काठमाडौं । बेनी–जोमसोम सडक खण्डका कुल ६५ प्रतिशत बढि भौतिक प्रगती भइसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख जगत प्रजापतीका अनुसार रुप्सेदेखि घाँसा खण्डमा ३ सय मिटरमा पहिरोका कारण खतरा भए पनि अन्य खण्डहरुमा ग्राभेलसम्मको सडक सञ्चालनमा रहेको छ ।
चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । आयोजना अन्तर्गत ७ वटा प्याकेजमा विभाजन गरी काम भइरहेको छ । ७ प्याकेज मध्ये ६ प्याकेजमा ठेक्का लागी केहीमा कालोपत्र भइरहेको छ भने केही ग्राभेलीङका चरणमा रहेका छन् । पुल निर्माणमा समेत अझै कुनै टुंगो लाग्न सकेको छैन ।
आयोजना अन्तर्गत बेनी–तातोपानी खण्डमा ग्राभेल भइसकेको छ । तातोपानी–रुप्सेसम्म कालोपत्रे भइसकेको छ । रुप्से–घाँसा खण्डमा ग्राभेल भइसकेको छ ।
घाँसा–मार्फा खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ । मार्फा–जोमसोमसम्म ग्रोभल भइसकेको छ । जोमसोम–मुक्तिनाथ खण्डमा कालोपत्रे पूरा भएको आयोजनाले जनाएको छ ।
रुप्से–घाँसा खण्डमा ३०० मिटरमा ३ ठाउँमा पहिरोको ठूलो खतरा भएकाले उक्त स्थानलाई जोखिम क्षेत्रमा राखिएको छ । सो खण्डमा बनाउनेपर्ने स्थाइ पुल निर्माणका लागि अझै कुनै काम सुरु गरिएको छैन । अस्थाइ पुल निर्माण गरिए पनि उक्त खण्डमा पहिरोको बढि जोखिम भएकाले स्थाई पुल निर्माण गर्ने कि नगर्ने विषयमा अझै छलफल भइरहेको प्रजापतीले बताए ।
‘रुप्से–घाँसा खण्डमा ट्रक, साना, टठूला गाडी गुडीरहेका छन्, तर, पहिरोको जोखिमका कारण स्थाई पुल बनाउने कि न बनाउने अझै छलफल भइरहेको छ,’ उनले भने ‘पुल निर्माणको छुट्टै ठेक्का भएकाले हामीले केहीगर्न मिल्दैन, ३ सय मिटरमा माथिबाट पहिरो गइराख्ने जोखिम छ ।’
उनका अनुसार भौगोलिक समस्याका कारण सडक निर्माण तथा पुल निर्माण चुनौती बढेको छ ।निर्माण व्यवसायीले चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्न नसके थप २ महिना म्याद थप्नुपर्ने उनको भनाइ छ । हाल सबै ठेक्कालाई चैत्र मसान्तभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ ।
आयोजनाको कुल निर्माण लागत ७ अर्ब रुपैयाँ बताइए पनि हालसम्म ४ अर्ब रुपैयाँ हाराहारी खर्च भइसकेको छ । आयोजनाले चालु आवभित्र ३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
बेनी–जोमसोम सडक खण्ड कुल ७६ किमी लम्बाइ रहेको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने पहिलो र दोस्रो खण्डमा धमाधम सडकको नाली बनाउने, ग्रेड मिलाउने, चौडा पार्ने र सब–बेस बिछ्याउने काम भइरहेको छ । पहिलो र दोस्रो खण्डमा भने डीबीएसडी प्रविधिको कालोपत्रे गरिने भएको छ ।