संघीय संसद भवन निर्माण सुस्त, २ वर्षमा जम्मा ३५ प्रतिशत काम पूरा

काठमाडौं । सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण भइरहेको संघीय संसद भवन निर्माण सुस्त भएको छ । सम्झौता अनुसार हालसम्म आधा बढी काम सम्पन्न भइसक्नुपर्ने भए पनि हालसम्म एकतिहाई मात्र काम पूरा भएको हो ।

 

विशेष भवन निर्माण आयोजनाका अनुसार हालसम्म समग्रमा ३५ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण अवधि डेढ वर्ष मात्र बाँकी रहँदा ६५ प्रतिशत काम गर्न बाँकी छ ।  त्यस्तै, वित्तीय प्रगति पनि ३५ प्रतिशत प्रगति भएको जनाइएको छ ।

 

कोरोना, कामदार अभाव लगायत काराणले काममा ढिलाइ भएको आयोजनाले बताएको छ । विशेष भवन निर्माण आयोजनाका समन्वयन कार्यालय प्रमुख दीलिपशेखर श्रेष्ठले कोरोना र जनशक्ति अभावमा कामले अपेक्षित गति लिन नसकेको बताए । ‘गत वर्ष कोरोनाका कारण कामले गति लिन सकेन । यस वर्ष पनि आवश्यकता अनुसार कामदार नहुँदा निर्माणले गति लिन सकेको छैन,’ उनले चाणक्य पोष्टसँग भने, ‘अझै डेढ वर्ष अवधि बाँकी छ । अब जनशक्ति थपेर भए पनि समयमै सक्ने गरी कामलाई अघि बढाउँछौं ।’

 

२०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले शिलन्यास गरेको उक्त भवन निर्माण सुरु भएको २६ महिना बितिसकेको छ । २०७९ असोज १६ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको यो आयोजना कोभिडका कारण काम रोकिएपछि थप ६ महिना म्याद थप गरिएको छ ।

 

पुतली बगैँचाको १७३ रोपनी जग्गामा अत्याधुनिक सुविधा सम्पन्न संसद् भवन टुन्डी–एसएचईसी जेभीले निर्माण गरिरहेको छ । संसद भवन परिसरभित्र ११ वटा विभिन्न प्रकारका भवन तथा पूर्वाधार रहने गरी डिजाइन गरिएको छ । आयोजनको कुल लागत ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ रहेको छ ।

 

अझै ३०० जनशक्ति अभाव

 

तोकिएकै समयमा निर्माण सम्पन्न गर्नका लागि अझै दैनिक ३०० जनशक्ति आवश्यक पर्ने आयोजन प्रमुख श्रेष्ठ बताउँछन् । ‘हाल दैनि ४०० बढी जनशक्तिले काम गरिरहेका छन् । लक्ष्य अनुसार काम गर्न दैनिक ७०० जनशक्ति चाहिन्छ । लक्ष्य अनुसार काम गर्न अझै दैनिक ३०० कामदार चाहिन्छ । अब आवश्यक कामदार थपेर निर्माणलाई तीव्रता दिने तयारी भइरहेको छ,’ उनले भने ।

 

निर्माण व्यवसायीसँग जनशक्ति थप्न अथवा सिफ्ट काम अघि बढाउन छलफल भइरहेको उनले बताए । निर्माण व्यवसायीले एक हप्ता भित्र निर्माणमा जनशक्ति थप्ने बताएको उनले बताए । ठेकेदारले थप कामदार थपि कामलाई अघि बढाउने बताएको उनको भनाइ छ ।

 

अहिलेसम्म कति भयो काम ?

 

आयोजनाका समन्वयन कार्यालय प्रमुख श्रेष्ठका अनुसार हालसम्म सो क्षेत्रमा कमिटी भवन निर्माण ९५ प्रतिशत पूरा भएको छ । ब्रिकवर्कको काम ८५ प्रतिशत सम्पन्न भएको छ भने प्लास्टरको काम ६५ प्रतिशत पूरा भएको छ ।

 

त्यस्तै भीभीआईपी भवनको दोस्रो तलाको निर्माण सम्पन्न भएको छ । सेक्रेटरी विल्डीङ दक्षीण तर्फको दोस्रो तलामा ५० प्रतिशत काम सम्पन्न भएको छ भने उत्तर तर्फ भवन निर्माण सम्पन्न भई प्लास्टरको काम भइरहेको छ ।पार्टी अफिसको ब्लकको चौथो तलामा स्ट्रक्चर निर्माण ८० प्रतिशत सम्पन्न भएको छ । त्यस्तै गरी लाइब्रेरी ब्लकको फाउन्डेसनको कार्य सम्पन्न भई ग्राउन्ड फ्लोरको ३५ प्रतिशत कार्य सम्पन्न गरिएको छ ।

 

पार्किङ ब्लकमा पहिलो तलाको स्ट्रक्चरको कार्य सम्पन्न भएको छ भने एटिक फ्लोरको कोलिमको काम सम्पन्न भई बीमको काम ७० प्रतिशतको हाराहारीमा निर्माण भइरहेको छ ।सेन्टर लबीको पहिलो तलाको स्ट्रक्चर निर्माणको काम ८० प्रतिशत पूरा भएको छ । क्यान्टिनको बेसमेन्टको काम ९५ प्रतिशत सम्पन्न भई भूमिगन पानी ट्याङकीको निर्माण सम्पन्न गरिउको जनाइएको छ ।

 

अप्पर हाउसको पहिलो तलाको निर्माण सम्पन्न गरिएको छ । आर्टिकका लागि सपोर्ट स्ट्रक्चर निर्माण कार्य सुरू गरिएको छ भने ग्राउन्ड फ्लोरमा ब्रिकवर्कको कार्य भइरहेको छ ।लोअर हाउसको पहिलो तलाको स्ट्रक्चरको कार्य सम्पन्न भएको छ भने ग्राउन्ड फ्लोरमा ब्रिकको काम भइरहेको छ ।

 

कस्तो बन्ने छ संघीय संसद् भवन ?

 

यस आयोजना अन्तर्गत विभिन्न ११ वटा ब्लकमा भवन निर्माण हुनेछन् । संसद भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, पुस्तकालय, सङ्ग्राहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस तथा छपाइ भवन र ७०० वटा सवारी साधन पार्किङ र सुरक्षाकर्मीको भवन रहने छन् ।

 

भवनको दायाँ भागमा राष्ट्रिय सभा र बायाँ भागमा प्रतिनिधि सभाको भवन रहनेछ भने दक्षिणतर्फ मूल ढोका रहने छ । सहसचिव दवाडीका अनुसार संसद् भवन निर्माणको गुरुयोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी ४ भागमा बाँडिएको छ ।पुतली बगैँचाको १७३ रोपनीको २७ प्रतिशत भाग भवनले, ४५ प्रतिशत खुल्ला हरियाली क्षेत्र र बाँकी सडक पूर्वाधार र पानीको फोहोरा सजावट रहने छ ।

 

संसद भवनमा सांसदहरुको प्रवेशका लागि उत्तरतर्फ ढोका बनाइने, दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्ने गेट रहने छ । संसद भवन भित्र छिर्नु अगाडि आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिने व्यवस्था हुने छ ।

 

१५०० जना अट्ने २ हल

 

नयाँ बन्ने संसद् भवनमा प्रतिनिधि सभा हल र राष्ट्रिय सभा हल गरी २ वटा हलमा १ हजार ५०० जना क्षमता रहने छ । प्रतिनिधि सभामा ४०० जना संसादहरु अट्ने भुइँतलामा ठूलो हलमा ५०० जना अट्ने जनाइएको छ । जसमा सो हलमा थप दर्शक, पत्रकार र आगन्तुक पाहुना ३०० जना अट्ने बाल्कोनी हल र २०० जना अट्ने सुरक्षा हल बनाइने छ ।

 

साथै संसदमा सभामुख कक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट अधिकारी बस्ने कक्ष र प्राविधिक कक्ष बनाइने छ । मुख्य संसद् भवनको दायाँतिर ३ तल्लाको संसद् सचिवालयको भवनमा बैठक कक्ष, तालिम हलका साथै प्राविधिक कक्ष रहने छन् ।

 

यस्तै, राष्ट्रिय सभामा १०० जना सांसद अट्ने ठूलो हल, २०० जना अट्ने बाल्कोनी हल, ३०० जना अट्ने सुरक्षाकर्मीको हलका साथै स्टुडियो, भिडियो कन्ट्रोल लगायतका प्राविधिक कक्ष, राष्ट्रिसभाका अध्यक्षको कक्ष लगायतका संरचना बनाइने छ ।

 

अतिविशिष्ट व्यक्तिहरुका लागि राष्ट्रिय सभा भवनको उत्तरतिर ४ तल्लाको भवन निर्माण गरिने छ । सो भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको सभाकक्ष र उपाध्यक्षको कार्यकक्ष तथा बैठक हलको व्यवस्था गरिने छ ।

 

यसैगरी, संसद् भवनको बायाँतर्फ उत्तरकुनामा राजनीतिक दलका संसदीय दलको कार्यालयका लागि ५ तल्ले भवन बनाइने छ । भवनमा पार्टी कार्यालयका लागि चाहिने विभिन्न कक्षहरुका साथै बैठक कक्ष, शिशु स्याहार केन्द्र समेत रहनेछ ।

 

एकैपटक ७५० सवारीसाधन पार्किङ गर्न सकिने छुट्टै पार्किङ भवनको समेत व्यवस्था गरिने दवाडीले जानकारी दिए । सुरूमा अन्डरग्राउन्ड पार्किङको डिजाइन गरिए पनि सुरक्षाको कारण देखाउँदै त्यसलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी

मध्यभोटेकोशीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Next

मध्यभोटेकोशीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?