काठमाडौं । कुखुराको दाना बनाउने कच्चा पदार्थको मूल्य बढेसँगै कृषकहरुले चल्ला उत्पादन रोक्ने भएका छन् । दानाको मूल्य अस्वभाविक रुपमा बढेकाले लागतै नउठने र ठूलो घाटा बेहोर्नु पर्ने भन्दै किसानले चल्ला उत्पादन रोक्ने तयारी गरेका हुन् ।
ह्याचरी संघका अध्यक्ष टीकाराम सापकोटा अहिले पनि किसानले चल्लामा घाटा खाँदै आएको बताउँछन् । ‘मागभन्दा बढी उत्पादन हुँदा अहिले पनि किसाने चल्लामा घाटा बेहोर्नु परिरहेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘अहिले फेरि दानाको कच्चा पदार्थको मूल्य ६० प्रतिशतसम्म बढेको छ । यसले चल्ला उत्पादन लागत बढ्ने र किसानले झनै घाटा बेहोर्नुपर्ने देखिन्छ । घाटामा व्यवसाय गर्नुभन्दा किसानले चल्लाको उत्पादन नै रोक्ने तयारी गरेको सुनिन्छ ।’
किसानलाई ठूलो हाल उत्पादन बढेका कारण कुखुराको चल्लाको भने जति मूल्य पाउन नसकेको बताउँछन् । पछिल्लो समय कुखुरा चल्ला मागभन्दा बढी उत्पादन भइरहेको उनको भनाइ छ । ‘दाना जति मूल्य बढे पनि स्टक राख्न मिल्छ, चल्ला स्टक राख्न मिल्दैन, उत्पादन भएपछि बजार पुर्याउनै पर्छ नत्र घाटा हुन्छ,’ सापकोटाले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार हाल हप्तामा ४० लाख गोटा कुखुरा चल्ला उत्पादन भइरहेको छ । हप्तामा ३५ लाख कुखुराको माग रहेको छ । हाल ३० रुपैयाँ गोटामा कुखुराका चल्ला विक्री भइरहेको उनले जानकारी दिए । प्रति कुखुराको चल्ला उत्पादन खर्च ६० रुपैयाँ रहेको छ । चल्ला व्यवसायीले उत्पादनको आधा मूल्यमा कुखुराको चल्ला विक्री गर्नुपरेको उनको गुनासो छ ।
कुखुराका चल्ला किन्ने किसान घट्दा उत्पादन खपत नभई सस्तो मूल्यमा बेच्नु पर्ने बाध्यकारी अवस्था सृजना भएको छ । ‘६० रुपैयाँमा उत्पादन गरेको चल्ला ३० रुपैयाँमा बेच्नु परेको छ, सबै घाटामा छन्, अब झन दानाको मूल्य बढेको छ, अझै कति घाटा बेहोर्नु पर्ने हो थाहा छैन,’ सापकोटाले भने । हाल ५ लाख किसान कुखुरा उत्पादनमा आबद्ध छन् ।
दानाको मूल्य वृद्धि र आधा घाटाका कारण साना किसानहरु यस पेसाबाट विस्थापित हुनुपर्ने अवस्था सृजना भएको उनले बताए । थोरै चल्ला उत्पादन गर्ने किसानहरु महँगाइमा धेरै टिक्न सक्ने छैनन् । मासु र अण्डा उत्पादन लागतमा दानाको ६० प्रतिशतको हाराहारी योगदान रहन्छ ।
उनले दानाको मूल्य बढ्दा स्वभाविक रुपमा कुखुराको मासुको मूल्य समेत बढ्ने गरेको बताए । चल्ला उत्पादन रोकिएर अभाव हुने स्थिति आएमा स्वतः मासुको मूल्य वृद्धि हुने उनको भनाइ छ ।
कच्चा पदार्थको मूल्य बढ्दा दाना महँगियो
दाना बनाउन आवश्यक पर्ने फिड सप्लिमेन्टहरुमा २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म वृद्धि भएको छ । मकै करिब ६० प्रतिशत खपत हुन्छ भने भटमासको पिनाको खपत दाना उत्पादनमा लगभग २५–३२ प्रतिशत हुन जान्छ त्यसैले यसको प्रत्यक्ष प्रभाव दानाको मूल्यमा पर्दछ । वर्तमान बजारमा तयारी दानाको उत्पादन लागत मकै र भटमासको पिनाको मूल्य वृद्धिबाट बढी प्रेरित देखिन्छ ।
भटमासको पिनाको कच्चा पदार्थ आयात गर्दा श्रावन महिनामा ६० रुपैयाँ प्रतिकेजी रहेको थियो । हाल बढेर वीरगञ्ज भन्सारमा आइपुग्दा १०० रुपैयाँ पुगेको छ । जसको मूल्य बजारमा १२० रुपैयाँ प्रतिकेजी पुगेको छ ।मकै २५ रुपैयाँमा आयात हुने गरेकोमा हाल वीरगञ्जसम्म आइपुग्दा ३९ रुपैयाँ पर्न गएको छ । बजारमा मकै ८० रुपैयाँ प्रतिकेजीमा पुगेको छ ।
यसरी दानाको मूल्य बढ्नुमा कच्चा पदार्थको मूल्य बाहिरबाटै बढेर आउनु मूल्य कारण भए पनि भन्सारकर लगायतका विभिन्न कारणले यसलाई बढावा दिँदै आएको छ ।दानामा मूल्य घटाउनका लागि दाना व्यवसायी संघले भटमासको पिनामा लाग्दै आएको ९ प्रतिशत कर घटाएर पुरानै दर १.६ प्रतिशतमा पुर्याउन माग गरेका छन् ।
मकैमा लाग्दै आएको कर ५ प्रतिशतबाट घटाइ पुरानै दर १.६ प्रतिशत कायम हुनुपर्ने माग गरिएको छ । औषधीमा लाग्दै आएको कर १० प्रतिशतबाट घटाएर पुरानै दर १ प्रतिशत कायम हुनुपर्ने माग गरिएको छ ।
यस्तै विगतको समयमा बंगलादेशबाट सहज रुपमा भटमास पिना आयात भइरहेकोमा हाल आएर भारतमा समेत निर्यात हुन थालेपछि बंगलादेश सरकारले निर्यातमा रोक लगाएको छ ।