काठमाडौं । काठमाडौंको तीनकुनेस्थित वाग्मतीमा आर्क ब्रिज निर्माणको ठेक्का मूल्यांकन प्रक्रियामा ढिलाइ भएको छ । आर्क ब्रिज निर्माणका लागि आवेदन दिएका ७ कम्पनीमध्ये एउटा कम्पनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोमा मुद्दा परेपछि ठेक्का प्रक्रिया नै रोकिएको हो ।
तीनकुने आर्क ब्रीज निर्माणका लागि लुम्बिनी कोटेक जाय जेभी, सपना निर्माण सेवा, लामा जेजीएसएचसी जेभी, वाइपी किँरातेश्वर जेभी, हिमसगरमाथा, मृत, सन्जीवनी र हिमढुङ्गा ठोक्कर गोल्डेन गुण जेभीले आवेदन दिएका थिए ।
तीमध्ये ‘वाइपी’ निर्माण कम्पनी विरुद्ध अख्तियारमा मुद्दा दायर भएपछि अहिले ठेक्का प्रक्रिया नै रोकिएको हो । ठेक्का मूल्यांकन फाइल स्वीकृतका लागि सडक विभाग पुगेपछि वाइपी विरुद्ध मुद्दा परेको हो ।
विभागका सूचना अधिकारी महानन्द जोशीले उक्त कम्पनीलाई ठेक्का मूल्याङकनमा राख्ने कि नराख्ने भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत हुनुपर्ने बताए । उनका अनुसार विभागले आफै मूल्यांकनबाट हटाउन नमिल्ने भएकाले उक्त विषयमा मन्त्रालयबाट स्वीकृती लिनु पर्ने भएको हो ।
‘अब त्यो कम्पनीलाई मूल्यांकनमा राख्ने कि नराख्ने भनेर मात्र मन्त्रालयबाट स्वीकृती लिनुपर्ने हो, अर्को हप्तासम्मा मन्त्रालयबाट निर्णय आएपछि विभाग मै फाइल जानेछ, उतैबाट मूल्यांकन हुनेछ,’ जोशीले चाणक्य पोष्टसँग भने ।
गत भदौम आह्वान गरिएको बोलपत्रमा ७ कम्पनीले आवेदन दिएको झन्डै ४ महिना बित्न लागेको छ । हाल सो ठेक्का प्रक्रिया प्राविधिक मूल्यांकन प्रक्रियामा रहेको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
आयोजनाले आवेदकहरुको मूल्यांकन सकी स्वीकृतिका लागि सडक विभाग पठाए पनि आवेदक कम्पनीविरुद्ध मुद्दा दायर भएपद्धि अघि बढ्न नसकेको हो । अब मन्त्रालयबाट मुद्दा परेको कम्पनीलाई समावेश गर्नेनगर्ने टुंगो लागेपछि मात्र प्रक्रिया अघि बढ्ने आयोजनाको भनाइ छ ।
आयोजनाका अनुसार सडक विभागबाट मूल्यांकन स्वीकृत भएर आएको १ हप्तामा ठेक्का सम्झौता तथा हस्तान्तरणको काम हुने छ । आवेदन दिएका मध्ये प्राविधिक मूल्यांकनबाट केही राम्रा कम्पनीहरुलाई छनोट गरिनेछ । उक्त छनोटमा परेका कम्पनीहरुको आर्थिक मूल्यांकन सकेपछि सबैभन्दा कम लागतमा बनाउने कम्पनीलाई ठेक्का दिइने छ ।
निर्माण व्यवसायीको लापरवाहीले ६ वर्षदेखि अलपत्र
निर्माण व्यवसायीको लापरवाही कारण सो पुल ६ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न तयारी गरिएको हो ।
पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।
पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।
आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम सुरू गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो । २१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।
यो पुलमा काम गर्ने क्रममा १६ वटा पायल मध्ये २ वटा पायल जमिनमा भासिएको देखिएको छ । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पप्पुलाई पत्र दिएको थियो । तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको छ । त्यसपछि सो पुल निर्माण गर्दा जोखिम बढ्ने हुँदा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्यो फेरि भत्काएर बनाउन निर्देशन दिएको थियो ।
पप्पुले सो निर्देशन पालना नगरेपछि उक्त पुलको काम अघि बढ्न सकेको थिएन । आयोजनाले बारम्बार पप्पुलाई निर्माण तोडेर नयाँ डिजाइनमा पुल बनाउन भने पनि पप्पुले अटेरी गरेको हो । पप्पुले फाउन्डेसन नमिलाई त्यस माथिनै थप काम गरेको थियो ।