उपत्यकामा ४ फ्लाइओभर बन्दै, २ वटाको काम सुरू, कुनको कति भयो ?

सांकेतिक तस्वीर

काठमाडौं । सरकारले सडक जाम हटाउन काठमाडौं उपत्यकामा वटा फ्लाइओभर निर्माण प्रक्रिया अघि बढाएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका अनुसार काठमाडौंमा एक र ललितपुरमा तीन वटा गरी ४ वटा फ्लाइओभरको काम अघि बढेको हो ।

 

केन्द्रका सिनियर इन्जिनीयर सौरभ बज्रचार्यका अनुसार हाल ललितपुरको ग्वार्को, एकान्तकुना, सातदोबाटो र काठमाडौंको बलम्बुमा फ्लाइओभर निर्माण अघि बढेको हो । बलम्बु र ग्वार्कोको निर्माण प्रक्रियामा गइसकेको छ भने एकान्तकुना र सातदोबाटोको डिजाइन भइरहेको केन्द्रले जनाएको छ ।

 

ग्वार्को फ्लाइओभरको ठेक्का अन्तिम चरणमा

 

ललितपुर ग्वार्कोमा बन्ने फ्लाइओभर (ग्रेड सेपरेटेड इन्टरसेक्सन) निर्माणको ठेक्का प्रकृया अन्तिम चरणमा पुगेको छ । फ्लाइओभर निर्माणका लागि बोलपत्र आह्वान भई प्राविधिक मूल्यांकन समेत भई आर्थिक मूल्यांकनको क्रममा रहेको छ ।

 

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले गत असार २८ गते ठेक्का आह्वान गरेको थियो । सो आह्वानमा ९ वटा कम्पनीले आवेदन दिएक थिए । सोमध्ये ८ वटा कम्पनी प्राविधिक मूल्यांकनमार्फत छनोट भएको छन् । हाल ती कम्पनीको आर्थिक प्रस्ताव बारे अध्ययन भइरहेको केन्द्रले जनाएको छ ।

 

प्राविधिक मूल्यांकनबाट एमआर भीम–सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा–गोल्डेन गुड जेभी, सूर्य–भ्याली/विकास–ब्रदर्स जेभी, एलिट कन्स्ट्रक्सन, अनक–श्रेष्ठ जेभी, तुन्दी–रसुवा–रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष–समानान्तर जेभी र एलिट कन्स्ट्रक्सन गरी ८ वटा कम्पनी पास भएका छन् ।

 

केन्द्रका सिनियर इन्जिनीयर बज्रचार्यका अनुसार अब दुई महिनाभित्र ठेक्का लगाइसकिने छ । ‘हाल प्राविधिक मूल्यांक्नबाट छनोट भएका कम्पनीहरुको वित्तीय प्रस्ताव अध्ययन भइरहेको छ । सम्भवतः अबको एक हप्ता भित्र उक्त प्रस्ताव खोलिने छ । सबैभन्दा कम मूल्य राख्ने कम्पनीले ठेक्का पाउँछ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

फ्लाइओभर इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्ने गरी ठेक्का निकालिएको छ । काम सुरू गरेको २ वर्षमा आयोजना सक्ने लक्ष्य रहेको छ । जसमा ४ महिना डिजाइन र २० महिना निर्माण अवधि तोकिएको छ ।

 

४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बीचमा रहेको ४ लेनमा समानान्तर भएर निर्माण हुनेछ । फ्लाइओभर निर्माण गर्न करिब २४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

 

बलम्बु फ्लाइओभरको जग्गा अधिग्रहण सुरू

 

नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजना अन्तर्गत बलम्बुमा फ्लाइओभर निर्माण अघि बढेको छ । मुआब्जा वितरण निश्चत भएसँगै फ्लाइओभर निर्माणले गति लिन लागेको हो ।

फ्लाइओभर बन्ने क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि आयोजनाले अर्को साताबाट मुआब्जा वितरण सुरू गर्ने प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार हालसम्म मुआब्जा लिनका लागि १०० बढी व्यक्तिले आवेदन हालेका छन् । आयोजना निर्माण स्थलमा करिब ५५ वटा बढी घरटहरा रहेको आयोजना प्रमुख शाक्यले बताए । सडक छेउमा परेका जमिनका लागि आनाको ५० देखि ५२ लाख रुपैयाँ मुआब्जा वितरण गरिने उनले बताए ।

 

‘७० प्रतिशतले मुआब्जा लिनका लागि आवेदन हालिसकेका छन्, लालपुर्जा हाम्रो नाममा आउना साथ मुआब्जा दिनेछौं, सायद अर्को हप्ताबाट मुआब्जा पनि वितरण सुरू हुन्छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

मुआब्जा वितरणका लागि हालै ३० करोड रुपैयाँ रकमान्तर गरिएको छ । आयोजनाको क्षेत्रमा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । आयोजनाको मुआब्जाका लागि १ अर्ब १४ करोड रुपैयाँ लाग्नेछ ।

 

८ महिना भित्र फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी काम सुरू गरिसकेको प्रमुख शाक्यले बताए । उनका अनुसार हाल फ्लाइओभर निर्माणका लागि जग खन्ने काम सुरू गरिसकेको छ । दुई लेनको फ्लाइओभर १२८ मिटर लामो हुने छ । एउटा लेन ३.५ मिटरको हुनेछ ।नागढुंगा–नौबिसे सुरूङमार्गको मुख्य ठेकेदार कम्पनी हाज्मा–आन्दो कर्पोरेशन लिमिटेडले नै बलम्बुको फ्लाइओभर निर्माण गर्नेछ ।

 

सातदोबाटो र एकान्तकुनाको डिजाइन अन्तिम चरणमा

 

ललितपुरको सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन अन्तिम डिजाइन (फाइनल डिजाइन)को काम भइरहेको छ । ४ लेनको बन्ने यी फ्लाइओभरको अन्तिम डिजाइन पूरा भएलगत्तै सो फ्लाइओभरहरुको समेत ठेक्का आह्वान गरिने केन्द्रले जनाएको छ ।

 

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी Read Previous

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

एनसीसी बैंकको साधरण सभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित Read Next

एनसीसी बैंकको साधरण सभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित