काठमाडौं । संघीय राजधानी काठमाडौंलाई नुवाकोटसँग जोड्ने सबैभन्दा छोटो दुरीको सामाखुसी–टोखा–छहरे सडक पुस महिनाभर बन्द हुने भएको छ ।
छरछर भीरमा सडक स्तरोन्नतिका क्रममा चट्टान काट्नु पर्ने भएकाले सोमबार (पुस २ गतेदेखि) पुस ३० गतेसम्म उक्त सडक बन्द हुने भएको हो ।
पुस २ गतेदेखि उक्त सडक बन्द गरी निर्माण कार्य अगाडि बढाइने बताइए पनि आजदेखि भने पूर्ण रुपमा सडक बन्द हुने सडक डिभिजन कार्यालय, नुवाकोटले जनाएको छ । यसअघि डिभिजनले गत चैत ५ गतेदेखि सडक बन्द गरी स्तरोन्नति अगाडि बढाउने सूचान जारी गरे प्राविधिक कारणले काम हुन सकेको थिएन ।
त्यसपछि बर्खाका कारण रोकिएको चट्टान काट्ने र सडक फराकिलो बनाउने काम अब अगाडि बढाउन लागिएको सडक डिभिजनले जनाएको छ । सो सडकलाई १० मिटर फराकिलो बनाउन लागिएको जनाइएको छ ।
पुसभर टोखा छहरे सडक बन्द हुने भएकाले सर्वसाधरणलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । चापाको बोट अल्छीढुंगा सुनखानी मावि हुँदै ढलानघरको वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।