फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गरिने

काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ ।

 

कम्पनीले फोरजी एलटीई नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित उपभोक्तालाई सहजरुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र साइबरनेटिक्स प्रालिका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।

 

फोरजी एलटीई नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र संस्थागत प्याकेज उपलब्ध गराइरहेको प्रवक्ता राजेश जोशीले जानकारी दिए । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड वेसिक रु ८०० मा ६० जीबी ३० दिनका लागि उपलब्ध छ ।

 

त्यसैगरी १ वर्षका लागि रु ९ हजारमा ७२० जीबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जीबीको दरले १ वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु ४०० मा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिन्छ । होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत रु १ हजार २०० मा १२० जीबी प्याक ३० दिनका लागि उपलब्ध हुन्छ । त्यसैगरी एक वर्षका लागि रु १३ हजार ५०० मा एक हजार ४४० जीबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जीबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

 

यी दुवैमा एड अन प्याकको रुपमा रु ६०० मा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिन्छ । सरकारी संस्था प्याकेजमा रु तीन हजार ६५० र दुई हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेज उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिकरुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको व्यवस्था छ । फोरजी एलटीई नमस्ते वाइफाइ सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी ttps://www.ntc.net.np/post/4g-wireless-home-broadband मा उपलब्ध छ ।

 

हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएकाले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ ।

उपत्यकाका ३६ स्थानमा बहुतल्ले पार्किङ बन्दै, कुन-कुन ठाउँमा बन्छ ? Read Previous

उपत्यकाका ३६ स्थानमा बहुतल्ले पार्किङ बन्दै, कुन-कुन ठाउँमा बन्छ ?

घरजग्गाको 'हटस्पट' बन्दै तराईका जिल्ला, यी हुन् धेरै किनबेच हुने १० ठाउँ Read Next

घरजग्गाको 'हटस्पट' बन्दै तराईका जिल्ला, यी हुन् धेरै किनबेच हुने १० ठाउँ