काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकले वृद्धि भएको छ । आइतबार एकैदिन ६९ अंकले बढेको नेप्से आज पनि दोहोरो अंकले बढेको हो ।
सूचकमा बढोत्तरी आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा पौने २ अर्बले घटेर पौने ८ अर्बमा सीमित भएको छ ।
सोमबार सेयर बजार मापक सूचक नेप्से २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ । आज २२४ कम्पनीको ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ बराबरको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.६१ प्रतिशतले बढेको छ ।
आज अरुण भ्यालीको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४४ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावरको ४१ करोड र माथिल्लो तामाकोशी २४ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज मध्यभोटेकोशी जलविद्युत्को सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सनराइज ब्लूचिप फण्ड, सिंगटी हाइड्रो र सीईडीबी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर ७.७८, सामलिङ पावर ७.०४, नेपाल एसबीआई बैंक ६.०२, हिमालयन ऊर्जा, अरुण भ्याली, लिबर्टी इनर्जी र माउन्टेन इनर्जीका सेगरधनीले पनि ५ प्रतिशभन्दा धेरै कमाएका छन् ।
बढ्दो बजारमा आज एनएकबी बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.९५ प्रतिशत गुमाएका छन् ।