बैंकबाट ऋण नपाउँदा पनि बढ्यो घरजग्गा किनबेच, रोजाइमा यी १० ठाउँ

काठमाडौं । तरलता अभावका बीच घरजग्गा कारोबारले भने गति लिएको छ । तरलता अभावका कारण बैंकबाट सहजै ऋण पाउने अवस्था नरहे पनि घरजग्गा किनबेच भने बढेको हो ।

 

असोज र कात्तिकमा सुस्ताएको घरजग्गा किनबेच पछिल्ला दुई महिनामा भने बढेको छ । मंसिर र पुसमा घरजग्गा किनबेच लगातार बढेको हो ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसमा ७० हजार १६८ वटा घरजग्गा किनबेच भएको छ । यो मंसिरको तुलनामा ७५६ वटाले धेरै हो । मंसिरमा ६९ हजार ४१२ वटा घरजग्गा किनबेच भएको थियो ।

 

पसुमा घरजग्गा किनबेच बढे पनि रोक्का, फुकुवा, नामसारी लगायत कारोबार संख्या भने १२ हजारले घटेको छ । मंसिरमा कुल १ लाख ६९ हजार ८०० कारोबार भएकोमा पुसमा घटेर १ लाख ५७ हजार १३८ वटामा सीमित भएको छ ।

 

बैंकबाट सहजै ऋण पाउने अवस्था नभएपनि दशैं, तिहारमा व्यापार गरेर पैसा कमाएकाहरुले घरजग्गा खरिद गर्दा कारोबार बढेको व्यवसायीहरु बताउँछन् । साथै, पछिल्लो समय कोरोना प्रभाव कम भई आर्थिक गतिविधि चलायनमान हुँदा मानिसको आर्थिक स्थिति सुधार भएकाले पनि घरजग्गाको कारोबार बढेको उनीहरुको भनाइ छ ।साथै, पछिल्लो समय सेयर बजारबाट नाफा कमाएकाहरुले पनि घरजग्गामा लगानी गर्दा किनबेच बढेको बताइन्छ ।

 

विभागका अनुसार चालु वर्षको ६ महिनामा कुल १० लाख २३ हजार वटा घरजग्गा सम्बन्धी कारोबार भएको छ । सोमध्ये ३ लाख ९४ हजार ३७९ वटा किनबेच भएको विभागले जनाएको छ ।

 

चालु आवको साउनमा १ लाख ९० हजार घरजग्गा कारोबार भएको थियो । जसमध्ये ७५ हजार ४१७ किनबेच भएको थियो । भदौमा कुल कारोबार २ लाख ३६ हजार र ७० हजार ९० किनबेच भएको विभागको तथ्यांक छ ।

त्यसैगरी, असोज महिनामा १ लाख ६८ हजार घरजग्गा सम्बन्धी कारोबार र करिब ५९ हजार किनबेच भएको थियो । कात्तिकमा १ लाख ३४ हजार कारोबार हुँदा ५ हजार किनबेच भएको थियो । विभागका अनुसार मंसिरमा १ लाख ६९ हजार घरजग्गा सम्बन्धी कारोबार हुँदा ६९ हजार किनबेच भएको थियो ।

 

राजस्व भने घट्यो

 

पुसमा घरजग्गा किनबेच बढे पनि राजस्व संकलन भने घटेको छ । घरजग्गा किनबेच बढे पनि नामसारी, रोक्का, फुकुवा लगायत कारोबार घट्दा राजस्वमा कमी आएको हो ।

 

गत मंसिरको तुलनामा पुसमा घरजग्गा कारोबार बापत राजस्व ३४ करोड रुपैयाँले राजस्व घटेको हो । विभागका अनुसार मंसिरमा कुल ७ अर्ब ६ करोड रुपैयाँ संकलन भएकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ ।

 

चालु आवको ६ महिनामा घरजग्गा कारोबार वापत कुल ४३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिसम्म कुल २४ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो । चालु आवमा घरजग्गा कारोबारबाट राजस्व दोब्बरले बढेको हो ।

 

चालु वर्षमा घरजगग्गा कारोबारबाट भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी, साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ र मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

 

यी हुन् पुसमा धेरै घरजग्गा किनबेच भएका ठाउँहरू

 

पुसमा देशभरका मालपोत कार्यालयबाट ७० हजार १६८ वटा घरजग्गा किनबेच भएका छन् । सोमध्ये सुनसरीको भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाबाट भन्दाधेरै ३२५० घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

 

पुसमा धेरै जग्गा किनबेच हुने मालपोत कार्यालयहरुमा क्रमश:  मालपोत कार्यालय बेलवारी मोरङ ३०५९, मालपोत कार्यालय भद्रपुर झापा २७५५, नेपालगञ्जको बाँके मालपोत कार्यालयबाट २४११ धनुषाको जनकपुर मालपोत कार्यालयबाट २२७६, भक्तपुरबाट २०८५, लगनखेल मालपोत कार्यालयबाट १९५५,मालपोत कार्यालय काभ्रेपाल्चोकबाट १७६१ र काठमाडौँको कलंकी मालपोत कार्यालयबाट १६९९ ओटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

 

पुसमा देशभरका १२८ मालपोतमध्ये ११ वटा कार्यालयबाट घरजग्गा सम्बन्धी अन्य कारोबार भए पनि किनबेच भने भएको छैन । विभागका अनुसार पुसमा रुपन्देहीको बुटवल, सिन्धुली, डोटी, कपिलवस्तु, सर्लाहीको बलारा, रामेछाप, काठमाडौँको मनमैजु, सिर्दिवार्स, मनाङ र बझाङको झोता मालपोत कार्यालयबाट एउटा पनि घरजग्गा किनबेच भएको छैन ।

मध्य भोटेकोशीको सेयर मूल्यमा लगातार १६ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ? Read Previous

मध्य भोटेकोशीको सेयर मूल्यमा लगातार १६ औं दिन पोजेटिभ सर्किट, कति पुग्यो भाउ ?

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने ११ कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने ११ कम्पनी