२० हजारको विदेशको जागीर, अनी नेपालमा परौठा व्यवसाय

काठमाडौं । नेपालमा रोजगारीको अवसर नपाएर दैनिक हजारौं युवा विदेशी भूमिमा पसिना बगाउन जान्छन् । स्वदेशमा अवसर नपाएर भनौ या साना तिना काम गर्न अल्छि मानेर विदेश भासिन बाध्य छन् युवाहरु ।

 

नेपाली युवावर्ग पैसा कमाउन विदेशनै जानुपर्छ भन्ने मानसिकताले ग्रस्त छन् । अनि कोरिया,जापान, अमेरिका वा कुनै खाडी मुलुक नगइ स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छभन्दा उनीहरुलाई पत्यार लाग्दैन । विदेशमा बसेर मासिक ४० हजारदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने नेपाली युवालाई स्वदेशमै महिनाको लाख कमाउन सकिन्छ भन्ने कुरा अनौठो लाग्न सक्छ ।

 

तर, काम गर्यो भने नेपालमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् सरोज श्रेष्ठ । उनले चाबहिलको स्तुपा अगाडि आलु परौठा बेचेर मासिक ३ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

 

कक्षा १२ को पढाइ सकेर वैदेशिक रोजगारका लागि मलेसिया पुगेका उनले काम गर्ने क्रममा आफ्नो  हातको औँला गुमाए । त्यसपछि नेपाल फर्केका उनले बुबाको देहान्त पछि आमाले गर्दै आएको पेशा सम्हाले ।

 

उनकी आमा सिता श्रेष्ठले चाबहिल स्तुपा अगाडि ठेलामा आलु परौठा बेच्दै आएकी थिइन् । उनको आमाले आलु परौठा बेच्न थालेको ३ वर्ष भइसकेको छ ।

आमाले २० हजार लगानीमा पाटनरसिपमा सुरु गरेको परौठा व्यापारमा आमा मात्र बढी खटिनु पर्ने भएपछि श्रेष्ठले आफैं आमाको सहयोगीको रुपमा काम सुरु गरेका थिए ।

 

आमालाई सघाउने क्रममा ठेला महानगरले उठाएर लगेपछि उनले पसल लिए । ६ हजार भाडा तिर्ने गरी २ लाखमा किनेको सानो पसलको भाडा समेत १ वर्ष नपुग्दै साउले फेरि बढाए ।

 

फस्टाउदै गएको व्यापार मिठो परौठाको स्वादसँगै आजभोलि आमाले भन्दा श्रेष्ठ आफैं बढी परौठा बनाउने गर्छन् । आमा छोरा दुबै मिलेर दैनिक परौठा बनाउने क्रममा खर्च पनि उत्तिनै बढ्दो रहेको छ । दैनिक ८/१० हजार रुपैयाँको व्यापार गर्ने उनले मासिक ३ लाखको हाराहारीमा आम्दानी गर्छन् ।

 

आम्दानीको आदि रकम पसल संचालनमै खर्च हुने भए पनि अरु बचेको रकमबाट बचत पनि गर्दै आएका छन् । ‘पसल सानो छ मान्छे अट्दैनन्, बाटोमै बसेर खानुहुन्छ,’ श्रेष्ठले  भने ।

 

चाबहिलमै भाडामा बस्ने गरेका आमा छोराले पसलको भाडा मात्र ८ हजार रुपैयाँ तिर्नु पर्छ । यसो भए पनि पछि गएर अलि ठूलो पसल लिएर व्यापार गर्ने योजनामा श्रेष्ठ रहेका छन् ।

 

परौठा खान कलेज बंक गरेर आउँछन्

 

पसल नजिकै पशुपती स्कुल र कलेज समेत रहेकोले पराठा व्यापार निकै फस्टाएको देखिन्छ । आलु परौठा माथि अण्डा, चाउचाउ, अचार, हालेर स्वाद अनुसारको बनाइने भएकाले विद्यार्थीहरुले मिठो मानि खाने गरेको पाइन्छ । एउटा रोल खाएपछि भोकनै मर्ने आलु परौठा खान कतिपय विद्यार्थीले स्कुल तथा कलेज समेत बंक गरेर आउने गरेको समेत पाइयो ।

बिहान ६ बजेदेखि सञ्चालन हुने सो पसलमा कहिले फुर्सदमा नहुने श्रेष्ठ शनिबार भने व्यापार कम हुने भएकाले फुर्सदमै हुन्छन् । उनले राती ९ बजेसम्म पसल खुल्ला गर्ने गरेका छन् । पसलमा डेढ वर्षदेखि परौठा व्यापार गर्दै आएका श्रेष्ठ ग्राहक धेरै हुँदा प्रायः आफू पनि परौठा खाएरै काम गर्ने गर्छन् ।

 

परौठा बनाउने क्रममा दैनिक ५ देखि ६ क्रेट अण्डा सकिने गरेको छ । चाउचाउ २ काटुनसम्म सकिने उनी बताउँछन् । दैनिक ३ लिटरसम्म तेल, ३ कुकर आलु, १० केजी भन्दा बढि पिठो पराठा बनाउनमा प्रयोग हुने गर्छ । प्रत्येक हप्ता ग्यास सकिने गरेको छ ।

 

घरमै आलु, अचार र पिठो तयार गरेर ल्याउने गरेको श्रेष्ठकी आमाले भने आफ्नो छोराले सघाउन थाले पछि आफूमा झन काम गर्ने हिम्मत बढेको बताउने गरेकी छन् ।

 

आफ्नो सानो व्यवसायबाटै घरखर्च देखि पसलको खर्च समेत धानेका यी आमा छोराले नेपालमै गर्र्यो भने कमाउन विदेश गइराख्नु पर्दैन भन्ने गतिलो उदाहरण बनेका छन् ।

 

 

सस्तो मूल्यमा मिठो खाजा

 

यस पसलमा श्रेष्ठले आलु परौठा, अण्डा परौठा, परौठा चाउचाउ रोल, अण्डा चाउचाउ पराठा रोल, बारा, अण्डा बारा, स्पेसल रोल, चिया लगायतका सामग्री विक्री गर्ने गरेका छन् ।

 

पसलमा न्यूनतम २० रुपैयाँको आलु परौठादेखि १ सय ३० रुपैयाँ पर्ने स्पेसल रोल समेत विक्री हुने गरेको पाइन्छ । यस्तै, श्रेष्ठले चाबहिल वरिपरीको ठाउँमा परौठा डेलीभरी गर्ने समेत गरेका छन् ।

 

थोरै मूल्यमा मिठो खाजाको रुपमा प्रयोग गर्न सकिने आलु परौठा रोल स्वाद र त्यसमा हालिने परिकार अनुसार मूल्य राखिएको छ ।
सादा आलु परौठाको २० रुपैयाँ, अण्डा आलु परौठाको ४० रुपैयाँ, चाउचाउ, अण्डा आलु परौठाको ५० रुपैयाँ रहेको छ । यसरी २० रुपैयाँदेखि ५० रुपैयाँसम्मको आलु परौठाको रोलले प्रत्येक ग्राहकको भोक मार्दैछन् श्रेष्ठ ।

नुवाकोटका वडाध्यक्षले बेचे झोलुङ्गे पुल Read Previous

नुवाकोटका वडाध्यक्षले बेचे झोलुङ्गे पुल

कर्णालीका किसान सामूहिक खेतीतर्फ आकर्षित, मार्सी धान फल्ने खेतमा तरकारी खेती Read Next

कर्णालीका किसान सामूहिक खेतीतर्फ आकर्षित, मार्सी धान फल्ने खेतमा तरकारी खेती