काठमाडौं । कोरोनाका कारण धरासाय बनेको व्यापार, व्यवसाय उकास्न नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको पुनरकर्जा सुविधा अत्यन्त न्यून व्यवसायीले मात्र लिएका छन् ।
कोरोनबाट प्रभावित हुने व्यवसायी लाखौंको संख्यामा रहे पनि न्यून मात्रले पुनरकर्जा लिएका हुन् । प्रायः अधिकांश क्षेत्रका व्यवसायी कोरोनाबाट प्रभावित भए पनि झन्झटिलो बैंकिङ प्रक्रिया, पहुँचको अभाव, सबै व्यवसायीले यसबारे नबुझ्नु लगायत कारणले पुनरकर्जा सुविधाको प्रयोग गर्न नसकेका हुन् ।
चालु आर्थिक वर्षको ५ महिना(साउन–मंसिर)मा जम्मा ९१ जना व्यसायीले पुनरकर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको मंसिरसम्म जम्मा ९१ जना ऋणीले २९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा लिएका छन् ।
सोमध्ये १५ जना ऋणीले १० वटा बैंकक तथा वित्तीय संस्थाबाट २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ विशेष पुनरकर्जा लिएका छन् । त्यस्तै, ७६ जना ऋणीले २७ वटा बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ बराबरको साधरण पुनरकर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा गत आवमा दिइएको रकमको सीमा ननाघ्ने गरेर यस वर्ष पनि पुनरकर्जा सुविधालाई निरन्तरता दिएको थियो । सोही सुविधा प्रयोग गर्दै व्यवसायीहरुले पुनरकर्जा लिएका हुन् ।
पुनरकर्जा लिने व्यवसाय तथा उद्योगहरुले बैंकहरुलाई ५ प्रतिशत ब्याज तिर्नुपर्छ भने राष्ट्र बैंकले पुनरकर्जा बापत ३ प्रतिशत ब्याजदरमा बैंकहरूलाई उपलब्ध गराउँदैे आएको छ ।
आधा भन्दा बढी पुनरकर्जा पर्यटन क्षेत्रमा
राष्ट्र बैंकका अनुसार आधाभन्दा बढी पुनरकर्जा पर्यटन क्षेत्रमा गएको छ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित व्यवसाय भएकाले यसक्षेत्रका ऋणीले पुनरकर्जाको सुविधा सबैभन्दा बढी लिएका हुन् । राष्ट्र बैंकबाट दिइएको पुनरकर्जा सुविधामध्ये ५१.९७ प्रतिशत अर्थात् ६ अर्ब १५ करोड ३३ लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यापार व्यवसायले ऋण लिएका छन् ।
पर्यटनपछि दोस्रोमा जलविद्युत् क्षेत्रमा १९.९१ प्रतिशत अर्थात् २ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ पुनरकर्जा गएको छ । त्यसैगरी,उत्पादनमूलक उद्योगहरूमा करिब १६.६८ प्रतिशत अर्थात् १ अर्ब ९७ करोड ५१ लाख रुपैयाँ पुनरकर्जा गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
शिक्षामा ७.२२ प्रतिशत अर्थात् ८५ करोड ४९ लाख रुपैयाँ, यातायातमा २.०७ प्रतिशत अर्थात् २४ करोड ५३ लाख र अस्पतालमा १.६९ अर्थात् २० करोड रुपैैयाँ पुनरकर्जा गएकोे छ र । सबैभन्दा कम पुनरकर्जा लिनेमा कपडा व्यवसायी रहेका छन् । कपडा व्यवसायीहरुले कुल पुननरकर्जाको ०.४६ अर्थात् ५ करोड ४७ लाख रुपैयाँ पुनरकर्जाको सुविधा लिएका छन् ।
झन्डै आधा पुनरकर्जा वाग्मती प्रदेशमा, सुदूरपश्चिममा न्यून
पुनरकजाको सुविधा वाग्मती प्रदेश केन्द्रीत देखिएको छ । सुुदूरपश्चिम प्रदेशमा यस्तो सुविधा लिलने ऋणीहरुको संख्या न्यून रहेको छ । भौगोलिक विकटता, बैंक तथा वित्तीय संस्थाकाो पहुँचको अभाव जस्ता कारणहरुले धेरैे व्यवसायीहरुले उक्त कर्जाको सुविधा लिन पाएनन् ।
राष्ट्र बैैंकका अनुसार वाग्मती प्रदेशमा हालसम्म ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुनरकर्जा सुविधा उपयोग भएको छ । यो कुल पुनरकर्जाको ४७.८६ प्रतिशत हो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ९ करोड ८४ लाख रुपैयाँ अर्थात् ०.८३ प्रतिशत पुनरकर्जा ऋणीहरुले लिएका छन् ।
लुम्बिनी प्रदेशका व्यवसायीहरुले २२.६६ प्रतिशत अर्थात् २ अर्ब ६८ करोड ३६ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् । यसैगरी गण्डकी प्रदेशमा १ अर्ब ३७ करोेड ५९ लाख रुपैयाँ अर्थात्् ११.६२ प्रतिशत कर्जा व्यवसायीहरुले उपभोग गरेका छन् ।
१ नम्बर प्रदेशमा १ अर्ब ५२ करोड ३४ लाख प्रदेश २ मा ४९ करोड २६ लाख रुपैयाँ पुनरकर्जा सुविधा ऋणीहरुले लिएका छन् ।
२ महिनामा झन्डै दोब्बरले बढ्यो पुनरकर्जा विस्तार
कारोना महामारीका कारण धरासाय बनेका व्यवसाय तथा उद्योगहरुको संख्या ठूलो भएपनि सरकारले व्यवस्था गरेको पुनरकर्जाको लाभ सबैले लिन सकेका छैनन् । यद्यपी पछिल्लो दुई महिनामा पुनरकर्जा विस्तारको दायरा भने केही बढेको छ ।
चालु आवको तीन महिना (साउन–असोज)मा कूल ६ अर्ब ८० करोड रुपैयाँ पुनरकर्जा विस्तार भएकोमा (कात्तिक–मंसिरमा) ५ अर्ब ३ करोड रुपैयाँले सो रकम बढेर ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा विस्तार भएको हो । अघिल्लो तीन महिनामा पुनरकर्जा लिने ऋणीको संख्या कूल ५५ रहेकोमा मंसिर मसान्तसम्म त्यो संख्या बढेर ९१ पुगेको छ ।
यस्तो छ पुनरकर्जाको मापदण्ड
राष्ट्र बैंकले पुर्न कर्जाको लागि केही मापदण्ड तोकेको छ । बैंकका अनुसार पुनरकर्जाको लागि संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ ।
आवेदनको लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम एक वर्ष बाँकी रहेको हुनुपर्ने तथा एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ ।
पुनरकर्जाको लागि आवेदन गरिएको कूल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने छ । त्यस्तै, आवेदनको लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने तथा आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात बैंकले तोके बमोजिम पुगेको हुनुपर्ने व्यवस्था राष्ट्र बैैंकले गरेको छ ।