पाथीभरामा हेलिकोप्टर कम्पनीकोे व्यापार फस्टाउँदै, कुन ठाउँबाट कति लाग्छ भाडा ?

फुङ्लिङ । माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान–बिहान फन्को लगाउँदै आएको पनि करिब तीन महिना भएको छ ।तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न हेलिकप्टर आउन थालेका हुन् ।

 

धरानको भेडेटारबाट दसैँको समययता ७० उडान भएका छन् । सो उडान हुँदा ४५० भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताउँछन् । सदरमुकाम फुङ्लिङ, पाँचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए।

 

धरानबाट ३२ हजार रुपैयाँमा एक यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एण्ड टुरका मार्केटिङ म्यानेजर श्रेष्ठ बताउँछन् । यस वर्ष हेलिकप्टरमा चढेर पाथीभरा जाने यात्रुको सङ्ख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको जनाइएको छ । यात्रुका हिसाबले एक पटकमा पाँच जना बोक्ने हेलिकप्टरले धरानबाट एउटा उडानमा १ लाख ६० हजार आम्दानी गर्ने गरेका छन् ।

 

फुङ्लिङबाट १० हजार, पाँचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार रुपैयाँ भाडा लिने गरेको मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बुले बताए। काठमाडौँबाट सिधै आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले जानकारी दिए । हेलिकप्टरबाट कति सङ्ख्यामा तीर्थयात्री आए तथ्याङ्क राख्ने नगरेको समितिले जनाएको छ । “हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्याङ्क राख्ने गरेका छौँ”, काफ्लेले भने ।

 

दसैँको नौरथ सुरु भएको असोज २१ देखि मङ्सिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्याङ्क पाथीभरा क्षेत्र विकास समितिसँग छ ।

 

पाथीभरामा तीर्थयात्रीले चढाएको ८ करोड बैंक मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालू आव २०७८ को असार मसान्तसम्म ३ करोड २७ लाख ३० हजार ७५८ बैंक मौज्दात छ ।

 

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिमा (समुदायस्तरमा गठित समिति)सँग रु तीन करोड ३३ लाख ३५ हजार २०७ रहेको छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कूल ८ करोड रुपैयाँ भेटी मौज्दात रहेको समितिले जनाएको छ ।

यी हुन काठमाडौं उपत्यका वरिपरीका पिकनिक स्पट, कहाँ कति लाग्छ शुल्क ? Read Previous

यी हुन काठमाडौं उपत्यका वरिपरीका पिकनिक स्पट, कहाँ कति लाग्छ शुल्क ?

कुश्मामा विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनमा आउँदै Read Next

कुश्मामा विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनमा आउँदै