अब विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न पाइने, अपार्टमेन्टमा बस्नेले पनि पाउने

काठमाडौं । अब विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राख्न पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली,२०७८ कार्यन्वयनमा ल्याएसँगै उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् ।

 

प्राधिकरण सञ्चालक समितिको गत पुस २० गतेको ८९२ औं बैठकबाट उक्त विनियमावली पारित भएको हो । सो विनियमावलीमा विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरिएको छ ।

 

घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत् खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत् वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताए।विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीतिहरु कार्यान्वयनमा ल्याएको छ।

 

निजी आवास, कार्यालयहरु, फर्मरकम्पनीरसंस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकायरफर्मरव्यक्तिर कम्पनीलाई अनुमति दिने छ। मुख्य–मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थाहरुलाई प्राथमिकता दिइनेछ।

 

साथै, नेपाल सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइने व्यवस्था गरिएको छ । सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था गरिएको छ।

 

यस्तै, प्राधिकरणले सहकारी संस्थाले सञ्चालन गरेका दुग्ध चिस्यान केन्द्र तथा शीत भण्डार र सहकारी संस्था वा समुदायमार्फत सञ्चालित खानेपानी तथा सिंचाइलाई पनि सुविधा दिएको छ।

 

२०० केभीएसम्म माग भएका त्यस्ता ग्राहकलाई प्राधिकरणले आफ्नै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने छ। यसबाट त्यस्ता ग्राहकको ट्रान्सफर्मर खरिदमा हुने खर्च कटौती भई यो सुविधाबाट लाभान्वित हुने घिसिङले उल्लेख गरे।

 

‘यसअघि ग्राहकले प्राधिकरणको ट्रान्सफर्मरबाट ५० केभिएसम्मको मात्र र त्यसभन्दा बढीको लोड लिनुपरेमा आफ्नै खर्चमा ट्रान्सफर्मर खरिद गर्नु पर्ने व्यवस्था थियो‚’ कार्याकारी निर्देशक घिसिङले भने‚ ‘अब यसलाई हटाएर एक सय केभिएसम्म लोड लिने उद्योगहरुलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरी ग्राहकलाई राहत दिन खोजेका छौं।’ १०० केभीएभन्दा बढी लोड चाहिएमा भने ग्राहकहरु आफैंले ट्रान्सफर्मर किन्नु पर्ने छ।

 

यसअघि उपलब्ध ट्रान्सफर्मरको क्षमताको ५० प्रतिशत मात्रै विद्युत् आपूर्ति दिने गरिएकोमा अव यस्तो सिलिङ हटाइएर ग्राहकलाई सुविधा दिन खोजिएको छ।

 

अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट सिधै विद्युत लिन सक्ने

 

अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरुमा बसोबास गर्ने उपभोक्ताहरुलाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ ।अहिले अर्पाटमेन्टहहरुले आफूले प्राधिकरणबाट विद्युत लिएर त्यहाँभित्र बस्नेलाई महंगो शुल्क लिएर आपूर्ति दिंदै आएका छन् ।

 

अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधै विद्युत लिन सक्ने हुँदा महसुल सस्तो पर्ने भएकोले विद्युतीय उपकरणको प्रयोगमा बृद्धि भई विद्युत खपत बढ्ने घिसिङले उल्लेख गरे । एउटै उद्योग परिसरभित्र फरक–फरक विद्युत महसुल दर आकर्षित हुने उद्योगहरु सञ्चालन हुने अवस्थामा अलग–अलक मिटर राख्न पाउने छन् ।

 

यस्तो छ विद्युत् वितरण विनियमावली,२०७८

 

४२६ मेगावाटको फुकोट हाइड्रोपावरको स्थानीयले १० प्रतिशत सेयर पाउने Read Previous

४२६ मेगावाटको फुकोट हाइड्रोपावरको स्थानीयले १० प्रतिशत सेयर पाउने

आजदेखि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द Read Next

आजदेखि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द