काठमाडौं । पछिल्ला वर्षहरुमा विकास बजेट (पूँजीगत) भन्दा चालु बजेट (तलब, भत्ता लगायत प्रशासनिक खर्च) बढ्दै गएको छ ।
चालु बजेट खर्च बढ्दै गएको भए पनि पूँजीगत भने साह्रै न्यून हुने गरेको देखिएको छ । अर्थमन्त्रालयका अनुसार पछिल्लो ३ वर्षमा चालु बजेट खर्च क्रमशः बढ्दै गए पनि पूँजीगत खर्च भने घट्दै गएको हो ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पूँजीगत खर्च १४.८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा १४.४० भएको थियो ।
यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पूँजीगत खर्च १३.४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो ।
प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।

समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२.३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२.४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६.०८ रहेकोमा वित्तीय खर्च १३.०६ भएको थियो ।
यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालु खर्च ३८.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।
पछिल्लो ३ वर्षमा राजस्व संकलन पनि बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत पुगेको ।
यस्तै चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो ।