काठमाडौं । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अब देशका ५ वटा प्रदेशबाट वितरण गरिने भएको छ । सरकारले प्रदेशका नाम टुंगो लागिसकेका ५ वटा प्रदेशबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्नेे भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार विभागले अब वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबा इम्बोस्ड नम्बर प्लेट वितरण तथा जडान गरिने भएको छ ।
विभागका महानिर्देशक नवराज घिमिरेका अनुसार इम्बोस्ड नम्बर प्लेट काठमाडौंमा बनाउने र सम्बन्धित प्रदेशगत यातायात कार्यलयमा पठाइने छ । उक्त इम्बोस्ड नम्बर प्लेट प्रदेश कार्यालयहरुबाटै जडान गर्ने काम हुनेछ ।
प्रदेशहरुमा ‘पर्सनलाइजेसन सेन्टर’ मा जनशक्ति राख्न कम्पनी छनोट गरी सकेको र उक्त जनशक्तिलाई प्रदेश पठाउने तयारी भइरहेको उनले बताए । पोखरा र बुटवलमा कार्यालय स्थापना भइसकेको विभागले जनाएको छ । अन्य प्रदेशमा पनि कार्यालय स्थापना गर्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्दै जाने उनले बताए ।
‘अब हामीले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरी सकेका छौँ, प्रदेशहरुमा पनि इम्बोस्ड नम्बर जडान गर्न सक्ने व्यवस्था गर्दै छौँ,’ घिमिरेले चाणक्य पोष्टसँग भने ।
गत मंसिर १ गतेबाट नयाँ दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको छ । त्यस्तै, आगामी फागुनबाट नामसारी हुने सवारी साधनमा पनि अनिवार्य गरिने छ । जेठ १ गतेबाट नवीकरण गर्न आउने सवारीहरु समेतमा इम्बोट नम्बर प्लेट अनिवार्य लगाउनुपर्ने गरी राजपत्र निकालिएको छ ।
यातायात व्यवस्थापन विभागले २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने तयारी गरेको छ । हालसम्म १४ हजार सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट वितरण गरिको छ ।
अहिले निजी तथा सरकारी सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने काम गरिएको छ । २०८० सम्ममा २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राखिने विभागको लक्ष्य रहेको छ । हालसम्म ४० लाख बराबर सवारी दर्ता भएका छन् ।
कति लाग्छ शुल्क ?
सवारीधनीले इम्बोस्ड नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि २ हजार ५००, तीनपाङ्ग्रेका लागि २ हजार ८००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि ३ हजार २०० र ठूला सवारीका लागि ३ हजार ६०० रुपैयाँ राजश्व जम्मा गर्नुपर्नेछ ।
उपत्यकाका ६ ठाउँमा आरएफआइडी गेट राखिने
यस्तै, उनले इम्बोस्ड नम्बर प्लेट जडान सँगै देशभर १० ठाउँमा आरएफआइडी ( इम्बोस्ड नम्बर प्लेट रिड गर्ने) गेट राख्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाभित्रका ६ ठाउँमा आरएफआइडी गेट राखिने छ । उपत्यका बाहिर ४ स्थानमा आरएफआइडी गेट राखिने तयारी भइरहेको छ । यसरी कुल देशभर १० ठाउँमा आरएफआइडी गेट राखिने छ ।
पहिलो चरणमा थानकोटमा आएफआइडी गेट राखिने छ । उक्त स्थानमा गेट राख्नका लागि स्थान अवलोकनको काम भइरहेको उनले बताए । उनले सम्भवत माघ महिना भित्र थानकोट र बानेश्वरमा आरएफआइटी गेट निर्माण गरिने बताए ।
‘थानकोटमा आरएफआइडी गेट निर्माण गर्ने भएका छौँ, त्यहाँ गेट निर्माणका लागि अवलोकनको चरणमा रहेका छौँ, माघ महिनाभित्र त्यहाँ र बानेश्वरमा २ वटा गेट बनाउने छौँ,’ घिमिरेले भने ।
उनका अनुसार उक्त गेटले चोरी भएका गाडी कुन ठाउँबाट कहाँ पुगे भन्ने कुरा देखाउने छ । यो ट्रयाकिङ सिस्टम जस्तो भने हुने छैन । आरएफआइडी राख्न ५ लेनको सडक चाहिने हुन्छ ।