९१ व्यवसायीले लिए १२ अर्ब पुनरकर्जा, लिनेमा अधिकांश होटल व्यवसायी, कुनले कति ?

काठमाडौं । कोरोनाका कारण धरासाय बनेको व्यापार, व्यवसाय उकास्न नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको पुनरकर्जा सुविधा अत्यन्त न्यून व्यवसायीले मात्र लिएका छन् ।

 

कोरोनबाट प्रभावित हुने व्यवसायी लाखौंको संख्यामा रहे पनि न्यून मात्रले पुनरकर्जा लिएका हुन् । प्रायः अधिकांश क्षेत्रका व्यवसायी कोरोनाबाट प्रभावित भए पनि झन्झटिलो बैंकिङ प्रक्रिया, पहुँचको अभाव, सबै व्यवसायीले यसबारे नबुझ्नु लगायत कारणले पुनरकर्जा सुविधाको प्रयोग गर्न नसकेका हुन् ।

 

चालु आर्थिक वर्षको ५ महिना(साउन–मंसिर)मा जम्मा ९१ जना व्यसायीले पुनरकर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको मंसिरसम्म जम्मा ९१ जना ऋणीले २९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा लिएका छन् ।

 

सोमध्ये १५ जना ऋणीले १० वटा बैंकक तथा वित्तीय संस्थाबाट २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ विशेष पुनरकर्जा लिएका छन् । त्यस्तै, ७६ जना ऋणीले २७ वटा बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ बराबरको साधरण पुनरकर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिमा गत आवमा दिइएको रकमको सीमा ननाघ्ने गरेर यस वर्ष पनि पुनरकर्जा सुविधालाई निरन्तरता दिएको थियो । सोही सुविधा प्रयोग गर्दै व्यवसायीहरुले पुनरकर्जा लिएका हुन् ।

 

पुनरकर्जा लिने व्यवसाय तथा उद्योगहरुले बैंकहरुलाई ५ प्रतिशत ब्याज तिर्नुपर्छ भने राष्ट्र बैंकले पुनरकर्जा बापत ३ प्रतिशत ब्याजदरमा बैंकहरूलाई उपलब्ध गराउँदैे आएको छ ।

 

आधा भन्दा बढी पुनरकर्जा पर्यटन क्षेत्रमा

 

राष्ट्र बैंकका अनुसार आधाभन्दा बढी पुनरकर्जा पर्यटन क्षेत्रमा गएको छ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित व्यवसाय भएकाले यसक्षेत्रका ऋणीले पुनरकर्जाको सुविधा सबैभन्दा बढी लिएका हुन् । राष्ट्र बैंकबाट दिइएको पुनरकर्जा सुविधामध्ये ५१.९७ प्रतिशत अर्थात् ६ अर्ब १५ करोड ३३ लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यापार व्यवसायले ऋण लिएका छन् ।

 

पर्यटनपछि दोस्रोमा जलविद्युत् क्षेत्रमा १९.९१ प्रतिशत अर्थात् २ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ पुनरकर्जा गएको छ । त्यसैगरी,उत्पादनमूलक उद्योगहरूमा करिब १६.६८ प्रतिशत अर्थात् १ अर्ब ९७ करोड ५१ लाख रुपैयाँ पुनरकर्जा गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

 

शिक्षामा ७.२२ प्रतिशत अर्थात् ८५ करोड ४९ लाख रुपैयाँ, यातायातमा २.०७ प्रतिशत अर्थात् २४ करोड ५३ लाख र अस्पतालमा १.६९ अर्थात् २० करोड रुपैैयाँ पुनरकर्जा गएकोे छ र । सबैभन्दा कम पुनरकर्जा लिनेमा कपडा व्यवसायी रहेका छन् । कपडा व्यवसायीहरुले कुल पुननरकर्जाको ०.४६ अर्थात् ५ करोड ४७ लाख रुपैयाँ पुनरकर्जाको सुविधा लिएका छन् ।

 

झन्डै आधा पुनरकर्जा वाग्मती प्रदेशमा, सुदूरपश्चिममा न्यून

 

पुनरकजाको सुविधा वाग्मती प्रदेश केन्द्रीत देखिएको छ । सुुदूरपश्चिम प्रदेशमा यस्तो सुविधा लिलने ऋणीहरुको संख्या न्यून रहेको छ । भौगोलिक विकटता, बैंक तथा वित्तीय संस्थाकाो पहुँचको अभाव जस्ता कारणहरुले धेरैे व्यवसायीहरुले उक्त कर्जाको सुविधा लिन पाएनन् ।

 

राष्ट्र बैैंकका अनुसार वाग्मती प्रदेशमा हालसम्म ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुनरकर्जा सुविधा उपयोग भएको छ । यो कुल पुनरकर्जाको ४७.८६ प्रतिशत हो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९ करोड ८४ लाख रुपैयाँ अर्थात् ०.८३ प्रतिशत पुनरकर्जा ऋणीहरुले लिएका छन् ।

 

लुम्बिनी प्रदेशका व्यवसायीहरुले २२.६६ प्रतिशत अर्थात् २ अर्ब ६८ करोड ३६ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् । यसैगरी गण्डकी प्रदेशमा १ अर्ब ३७ करोेड ५९ लाख रुपैयाँ अर्थात्् ११.६२ प्रतिशत कर्जा व्यवसायीहरुले उपभोग गरेका छन् ।

 

१ नम्बर प्रदेशमा १ अर्ब ५२ करोड ३४ लाख प्रदेश २ मा ४९ करोड २६ लाख रुपैयाँ पुनरकर्जा सुविधा ऋणीहरुले लिएका छन् ।

 

२ महिनामा झन्डै दोब्बरले बढ्यो पुनरकर्जा विस्तार

 

कारोना महामारीका कारण धरासाय बनेका व्यवसाय तथा उद्योगहरुको संख्या ठूलो भएपनि सरकारले व्यवस्था गरेको पुनरकर्जाको लाभ सबैले लिन सकेका छैनन् । यद्यपी पछिल्लो दुई महिनामा पुनरकर्जा विस्तारको दायरा भने केही बढेको छ ।

 

चालु आवको तीन महिना (साउन–असोज)मा कूल ६ अर्ब ८० करोड रुपैयाँ पुनरकर्जा विस्तार भएकोमा (कात्तिक–मंसिरमा) ५ अर्ब ३ करोड रुपैयाँले सो रकम बढेर ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा विस्तार भएको हो । अघिल्लो तीन महिनामा पुनरकर्जा लिने ऋणीको संख्या कूल ५५ रहेकोमा मंसिर मसान्तसम्म त्यो संख्या बढेर ९१ पुगेको छ ।

 

यस्तो छ पुनरकर्जाको मापदण्ड

 

राष्ट्र बैंकले पुर्न कर्जाको लागि केही मापदण्ड तोकेको छ । बैंकका अनुसार पुनरकर्जाको लागि संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ ।

 

आवेदनको लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम एक वर्ष बाँकी रहेको हुनुपर्ने तथा एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ ।

 

पुनरकर्जाको लागि आवेदन गरिएको कूल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने छ । त्यस्तै, आवेदनको लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने तथा आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात बैंकले तोके बमोजिम पुगेको हुनुपर्ने व्यवस्था राष्ट्र बैैंकले गरेको छ ।

 

सीमा तनावका बीच भारत र चीनबीच कीर्तिमानी १२० खर्बको व्यापार Read Previous

सीमा तनावका बीच भारत र चीनबीच कीर्तिमानी १२० खर्बको व्यापार

कुलमान आएपछि विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको कमाल, चुहावट रोक्दा डेढ अर्ब बढी नाफा हुने Read Next

कुलमान आएपछि विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको कमाल, चुहावट रोक्दा डेढ अर्ब बढी नाफा हुने