धितोपत्र बोर्ड अध्यक्षका लागि पुनः आवेदन माग, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक आवेदन माग गरेको छ । यसअघि ११ गते निकालिएको सूचनालाई रद्द गर्दै बोर्डमा अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहीबार पुनः सूचना प्रकाशन गरेको हो ।

 

खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने अध्यक्ष पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुस २९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

 

इच्छुक आवेदकले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् । पहिलोपटकको आवेदन दर्ता गराएका आवेदकले पुनः आवेदन दिन सक्ने जनाइएको छ ।

 

अध्यक्षका लागि आवेदन दिन नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकान, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको, ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको समेत हुनुपर्ने छ ।

 

साथै, र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ । योग्य आवेदकले ३ हजार दस्तुर सहित आवेदन दिनुपर्नेछ ।

 

पहिलोपटक कात्तिक ११ गते आह्वान गरिएको आवेदनमा १२ जनाले आवेदन दिएका थिए । जसमा बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी, उपनिर्देशक डा। नवराज अधिकारी, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जिवी चापागाईंले आवेदन दिएका छन् ।

 

त्यसैगरी, आवेदन दिनेमा हेमन्त बस्याल, डा.केशवप्रसाद श्रेष्ठ, अम्बिका शर्मा लामिछाने, कृष्णप्रसाद आचार्य, गोपाल भट्ट, जीवन अमगाइ, रमेश हमाल र अनिल पौडेल रहेका छन् ।

 

सर्वोत्तम सिमेन्ट प्रकरणमा विवादित भएपछि तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले बर्खास्त भएपछि अध्यक्ष पद रिक्त छ ।

नारायणगढ-बुटवल सडकको म्याद थप्ने तयारी Read Previous

नारायणगढ-बुटवल सडकको म्याद थप्ने तयारी

भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते Read Next

भक्तपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते