काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरका ८ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ ।
विभागले वार्षिक कार्यक्रम अन्तर्गत गत वैशाखमा टेन्टर आह्वान गरेको थियो । जसमा ९ वटा कम्पनीले आवेदन दिएका थिए । सोमध्ये ८ कम्पनीले देशका विभिन्न ठाउँमा खानी उत्खनन गर्न अनुमति पाएका हुन् ।
कुल १३ स्थानको खानी उत्खनन तथा अनुमतिका लागि बोलपत्र आह्वान गरेको विभागले चार वटा स्थानमा निवेदन नपरेको र एक स्थानको लागि आवेदन रद्द भएको बताएको छ । वालुवा खानी उत्खनन गर्न आवेदन दिएको महर्जन कम्पनीले अनुमति नपाएको विभागले जनाएको छ ।
विभागका प्रवक्ता जयराज घिमिरेले अनुमति पाएका कम्पनीहरुले आफ्नो क्षेत्रमा अध्ययन तथा उत्खनन प्रक्रिया अघि बढाउने बताए । ‘विभागले ८ कम्पनीलाई देशका विभिन्न ठाउँमा विभिन्न खानी उत्खनन गर्न अनुमति दिएको छ । अनुमति पाएका कम्पनीले आफ्नो ठाउँमा उत्खनन प्रक्रिया अघि बढाउन पाउने छन् ।’ अनुमति पाएका कम्पनीले सम्झौता अनुसार मात्रै उत्खनन गर्न पाउने उनको भनाइ छ ।
कुन ठाउँमा के खानी उत्खनन हुँदै छ ?
विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान गरिएको छ । तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता घिमिरेले जानकारी दिए ।
त्यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर प्रालि, गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको छ ।
त्यस्तै, मकवानपुरस्थित दामनको काउलिङ र बागलुङ ओखरबोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौँलाई अनुमति प्रदान गरिएको हो ।
विभागले ८ स्थानको खनिज उत्खनन तथा अनुमति प्रदान गरेबापत ३७ करोड राजस्व समेत सङ्कलन गरेको छ ।
कति वर्षसम्म उत्खनन गर्न पाउँछन् ?
विभागका अनुसार खानी अन्वेषणको लागि २ देखि ४ वर्ष र उत्खननको लागि १० देखि ३० वर्ष सम्म अनुमति प्रदान गरिन्छ । अनुमति प्राप्त कम्पनीले आफ्नो क्षमता र कार्ययोजना सहितको रिपोर्ट पेश गनुपर्ने छ । सोही आधारमा कुन कम्पनीलाई कति समयसम्म उत्खनन गर्न दिने भन्ने निर्धारण गरिने प्रवक्ता घिमिरेले बताए ।
‘कम्पनीले आफ्नो दैनिक उत्खन्न क्षमता पेस गर्छन् त्यसपछि मात्र कति उत्पादन हुन्छ र कति समयको लागि दिने भन्ने निर्धारण हुन्छ, अहिले नै भन्ने सकिँदैन,’ उनले भने ।