बजारमा इँटा अभाव, मूल्य ५० प्रतिशतसम्म बढ्ने

काठमाडौं । पछिल्लो समय बजारमा इँटाको अभाव देखिन थालेको छ । कोरोनका कारण आधा बढी उद्योग बन्द भएको, संचालनमा रहेका उद्योगले पनि माग अनुसार इँटाको उत्पादन गर्न नसकेकाले निर्माणको सिजनमै इँटाको अभाव भएको हो ।

 

हिउँद लागेसँगै भौतिक पूर्वाधार निर्माणको सिजन सुरु भएको छ । जसले बजारमा इँटासहित निर्माण सामग्रीको माग उच्च छ । माग उच्च भए पनि गत वर्ष उत्पादन नै कम भएकाले अहिले बजारमा इँटाको अभाव हुन थालेको उद्योगीहरु बताउँछन् ।

 

कोरोना महामारीका कारण भएको लकडाउन कारण संचालनमा रहेका आधाबढी उद्योग बन्द भई उत्पादनमा ठूलो गिरावट आउँदा अहिले बजारमा इँटाको अभाव हुन थालेको नेपाल इँटा उद्योग महासंघले जनाएको छ । महासंघका अनुसार कोरोना अघि नेपारभर १ हजार २५० इँटा उद्योग संचालन रहेकोमा अहिले ५५० हाराहारीमा मात्र संचालनमा रहेका छन् ।

 

कोरोनापछि आधाबढी उद्योग बन्द हुँदा अहिले बजारमा इँटाको अभाव हुने अवस्था आएको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले बताए ।’कोरोनाले गर्दा घाटा थेग्न नसकेर ६०० बढी इँटा उद्योग बन्द भए । उद्योग नै बन्द भएपछि इँटा उत्पादन स्वतः घट्यो । त्यस्तै, गत वर्ष सिजनमा बेमौसमी वर्षाले ठूलो क्षति पुर्यायो । जसले गर्दा अहिले बजारमा इँटाको अभाव देखिन थालेको हो,’ उनले चाणक्य पोष्टसँग भने ।

 

घर भवन बनाउने सिजन सुरु भएसँगै बजारमा इँटाको माग बढेको उनले बताए । हाल बजारमा छानीछानी इँटा पाउने अवस्था नरहेको र उद्योगमा जस्ता छन् त्यस्तै इँटा किन्नु पर्ने अवस्था रहेको बताइएको छ ।

 

इँटाको मूल्य ५० प्रतिशतसम्म बढ्ने

 

आगामी दिनमा नेपाली बजारमा इँटाको मूल्य ५० प्रतिशतसम्म बढ्ने देखिएको व्यवसायीहरु बताउँछन् । बजारमा पुरानो स्टक इँटा रहुन्जेल मूल्य नबढेपनि त्यसपछि भने मूल्य बढ्ने उद्योगीहरुको भनाइ छ ।

 

पछिल्लो समय कोइलाको मूल्य झन्डै दोब्बरले बढेकोले इँटा उत्पादन लागत पनि बढ्ने भएकाले मूल्य पनि बढ्ने अध्यक्ष चित्रकारले बताए । ‘अहिले बजारमा गत वर्ष उत्पादित स्टक इँटा विक्री भइरहेको छ । यसको लागत अहिलेको तुलनामा सस्तो थियो । तत्कालै भाउ बढ्ने देखिँदैन । तर, अब उत्पादन हुने इँटाको भाउ भने बढ्ने देखिएको छ । अहिले कोइलाको भाउ दोब्बरले बढेको छ । यसले इँटाको उत्पादन लागत पनि ह्वात्तै बढाउँछ,’ उनले भने ।

 

कात्तिक यता महिनैपिच्छे इँटाको भाउ क्रमशः उकालो लागेको छ । कात्तिकमा काठमाडौंमा सामान्य इँटा प्रतिगोटा १२ रुपैयाँदेखि १६ रुपैयाँसम्म पाइने गरेकोमा अहिले बढेर २० रुपैयाँसम्म पुगेको छ ।

 

नेपाल वार्षिक कुल ३ अर्ब भन्दा बढी इँटा उत्पादन हुुँदै आएको थियो र बजारमा माग पनि सोही अनुरुप भएको महासंघले जनाएको छ ।

 

कोइलाको मूल्य दोब्बर बढ्यो

 

पछिल्लो समय इँटा उद्योगमा प्रयोग हुने मुख्य इन्धनस्रोत कोइलाको मूल्य दोब्बरले बढेको छ । कोरोनापछि अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य लगातार बढेको हो ।

 

गतवर्ष अमेरिकी कोइला प्रतिकिलो २० रुपैयाँमा रहेकोमा अहिले बढेर प्रतिकिलो ४२ रुपैयाँसम्म पुगेको छ । त्यसैगरी प्रतिकिलो १७ रुपैयाँ रहेको भारतको (रानीगंज) कोइलाको मूल्य ३३ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय स्तरमा कोइलाको उत्पादनमा आएको गिरावट र बढ्दो मागका कारण लगातार यसको मूल्य बढेको हो । विश्वका ठूला काइला उत्पादक देशहरुले कोइला उत्पादनका कटौती गरिरहेका छन्, जसको प्रत्यक्ष असर मूल्यमा परेको हो ।

 

नेपालमा हाल अमेरिका, अष्ट्रेलियन, भारत लगातदेशबाट काइला आयात हुने गरेको छ ।

५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

चन्द्रागिरिमा हिमपात, खेल्न जानेको घुइँचो Read Next

चन्द्रागिरिमा हिमपात, खेल्न जानेको घुइँचो