काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल आयल निगम लगातार घाटामा जान थालेको छ । मट्टीतेल र हवाई इन्धनमा थोरै नाफा भए पनि डिजेल, पेट्रोल र ग्यासमा धेरै घाटा बेहोर्नु परेपछि निगमको घाटा पनि महिनैपिच्छे चुलिँदै गएको हो ।
निगमका अनुसार चालु आवको ६ महिना (पुस मसान्तसम्म) अनुमानित घाटा १९ अर्ब २६ करोड पुगेको छ । आगामी १५ दिनमा थप २ अर्ब २४ करोड घाटा हुने भएकाले माघ १७ गतेसम्म कुल घाटा २१ अर्ब ५० करोड पुग्ने निगमले जनाएको छ ।
निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रतिलिटर ८.८१ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलण्डिर ६४६.१६ रुपैयाँ घाटा बेहोर्नु परेको छ । मट्टीतेल र हवाई इन्धनमा क्रमशः प्रतिलिटर २०.५० रुपैयाँ र १४.७३ रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।
लगातार घाटामा गएसँगै निगमको सञ्चिति बचत पनि शून्यमा झरेको छ ।यसअघि भएको सञ्चित कोषको रकम घाटा समायोजनमा खर्च गर्दा अहिले उक्त कोष शून्यमा झरेको हो ।
सञ्चित कोष रित्तिएसँगै अब निगमले पेट्रोलियम पदार्थ ल्याउन ऋण खोज्नु पर्ने अवस्था आउने भएको छ । इण्डियन आयललाई जनवरी २२ सम्म भुक्तानी गर्नुपर्ने रकम २ अर्ब अपुग हुने निगमले जनाएको छ ।
इन्डियन कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ मूल्य अनुसार अब निगमले मूलय समायोजन नगरेमा आगामी ३ महिनामै १२ अर्ब ऋण लिनुपर्ने अवस्था आउने निगमले जनाएको छ ।
