बुद्ध एयरका जहाजमा बारम्बार समस्या आउनु लापरबाही कि संयोग ? बेखबर नियामक

"बेखबर नियामक"

काठमाडौं । गत असोज ११ मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ विमान ‘पाङग्रा नखुलेर’ विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौंमा अवतरण गराइएको थियो ।

 

पछि अनुसन्धानका क्रममा जहाजमा प्राविधिक समस्या नभेटिएको भन्दै नागरिक उड्ड्यन प्राधिकरणले सो उडानका क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यहरूलाई उडानमा अस्थायी प्रतिबन्ध लगायो ।२२ मंसिरमा भैरहवाबाट काठमाडौंका लागि उडान तय गरेको बुद्ध एअरको उडान नम्बर युफोर–८१० विमानको इन्जिनमा समस्या आयो । ७० जना यात्रु रहेको उक्त जहाजमा यात्रुहरूले चढ्न नमानेपछि अर्को विमानमार्फत यात्रुलाई काठमाडौं ल्याइएको थियो ।पुस १ गते चितवनको भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज उडान भरेको केहीबेरमै इन्जिनमा समस्या आएपछि पुनःभरतपुरमै अवतरण गराइएको थियो । नाइन एन एईई को उडान नम्बर ३६० मा प्राविधिक समस्या देखिएको भन्दै आपतकाली अवतरण गराइयोे ।

 

उक्त विमानमा चालकदलका सदस्य सहित २२ जना यात्रु रहेका थिए । अवतरणका क्रममा कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको थियो । यात्रु र चालक दलका सबै सकुशल रहेपनि उक्त उडान भने प्रभावित भयो ।यी केही प्रतिनिधी घटना मात्र हुन् । पछिल्लो समय बुद्ध एयरमार्फत उडान भर्ने यात्रुले ढुक्कसँग उडान गर्न नपाएको गुनासो गर्न थालेका छन् । कहिले प्राविधिक गडबढी त कहिले एयरलाइन्स व्यवस्थापनकै लापारबाहीका कारण यात्रुले सास्ती र मनोवैज्ञानिक त्रास समेत भोग्नु परेको छ ।

 

कहिले उडान तालिका अनुसार समयमै उडान नहुने त कहिले उडेको विमानमा आकाशमै बारम्बार समस्या देखिन थालेपछि यात्रुहरु हवाइ सेवाप्रति संशकिंत र त्रासित हुन थालेका छन् ।

 

आफ्ना जहाजमा पटकपटक एउटै प्रकृतिका समस्या दोहोरिरहे पनि बुद्ध एयरले भने त्यसमा ख्याल गरेको देखिँदैन । जहाजमा समस्या आएको समाचार बाहिरिने बित्तिकै विज्ञप्ति जारी गर्न हतारिले बुद्धले यात्रुको सुरक्षा र हवाई सेवाप्रतिको विश्वास बढाउनेतर्फ ध्यान गएको देखिँदैन । यद्यपि, बुद्ध एयरले भने आफूहरुले जहाज उडाउने बेला लापारबाही नगर्ने र सधैं यात्रुको सुरक्षा सतर्क र संवेदनशील रहेको बताउने गरेको छ ।

 

कहिलेकाहीँ प्राविधिक समस्या आउँदा पनि बदनामी हुनु परेको छ : बुद्ध एयर

 

बारम्बार जहाजमा समस्या दोहोरिरहे पनि बुद्ध एयर भने त्यसलाई भैपरी आउने प्राविधिक समस्याको रुपमा लिन्छ । ‘हामीले हरेक पटक जहाज उडान गर्नुअघि, प्राधिकरणले तोकेका सुरक्षाका मापदण्ड पूरा गर्छौं, प्राविधिकहरुले सेफ्टी चेक गर्नुहुन्छ,’ बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण भन्छन, ‘तर, कहिलेकाहीँ प्राविधिक समस्या आउँदा पनि बुद्धले लापारबाही नै गरेको भन्ने जस्तो आरोप लाग्ने गरेको छ । प्राविधिक समस्या कति बेला आउँछ कसलाई थाहा हुन्छ र ?’

 

कुनै पनि उडानमा समस्या आउन नदिन प्राविधिक टोलीसहित कर्मचारीहरू सधैं खटिरहेको उनी बताउँछन् । ‘कहिलेकाहीँ फल इन्डीकेटरले पनि समस्या देखियो, हरेक उडानमा समस्या आउन नदिन हामी खटिरहेका छौँ,’ उनले भने, ‘हमीसँग यस्ता पूर्वाधार छन् जुन् दक्षिण एशियामा कमैसँग छन्, अन्य इन्जिनहरू र ह्याङगर समेत जगेडा छन ।’

 

बुद्ध एयर यात्रुको सुरक्षका लागि सबैभन्दा धेरै जिम्मेवारी र प्रतिबद्ध एयरलाइन्स रहेको उनको दाबी छ । उडानमा समस्या नआओस् भन्नका लागि तालिम तथा अन्य व्यवस्थापनमा सबैभन्दा धेरै खर्च बुद्ध एयरले नै गर्ने गरेको उनको भनाइ छ । बुद्ध जहाजले कुनै यस्ता समस्याहरू आएमा प्रष्टसँग सम्बन्धीत निकायलाई जानकारी दिइरहेको उनले बताए ।

 

बेखबर नियामक

 

नेपालमा सार्वजनिक यातायातको दुःख चर्चा गरी साध्यै छैन् । सार्वजनिक सवारी प्रयोग गर्नेले चर्को भाडा, थोत्रा र जोखिमपूर्ण सवारीसाधन, कोच्चिएर बस्नुपर्ने बाध्यता, घण्टौं जाममा बस्नुपर्ने लगायत समस्या भोग्दै आएका छन् । सार्वजनिक सवारीसाधनको तुलनामा सहज, छरितो, छिटो, भरपर्दो यातायात साधनको रुपमा लिइन्छ हवाइ सेवा ।

 

तर, पछिल्लो समय दैनिक जसो आउने समाचारले भने हवाई यात्रुलाई नै त्रसित बनाउने गरेको छ । निकै संवेदनशील र व्यवस्थित मानिने हवाई जहाजहरूको भद्रगोल पनि कम छैन् । म्याद गुज्रेर पुराना भएका र इन्जिन बिग्रीएका जहाजको प्रयोगले नागरिकहरूले हवाई यात्रामा समेत सुरक्षित महसुस गर्नसकेका छैनन् । झुर व्यवस्थापन, सेवा प्रदायक कम्पनीको लापारबाही र गैरजिम्मेवार सरकारी निकायका कारण यस्ता साधनहरूको प्रयोगले यात्रालाई नै असहज र अव्यवस्थित बनाएको छ ।

 

हवाई क्षेत्रमा हुने विकृति र लापारबाही गर्नेलाई काराबाही गर्ने जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण भने एयरलाइन्सहरुले बारम्बार लापारबाही गर्दा पनि बेखबर जस्तै छ । पछिल्लो समय हवाई क्षेत्रमा दैनिकजसो यात्रुले दुःख पाएको र जहाजहरुमा समस्या आएको बाहिरिए पनि प्राधिकरण भने मूकदर्शक बनेको देखिन्छ । न त समयमै उडान नगर्ने, यात्रुलाई सास्ती दिने एयरलाइन्सलाई कारबाही गरेको छ न त जहाजमा पटकपटक एउटै समस्या दोहोर्याउने जहाजको उडानमा प्रतिबन्ध लगाएको छ । कहिलेकाहीँ कर्मकाण्डी स्पष्टिकरण सोध्ने बाहेक अन्य कडा कदम चालेको देखिँदैन ।

 

यता, प्राधिकरणका प्रवक्ता देवलाल कर्ण भने प्राधिकरणले कुनै पनि एयरलाइन्सले त्रुटी नगरोस् भनेर सुक्ष्म निगरानी गरिरहेको बताउँछन् । ‘हामीले सबै यएरलाइन्सहरूलाई कुनै पनि कुरा लुकाउन दिइरहेका छैनौँ,’ उनले चाण्क्य पोष्टसँग भने, ‘कहिलेकाहीँ प्राविधिक समस्या पनि आउँछ, जत्ति पनि एयरलाइन्सहरूसँग त्रुटी छ भने त्यो रिपोर्ट गर्नुहोस्, रिपोर्ट नगरे कारबाही गर्छौ भनेका छौँ ।’ एयरलाइन्सहरूको प्राविधिक टोलीले सबै कुरा ठीक छ/छैन भन्ने जाँचेर मात्रै उडान गर्ने उनले बताए ।

 

बिजुली खपत बढ्दै, उद्योगले पाउन थालेपछि माग ३०० मेगावाट बढ्यो Read Previous

बिजुली खपत बढ्दै, उद्योगले पाउन थालेपछि माग ३०० मेगावाट बढ्यो

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा मोहनपुरुष ढकाल निर्वाचित Read Next

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा मोहनपुरुष ढकाल निर्वाचित