काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफामा सुधार आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५.६६ प्रतिशतले बढेको छ ।
बैंकले चालु आवको पुस मसान्तसम्ममा ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ करोड रुपैयाँ बढी हो । दोस्रो त्रैमाससम्म बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत, सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेको छ।
२० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा २ अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्म बैंकले १ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद नाफ बढे पनि बैंकको प्रतिसेयर आम्दानी ५.८७ रुपैयाँबाट घटेर ४.४३ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११४.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८८.७६ गुणा, खराब कर्जा शून्य प्रतिशत छ ।