होटलमा धमाधम लगानी गर्दै व्यवसायी, काठमाडौंमा मात्रै डेढ दर्जन नयाँ होटल खुल्दै

काठमाडौं । होटल तथा रेष्टुरेन्ट व्यवसायमा नयाँ लगानी थपिने क्रम बढ्दो रहेको छ । कोरोना त्रास कायमै रहे पनि लगानीकर्ताले यस क्षेत्रमा भविष्य देखेपछि धमाधम लगानी थपेका हुन् ।

 

एकपटक लगानी गरेपछि वर्षौंसम्म निरन्तर आम्दानी गर्न सकिने, कोरोना कम भएपछि विदेशी पर्यटक आउने, पछिल्लो समय बढ्दो आन्तरिक पर्यटकलाई मध्येनजर गर्दै व्यवसायीहरूले होटलमा लगानी गरिरहेका छन् ।

 

नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले धेरैले कोरोनाको भ्याक्सिन लगाइसकेको र मानिसमा यसको त्रास कम हुँदै गएकाले होटेल व्यवसायमा लगानीकर्ताको आकर्षण बढेको बताउँछन् ।

 

‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अगाडि बढ्दा फरक नपर्ला भन्ने व्यवसायीको सोचाइ हो,’ उनले भने, ‘सरकारका तर्फबाट पनि पुनरकर्जा, सहुलितपूर्ण कर्जा लगायतका सुविधाहरु आइरहेका छन् । निकट भविष्यमा आउने यस्ता प्र्रकारका महामारीको समेत सामना गर्न सकिन्छ भन्ने उद्देश्यले होटल व्यवसाय क्षेत्रमा लगानी बढेको हो ।’

 

नेपालमा पोखरा अन्तर्राष्ट्रिय र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरु संञ्चालनकाो तयारीमा रहेका छन् । ती विमानस्थल लक्षित गरेर पनि तारे होटलहरु खुल्ने क्रम बढेको उनको भनाइ छ ।

 

चालु वर्षमै होटलमा १६ अर्ब लगानी प्रस्ताव

 

चालु आर्थिक वर्षमै होटल व्यवसायमा १६ अर्ब बढी लगानी प्रतिबद्धता आइसकेको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु वर्षको पुस तेस्रो सातासाम्म २८ पर्यटकीय स्तरीय होटल तथा रेष्टुरेन्ट दर्ता भएका छन् ।

 

ती होटल तथा रेष्टुरेन्टमा १६ अर्ब २० करोड रुपैयाँ बढी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । उक्त होटलहरु सञ्चालनपछि २ हजार २१८ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

 

होटल व्यवसायमा पुराना होटल व्यवसायीका साथै व्यापारिक घराना, विदेशी लगानीकर्ता, अन्य क्षेत्रमा व्यवसाय गरिरहेका व्यत्तिःहरुले समेत लगानी गर्न लागेका हुन् ।

 

उपत्यकामा मात्रै डेढ दर्जन नयाँ होटल खुल्दै

 

हाल काठमाडौं उपत्यका भित्र करिब आधा दर्जन बढी ठूला तारे होटल निर्माणधीन रहेको छन् भने थप डेढ दर्जन पर्यटकीयस्तरका होटल तथा रेष्टुरेण्ट खुल्ने भएका छन् । जसमा केही तारे होटल समेत रहेका छन् ।

 

चालू आर्थिक वर्षको ५ महिनामा काठमाडौं उपत्यकामा संचालन गर्नेगरी डेढ दर्जन होटल दर्ता भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार २५ करोड रुपैयाँदेखि ६ अर्बसम्म लगानीका होटल दर्ता भएका छन् । जसमा ९ वटा विदेशी लगानीमा बन्न लागेका छन् ।

 

सूर्य नेपाल प्रालिले काठमाडौंको बुढानिलकण्ठमा पाँच तारे होटल तथा रेष्टुरेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ लगानीमा उक्त होटल निर्माण गर्न लागेको हो । यस होटल तथा रेष्टुरेन्टले सञ्चालपछि ३०६ जनाले रोजगार पाउनेछन् । उक्त होटलमा १९० बेड र ४६५ सिट भएको रेष्टुरेन्ट हुनेछ ।

 

त्यस्तै, काठमाडौंको चाबहिलमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स सहित होटल बन्ने भएको छ । साढे २ अर्ब लगानीमा बन्न लागेको उक्त कम्प्लेक्समा २५० बेड क्षमताको होटल बन्नेछ भने ४०० सिट भएको रेष्टुरेन्ट पनि हुनेछ ।

 

यस्तै काठमाडौंको वडा ११ मा ग्रिन भ्यू प्रालिले १ अर्ब रुपैयाँ लगानीमा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने भएको छ । आन्तरिक लगानीमा ६० बेड र ७५ सिटको रेष्टुरेन्ट सहित बन्ने उक्त ग्रिन भ्यूले ५० जनालाई रोजगार दिनेछ ।

 

काठमाडौंको वडा नम्बर १६ मा होटल उड एप्ल प्रालिले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्यउने भएको छ । १९ करोड रुपैयाँ लगानीमा बन्न लागको यस रेष्टुरेन्टले ३० जनालाई रोजगार दिनेछ । पूर्ण आन्तरिक लगानीमा बन्न लागेको यो होटल तथा रेष्टुरेन्टमा ४९ बेड र ८० सिट भएको रेष्टुरेन्ट हुनेछ ।यसैगरी, २५ करोड वैदेशिक लगानीमा काठमाडौंमा झाङ युपेङ्ग होटल एण्ड रेष्टुरेन्ट बन्ने भएको छ । उद्योग विभागको तथ्यांक अनुसार काठमाडौंमा खुल्ने यस होटलले सञ्चालनपछि ६० जनालाई रोजगार दिनेछ । सो होटलमा ६० बेड र १ सय सिट भएको रेष्टुरेन्ट हुने छ ।

 

यस्तै, ५० बेड भएको होटल र ५० सिटको रेष्टुरेन्ट क्षमता सहित होङ्ग मेई होटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । पूर्ण वैदेशिक लगानीमा बन्न लागेको उक्त होटलको लागत २५ करोड रुपैयाँ रहेको छ । यस्तै, काठमाडौंमै ७० बेड र १ सय सिट भएको यू हुईफेङ्ग होटल एण्ड रेष्टुरेन्ट २५ करोड लगानीमा बन्न लागेको छ । पूर्ण वैदेशिक लगानीमा बन्न लागेको यो रेष्टुरेन्टले सञ्चालनपछि ५८ जनालाई रोजगार दिनेछ । जुन लि होल एण्ड रेष्टुरेन्ट २५ करोड वैदेशिक लगानीमा बन्ने गरी दर्ता भएको छ । ४० बेड र १२० सिट क्षमता भएको यो होटल तथा रेष्टुरेन्टले ५८ जनालाई रोजगार दिनेछ ।

 

यसैगरी, २५ करोड पूर्ण वैदेशिक लगानीमा होटल जीन निर्माण हुने भएको छ । यस होटलमा २४ बेड र ६० सिटको क्षमताको रेष्टुरेन्ट हुनेछ । रुई हान होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा नम्बर २६ मा बन्ने भएको छ । २५ करोड वैदेशिक लगानीमा बन्न लागेको यो होटल ९५ बेड र १८० सिट क्षमताको हुने जनाइएको छ ।

 

एम।आई होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा १५ मा बन्ने भएको छ । २५ करोड रुपैयाँ लगानीमा बन्न लागेको यो होटलमा पनि पूर्ण वैदेशिक लगानी रहेको छ । ८० बेड र २ सय सिट क्षमता भएको यो होटल तथा रेष्टुरेन्टले सञ्चालनपछि ९७ जनाले रोजगार दिनेछ ।

 

वानयु होटल एण्ड रेष्टुरेन्ट काठमाडौंको वडा नं. २६ बन्न लागेको छ । २५ करोड विदेशी लगानीमा बन्न लागेको यो होटल ९५ बेड तथा १५० सिट क्षमता रहेको छ । यस्तै, २५ करोडको विदेशी लगानीमा वीकाई होटल एण्ड रेष्टुरेन्ट निर्माण हुने भएको छ । ९० बेड र १५० सिट क्षमताको यस रेष्टुरेन्ट रेष्टुरेन्ट सञ्चालनपछि १०५ जनालाई रोजगार दिनेछ ।

 

ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लज काठमाडौंमा १० करोड लगानीमा बन्न लागेको हो । यस होटलमा ३५ बेड र ६० सिटको रेष्टुरेन्ट हुनेछ । यो होटल तथा रेष्टुरेन्ट ५० प्रतिशत वैदेशिक र ५० प्रतिशत आन्तरिक लगानीमा बन्न लागेको हो ।

नेप्सेको सीईओको लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ? Read Previous

नेप्सेको सीईओको लागि ३ जनाको नाम सिफारिस, कसले मार्ला बाजी ?

५४ मेगावाटको सुपरदोर्दी ‘ख’ हाइड्रोपावरको सुरुङ 'ब्रेक थ्रु' Read Next

५४ मेगावाटको सुपरदोर्दी ‘ख’ हाइड्रोपावरको सुरुङ 'ब्रेक थ्रु'