काठमाडौं । यस वर्ष अलैंची उत्पादनमा गिरावट आएको छ । खडेरी र पात कुहिने रोगका कारण अलैंची उत्पादनमा गिरावट आएको हो ।
नेपाल अलैंची व्यवसायी संघका अनुसार यस वर्ष अलैंची उत्पादन करिब साढे ३ लाख किलोले घट्ने अनुमान गरिएको छ । अन्तिम तथ्यांक आइनपुगे पनि यस वर्ष करिब ४६ लाख केजी अलैंची उत्पादन हुने संघले जनाएको छ । गत वर्ष साढे ४९ लाख किलो अलैंची उत्पादन भएको थियो ।
पछिल्लो ५ वर्ष यता निरन्तर उत्पादन बढ्दै गएको भए पनि यस वर्ष भने ठूलो परिमाणमा उत्पादन घटेको संघका अध्यक्ष राजकुमार कार्कीले बताए । ‘पछिल्लो समय अलैंची उत्पादन हरेक वर्ष वृद्धि हुँदै गएको थियो । तर गत वर्षको खडेरी र अलैंचीको पात कुहिने रोगको कारण यो वर्ष उत्पादन ह्वात्तै घट्यो,’ कार्कीले चाणक्य पोष्टसँग भने । उत्पादन घट्दा किसानले करोडौं नोक्सानी बेहोर्नु परेको उनको भनाइ छ ।
कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरुमा अलैंची उत्पादन बढ्दै गएको देखाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ३४ लाख १४ हजार ६३८ किलो, २०७३/७४ मा ३४ लाख ७६ हजार ६५० किलो, २०७४/७५ मा २४ लाख १ हजार ३४९ किलो, २०७५/७६ मा ३६ लाख ७६ हजार १३ किलो, २०७६/७७ मा ४९ लाख ३३ हजार ३०३ किलो अलैंची उत्पादन भएको छ ।
नेपालमा १६ हजार ८४७ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिएको भएता पनि उत्पादन भने १२ हजार ५०१ हेक्टर क्षेत्रफलबाट मात्र हुँदै आएको छ ।
मूल्य पनि घट्दो
पछिल्ला वर्षहरुमा अलैंचीको मूल्य समेत घट्दो क्रममा रहेको छ । विगतमा किलोको २ हजार ५०० रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य अहिले झन्डै तीन गुणाले घटेको छ ।
‘यो वर्ष अलैंचीको उत्पादन मात्र नभएर मूल्य समेत घटेको छ । विगतमा प्रतिकिलो २ हजार ५०० रहेको अलैंचीको मूल्य केही समय अघिसम्म १२०० रुपैयाँ थियो । अहिले घटेर ९०० हाराहारीम आइसकेको छ, अझै कति घट्छ थाहा छैन,’ अध्यक्ष कार्कीले भने ।
कोरोनाका कारण भारत निर्यात हुन नसक्दा मागमा गिरावट आउँदा मूल्य पनि घटेको उनको भनाइ छ । लगातार मूल्य घट्दा कृषकले आफ्नो लागत समेत नउठ्ने भन्दै चिन्तित हुन थालेका छन् ।
बजारका लागि भारतकै भर, ओमिक्रोनले व्यापार ठप्प
नेपाली अलैंची बजारका लागि भारतमै पूर्ण निर्भर रहेको छ । नगन्य मात्रमा तेस्रो मुलुक निर्यात हुने भए पनि ९५ प्रतिशत अलैंचीको बजार भारत नै रहेको छ ।
‘उत्पादित अलैंचीमध्ये नेपालमा थोरै मात्र खपत हुन्छ । अधिकांश निर्यात हुने गरेको छ । निर्यात हुने ९५ प्रतिशत बढी अलैंचीको बजार भारत नै हो, अध्यक्ष कार्कीले भने, ‘पछिल्लो समय ओमिक्रोनको हल्ला र संक्रमण वृद्धि भएसंगै अलैंची निर्यात हुन नसक्दा व्यापार ठप्प भएको छ ।’ नेपालको अलैंची भारतको दिल्ली, महाराष्ट, कानपुर लगायतका सहरमा बढी मात्रामा खपत हुँदै आएको कार्कीको भनाइ छ ।
सरकारले तेस्रो राष्टमा अलैंचीको बजारीकरणको लागि नीति, नियम खुकुलो नगराएको कारण पनि नेपाली अलैंचीको बजारका लागि भारतकै भर पर्नुपरेको संघको भनाइ छ ।
खेती पनि वर्षेनी घट्दो
अलैंची उत्पादनसँगै खेती पनि घट्दो क्रममा रहेको छ । अलैंची खेतीमा रोग बढ्दो, बजार मूल्य घट्दो लगायत कारणले किसानहरु यस पेशाप्रति आकर्षित नहुँदा खेती पनि घट्दै गएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा १७ हजार हेक्टर क्षेत्रफलमा अलैंची लगाइएको थियो भने हाल करिब १६ हजार हेक्टरमा खेती हुने गरेको छ ।
२०७५/७६ मा अलैंचीखेती केही बढे पनि त्यसयता भने घट्दो क्रममा रहेको छ । सो वर्ष १८ हजार २७३ हेक्टर क्षेत्रफलमा अलैंची खेती भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा खेती भएको थियो भने गत आर्थिक वर्ष २०७७/७८ मा १६ हजार ८४७ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको संघले जनाएको छ ।
खेतीप्रति किसानको छैन आकर्षण
अन्य बालीको तुलनामा अलैंचीले उत्पादन समय धेरै भएकाले किसान आकर्षित हुन् नसकेको संघको ठहर छ । ‘अलैंचीले रोपेको ३ वर्षपछि मात्र फल दिन्छ । त्यो तीन वर्षसम्म के गर्ने भन्ने हुन्छ । फेरि, पछिल्लो समय यस खेतीमा रोग बढ्दो छ । जसले गर्दा किसानमा अलैंची खेतीप्रति आकर्षण देखिँदैन,’ अध्यक्ष कार्कीले भने ।
अलैंची खेतीमा विभिन्न समस्या भएकाले ती समस्या समाधान गर्न र अलैंची उत्पादन बढाउन सरकारले किसानलाई सहुलीयत कृषि बजार, अनुदान, उन्नत जातको बीउ, किटनाशक औषधी लगायतको व्यवस्था गर्नुपर्ने कार्कीको भनाइ छ ।
हाल नेपालमा करिब १ लाख कृषक व्यवसायिक अलैंची खेतीमा संलग्न रहेका छन् । नेपालका ५३ जिल्लामा अलैंची खेती गर्ने सम्भावना भएता पनि हाल सम्म १६ जिल्लाबाट व्यवसायीक उत्पादन हुँदै आएको छ ।