनि उनीहरुले आफै गर्नेछन्,’ चित्रकारले चाणक्य पोष्टसँग भने ।

 

भारतको कोंकण रेलवे कर्पोरेसनका प्राविधिक टोलीले रक्सौलतर्फबाट अध्ययन थालेको हो । नेपाल र भारत सरकारका बीच गएको असोज २२ एमओयू भएको थियो । सम्झौता अनुसार १८ महिनाभित्र अध्ययन सक्नुपर्नेछ । सो अध्ययन पछि आयोजनाको विस्तृत रिपोर्ट तयार हुनेछ । सोही आधारमा लगानी खोजिने छ ।

 

काठमाडौं–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७६ भदौमै सकिएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन २०७५ का क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

 

नेपाल सरकारसँगको समन्वयमा कोंकणले ८ महिना लगाएर प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पारेको थियो । प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १३६ किलोमिटर हुनेछ । वीरगन्जको रक्सौलस्थित सुक्खा बन्दरगाहदेखि काठमाडौं जोड्ने गरी रेलमार्ग निर्माण गर्न लागिएको हो । उक्त अध्ययनले रेलमार्ग निर्माणका क्रममा ४२ किलोमिटर सुरुङ बन्ने देखाएको छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी

बूढीगण्डकी आयोजना प्रभावितले ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने Read Next

बूढीगण्डकी आयोजना प्रभावितले ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने