काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक आएको छ । सोमबार दोहोरो अंकले घटेको बजारमा आज ५६ अंकले बढोत्तरी आएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने बढोत्तरी आउन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले घटेर २ अर्ब ३८ करोडमा सीमित भएको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ । आज २२६ कम्पनीको २ अर्ब ३८ करोड ३२ लाख ५९९ हजार ८४७ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै ३.८८ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र हाइड्रोपावर समूह पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उच्च अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको करिब १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, रसुवागढी जलविद्युत् ९.२१, ग्रीन लाइफ ८.२६, रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी र आँखुखोला हाइड्रोपावरका सेयरधनीले पनि ७ प्रतिशतभन्दा धेरै कमाएका छन् । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त, सीईडीबी हाइड्रोपावर, सिनर्जी पावर र माउन्टेन हाइड्रोको सेयर मूल्य ६ प्रतिशभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज गोर्खा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८.८९ प्रतिशत गुमाएका छन् ।