काठमाडौं । अब विदेश घुम्न जानेले एक वर्षको अवधिमा दुई पटकभन्दा बढी डलर साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब वर्षमा प्रति राहदानी दुई पटक मात्र सटही सुविधा पाइने भएको छ भने एकपटकमा १५०० डलर साट्न पाइन्छ। यसअघि जति पटक विदेश गएपनि प्रत्येक पटक १५०० का दरले डलर साट्न पाइन्थ्यो ।
राष्ट्र बैंकले सटही सुविधा लिनेहरुले स्रोतको स्वघोषणा गर्नुपर्ने र राहदानीबाहक आँफै उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि यो सुविधामा कडाइ गरेको हो । हाल कोरिया बाहेकका देशमा रोजगार भिसामा जानेलाई २०० डलर मात्र सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।