काठमाडौं । चालु आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले व्यवसाय विस्तार सामान्य रुपमा भएको छ । चालु आवको ५ महिना (साउन मंसिर)मा जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.७८ प्रतिशतले वृद्धि भएको हो ।
बीमा समितिको तथ्यांक अनुसार मंसिरसम्म जीवन बीमा कम्पनीहरुले कुल ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँँ बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ८ अर्ब ३ करोड रुपैयाँँले बढी हो । गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले कुल ४९ अर्ब ४९ करोड रुपैयाँँ बीमा शुल्क संकलन गरेका थिए ।
चालु आवको मंसिरसम्म जीवन बीमा कम्पनीहरुले कुल ९६ लाख १९ हजार ४४७ बीमा लेख जारी गरेका छन् । जुुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.९६ प्रतिशतले बढी हो । गत वर्षको मंसिरसम्म जीवन बीमा कम्पनीहरुले कूल ७८ लाख २३ हजार ३१९ बीमालेख जारी गरेका थिए ।कोरोेना महामारी पछि अर्थतन्त्र चलायमान भएसँगै बीमा कम्पनीहरु व्यवसाय विस्तार बढाएका हुन् ।
एक चौथाइ बजार हिस्सा नेपाल लाइफको
हाल संचालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये एक चौथाइ बढी बजार हिस्सा नेपाल लाइफले ओगटेको छ । जीवन बीमा कम्पनीहरु मध्ये व्यापारमा वर्षौंदेखि शीर्ष स्थानमा रहँदै आएको नेपाल लाइफले यस वर्ष पनि आफ्नो वर्चश्व कायमै राखेको हो ।
मंसिरसम्म जीवन बीमा कम्पनीहरुले कुल ५७ अर्ब ७९ करोड बीमा शुल्क संकलन गरेकोमा नेपाल लाइफ एक्लैले १५ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो कुल बीमा शुल्कको २६.७१ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीले १४ अर्ब १३ करोड बीमा शुल्क संकलन गरेको थियो ।

बाँकी १८ वटा कम्पनीहरुले ७३.२९ प्रतिशत बजार हिस्सा ओगटेका छन् । नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले दोस्रो धेरै ११.३८ प्रतिशत बजार हिस्सा ओगटेको छ । कर्पोरेशनले मंसिरसम्म ६ अर्ब ५८ करोड बीमा शुल्क संकलन गरेको छ । यस आवको मंसिरसम्म सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मीले समीक्षा अवधिसम्म ५४ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यसैगरी, तेस्रो धेरै बीमा शुल्क संक्लन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । यसले समीक्षा अवधिसम्म कुल बजार हिस्साको ९.७५ प्रतिशत अर्थात् ५ अर्ब ६४ करोड बीमा शुल्क संकलन गरेको छ ।
२ वटा कम्पनीको बीमाशुल्क घट्यो
चालु आवको मंसिरसम्म १७ वटा जीवन बीमा कम्पनीहरुले व्यवसाय वृद्धि गरेका छन् भने दुई कम्पनीको घटेको छ । गुराँस लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको बीमा शुल्क आर्जन घटेको हो ।
समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको व्यवसाय ७७.४७ र गुराँस लाइफको ७.२६ प्रतिशतले घटेको छ । गत वर्षको मंसिरसम्म ७ अर्ब १२ करोड बीमा शुल्क संकलन गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको व्यवसाय चालु आवको सोही अवधिमा बीम शुल्क ५३ करोडले घटेर ६ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ ।
त्यसैगरी, गुराँसको गत वर्षको तुलनामा १० करोडले घटेर १ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस कम्पनीले ११ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
नयाँ बीमा कम्पनी व्यवसाय विस्तारमा आक्रामक
नयाँ जीववन बीमा कम्पनीहरु व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । मंसिरसम्म सबैभन्दा धेरै व्यवसाय विस्तार गर्नेमा सन नेपाल लाइफ नेपाल रहेको छ । यस बीमा कम्पनीले गत वर्षको तुलनामा बीमा शुल्क आर्जन दोब्बरले बढाएको छ ।
समीक्षा अवधिमा सन लाइफ नेपालले सबैभन्दा धेरै बीमा शुल्क आर्जन १२२.५८ प्रतिशतले वृद्धि गरेको हो । यसैगरी, प्रभु लाइफले ९३.२९,सिटिजन्स लाइफले ९१.६८ प्र्रतिशत र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ८९.६८ प्र्रतिशतले बीमा शुल्क संकलन वृद्धि गरेका हुन् ।