काठमाडौं । व्यापार र मुलुकको शोधनान्तर घाटा बढेपछि नेपाल राष्ट्र बैंकले वस्तुहरूको आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले सोमबार राष्ट्र बैंकले ‘एकीकृत निर्देशन(२०७६’ मा संसोधन गर्दै विभिन्न विदेशी वस्तु आयातमा कडाइ गरेको हो ।
राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्नुअघि नै तोकिएका वस्तुमा ५० देखि १०० प्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यस व्यवस्था अनुसार अब व्यवसायीहरुले एलीखोल्दा अनिवार्य रुपमा ५० देखि १०० प्रतिशत नै नगद जम्मा गर्नुपर्नेछ ।
नयाँ नीतिअनुसार आयात गर्दा कत्ति पनि ऋण नपाइने, अर्थात् सबै पैसा व्यवसायी आफैंले जम्मा गर्नुपर्ने चिनी, चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा, भिनेगर, चुरोट, सूर्तिजन्य वस्तु लगायत हुन्।
बैंकबाट ऋण लिएर आयात गर्न नपाइने वस्तुमा परफ्युम, कस्मेटिक सामान, काठका वस्तु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आदि छन्।
यीसहित सुनचाँदी जस्ता बहुमूल्य वस्तु आयात गर्न पनि बैंकबाट ऋण लिन नपाइने भएको छ। राष्ट्र बैंकले सवारीसाधन आयातमा पनि ५० प्रतिशतमात्र बैंक ऋण लिन पाउने सुविधा दिएको छ।
राष्ट्रबैंकको यो निर्देशनसँगै माथि उल्लिखित वस्तुहरुको आयात गर्न आयातकर्ताले तोकिएको नगद मार्जिन राख्नुपर्नेछ । यसले आयात निरुत्साहित हुने केन्द्रीय बैंकका अधिकारीहरु दाबी गर्छन् ।
यसैगरी, शतप्रतिशत नगद मार्जिन राखेर प्रतितपत्र खोल्नुपर्ने र आयातकर्ताले भुक्तानी गर्नुपर्दा सोही मार्जिन निक्षेप प्रयोग हुने हुँदा उक्त भुक्तानी गर्दा बैंकहरुले टीआर लोन र अल्पकालीन कर्जा दिनुपर्ने बाध्यता हट्नेछ ।