काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएका छन् ।
शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६ औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरु सञ्चालन गर्न सकिने बताएका हुन् ।
‘यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ । यस्ता उद्योगहरु धेरै बन्द अवस्थामा छन् । निजी क्षेत्र र सरकारबीच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरुमा लगानी गरी तिनीहरुलाई पुनः सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष ढकालले पूँजीगत खर्च बढाउन बजेट खर्च गर्ने परम्परागत सरकारी तरिकामा परिवर्तन गर्न आवश्यक रहेको बताए । ढकालले सरकारी ढुकुटीमा खर्बौं राजस्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको बताएका छन् ।
‘अहिलेसम्म सरकारी ढुकुटीमा ४ खर्ब रुपैयाँभन्दा धेरै राजस्व संकलन भइसकेको छ । यो पौष मसान्तभित्र थप एक खर्ब रुपैयाँ राजस्व संकलन हुनेछ । तर राजस्व संकलन केन्द्रिकृत हुने र यसलाई खर्च गर्ने मेकानिजम् नहुनाले बजारमा तरलताको समस्या देखा परेको छ,’ उनले भने ।
गत पाँच महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको बताउँदै उनले यसमा निजी क्षेत्रको योगदान ठूलो रहेको बताए । ढकालले सबै व्यवसायीहरुले नाफामात्र नहेरेको बताउँदै उनीहरुले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने बताए ।
उनले मुलुकको राजस्वमा ठूलो योगदान रहेको निजी क्षेत्रलाई सरकारको मर्यादाक्रममा समेत नसमेटिएकोमा गुनासो गरे । ‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढि योगदान निजी क्षेत्रको रहेको छ । सरकारी राजस्व संकलनमा पनि निजी क्षेत्रले सहयोग गरेको छ । त्यसैले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्दा सरकारलाई पनि सहयोग पुग्नेछ,’ उनले भने ।
बजार अनुगमनका नाममा व्यवसायीहरुले दुःख पाएको र त्यसलाई मर्यादित बनाउनुपर्ने उनले बताए । वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीयस्तरमा लगानीका सम्भावनाहरु भएमा महासंघको तर्फबाट तथा व्यक्तिगत साझेदारी गर्न आफू तयार रहेको बताए ।
‘तपाईं हामीबीच व्यवसायिक सम्बन्ध भयो भने हामी पोष्टमा हुँदा र नहुँदा पनि सम्बन्ध रहने हुन्छ । यहाँका स्थानीय सम्भावनाहरु के के छन् । उत्पादनमूलक उद्योग, पर्यटन वा अन्य कुनै पनि व्यवसायमा जोडिन सकियो भने यो सम्बन्ध रहिरहन्छ,’ उनले भने ।