र्‍याफ्टिङ लागि यी हुन् आकर्षक गन्तव्य, कुन नदीमा कति लाग्छ खर्च ?

काठमाडौँ । पछिल्लो समय नेपालीहरुमा घुम्ने संस्कृति विकास हुँदै गएको छ । चाडपर्व, विदाका दिन, फुर्सदको समयमा देशका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ ।

 

घुम्ने मात्र नभई पछिल्लो समय नेपालीहरु साहसिक पर्यटनप्रति आकर्षित हुन थालेका छन् । साहसिक खेल बन्जी जम्प, जिप लाइन, स्काई साइक्लिङ, प्याराग्लाडिङ, र्‍याफ्टिङप्रति निकै आकर्षण देखिन्छ । बढ्दो पर्यटकको क्रेजलाई मध्यनजर गर्दै देशका विभिन्न गन्तव्यमा साहसिक खेलसम्बन्धी संरचना धमाधम बनिरहेका छन् ।

 

साहसिक खेलमध्येकै एक हो र्‍याफ्टिङ हो । नदीको पानीको बहावसँगै यात्रा गर्न र्‍याफ्टिङ गर्ने गर्दछन् । यो रमाइलो र साहसिक हुने भएकाले पर्यटकको रोजाइमा पर्ने गर्छ । विशेषगरी र्‍याफ्टिङका लागि असोजदेखि वैशाखसम्म उपयुक्त समय मानिन्छ ।

 

नेपालमा मुख्यगरी त्रिशुली, सुनकोशी, भोटेकोशी, सेती नदी, कालिगण्डकी लगायत नदीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ हुन्छ । हामीले यहाँ ती नदीहरुमा र्‍याफ्टिङ गर्न कसरी जाने र कति खर्च लाग्छ सो बारे जानकारी दिने प्रयास गरेका छौं ।

 

कुन नदीमा र्‍याफ्टिङ गर्न कति लाग्छ खर्च ?

 

त्रिशुली :  र्‍याफ्टिङ गर्नको लागि त्रिशुली नदी महत्वपूर्ण र आकर्षक गन्तव्य मानिन्छ । काठमाडौं उपत्यकाबाट नजिकै रहेको यस गन्तव्यमा आन्तरिक पर्यटकहरुको  भीड लाग्छ । उपत्यकाबाट करिब ७५ किलोमिटर टाढा रहेको त्रिशुलीमा र्‍याफ्टिङ गर्नका लागि काठमाडौँको थानकोट,नागढुङ्गा, नौबिसे, गल्छी हुँदै पुग्न सकिन्छ । त्यसैगरी वैकल्पिक मार्गको रुपमा बालाजु, ककनी हुँदै पनि पुग्न सकिन्छ । त्रिशुलीमा नुवाकोट, धादिङको बेनी घाँट लगायत ठाउँबाट र्‍याफ्टिङ  गर्छन् ।

 

पर्यटकको चाहना अनुसार २ देखि ४ घण्टासम्म र्‍याफ्टिङ गर्ने गरेको  पाइन्छ ।  नेपाली नागरिकका लागि दूरी र समय अनुसार न्यूनतम १५०० रुपैयाँदेखि शुल्क लाग्ने गर्छ । त्यस्तै, विदेशी पर्यटकहरुका लागि प्रतिव्यक्ति न्यूनतम २५०० रुपैयाँ शुल्क लाग्छ ।

 

सो क्षेत्रका व्यवसायीहरुले पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेज समेत ल्याएका छन् । त्रिशुली र्‍याफ्टिङले डिनरसहित नेपाली नागरिकका लागि प्रतिव्यक्ति २५०० र विदेशी नागरिकका लागि ३००० रुपैयाँको प्याकेज ल्याएको छ ।

 

सेती नदी : पर्यटकीय गन्तव्य पोखरास्थित सेती नदी र्‍याफ्टिङका लागि प्रसिद्ध गन्तव्य होे । काठमाडौँबाट बसमा करिब ५ घण्टा र हवाई जहाजबाट आधा घण्टामा पुग्न सकिन्छ । सेती रिभर र्याफ्टिङमा पारिवारिक यात्रा, चरा अवलोकन र अन्नपूर्ण  हिमालय दृश्यको अवलोकन गर्न सकिन्छ । घुम्न आउने पर्यटकका लागि आकर्षक र सन्तुष्ट मैत्री वातावरणमा र्‍याफ्टिङको आनन्द लिन सकिने हिमालयन रिभर फन र्‍याफ्टिङले जनाएको छ ।

 

यस नदीमा पनि विभिन्न ठाउँबाट र्‍याफ्टिङ सुरु हुन्छ । हिमालयन रिभर फनले पोखराको दमौलीदेखि चितवन राष्ट्रिय निकुञ्जको नजिक गाईघाटसम्म र्‍याफ्टिङ गराउँछ । ४० किलोमिटर सो दुरीमा दुई दिन लाग्ने व्यवसायीहरु बताउँछन् । विदेशी पर्यटकहरुका लागि प्रतिव्यक्ति शुल्क १५ हजार रुपैयाँ लाग्छ भने स्वदेशी नागरिकका लागि प्रतिव्यक्ति १० हजारमा र्‍याफ्टिङ सहित खान बस्नको व्यवस्था रहेको छ ।

 

सुनकोशी : र्‍याफ्टिङ गर्न चाहाने पर्यटकका लागि सुनकोशी पनि आकर्षक मानिन्छ । काठमाडौँ उपत्यकाबाट करिब ७० किलोमिटर टाढा रहेको सो गन्तव्यमा र्‍याफ्टिङ गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।

 

यस नदीमा दोलालघाटदेखि चतरासम्म र्‍याफ्टिङ गर्न सकिन्छ । पर्यटकले २ घण्टादेखि ७ दिनसम्म र्‍याफ्टिङ गर्ने गरेका छन् । दोलालघाट चतरा २७० किलोमिटरसम्मको उक्त गन्तव्यमा पुग्न करिब ७ दिन लाग्ने व्यवसायीहरुको भनाइ छ । सको प्याकेज अनुसार १ हजार ५०० रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म शुल्क लाग्छ ।

 

७ दिनको प्याकेजमा पहिलो दिनमा दोलालघाटबाट र्‍याफ्टिङ सुरु गरेर बटरफ्लाई पुलसम्म पुग्न सकिन्छ । सो दिन क्याम्पमा बाँस बसेर दोस्रो दिन ५ घण्टाको र्‍याफ्टिङ गनुपर्नेहुन्छ । तेस्रो दिन जघरे,चौथो दिन राईघाट,रसुवाघाट,त्रिवेणी हुँदै चतरा पुग्न सकिने र्‍याफ्टिङ प्याकेज रहेको छ ।  उक्त प्याकेजको शुल्क प्रतिव्यक्ति खान बस्न सहित ८० हजार रुपैयासम्म रहेको छ ।

 

भोटेकोशी : काठमाडौबाट करिब ६५ किलोमिटरको हाराहारीमा रहेको भोटेकोशी । काठमाडौँ, भक्तपुर, धुलिखेल, दोलालघाट हुँदै त्यहाँ पुग्न सकिन्छ । भोटेकोशी सुकुटे क्षेत्रलाई र्‍याफ्टिङका लागि आकर्षक मानिन्छ ।

 

पछिल्लो समय समय उक्त स्थानमा घुक्न जाने पर्यटकहरु बढेको व्यवसायीहरूको भनाइ छ । विशेषगरी र्‍याफ्टिङ लक्षित गरेर मानिसहरु सुकुटेमा घुम्न जाने गरेका छन् ।

 

यी क्षेत्रमा खुलेका रिसोर्टहरूले पर्यटकलाई र्‍याफ्टिङ सेवा प्रदान गर्दै आएका छन् । करिब २ घण्टा हुने र्‍याफ्टिङमा एक जनाले १२ सयदेखि १५ सयसम्म तिर्नु पर्ने हुन्छ ।  समग्रमा एकजनाको ४ हजार रूपैयाँमा खान, बस्न र र्‍याफ्टिङको मज्जा लिनसक्ने छन् ।

 

हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जमा बाधक बने सेयरधनी, कारवाहीको तयारीमा राष्ट्र बैंक Read Previous

हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जमा बाधक बने सेयरधनी, कारवाहीको तयारीमा राष्ट्र बैंक

पोखारामा एकै ठाउँमा जायन्ट स्वीङ, जीपलाइन र बञ्जीजम्प, चढ्न कति लाग्छ खर्च ? Read Next

पोखारामा एकै ठाउँमा जायन्ट स्वीङ, जीपलाइन र बञ्जीजम्प, चढ्न कति लाग्छ खर्च ?