काठमाडौं । चिसो बढ्न थालेपछि बजारमा घरायसी प्रयोगका इलेक्ट्रिक सामग्रीको विक्री बढ्न थालेको छ । पानी तताउन, घर तथा कार्यालयका कोठा न्यानो पार्न विद्युतीय सामग्रीको प्रयोग गर्नेहरू बढ्दा यसको व्यापार समेत वृद्धि भएको हो ।
हिटर, पानी तताउने वाटर डिस्पेन्सर, गिजर, हट वाटरब्याग, इलेक्ट्रिक केट्ली, इलेक्ट्रिक धारा लगायतको विक्री बढेको हो ।
मंसिर दोस्रो साता यता विद्युतीय सामग्रीको व्यापार वृद्धि भएको महाबौद्धस्थित इलेक्ट्रिकल सामान व्यापारी हरिचन्द्र कार्की बताउँछन् । ‘उपत्यकामा चिसो बढ्ने क्रम जारी छ, मानिसहरु तातो बनाउने सामान किन्न आउन थालेका छन्,’ उनले चाणक्य पोष्टसँग भने, ‘अरु बेला टीभी, फ्रीज जीता सामानको व्यापार बढी हुन्थ्यो अहिले हिटर, पानी तताउने मेसिनहरुको व्यापार धेरै । सामान्य बेलाकोभन्दा अहिले यस्ता सामानको व्यापार दोब्बरले बढेको छ ।
अर्का व्यपारी आयन भट्टको भनाइ पनि उस्तै छ । ‘अहिले बजारमा विशेषगरी जाडोमा प्रयोग गरिने विद्युतीय सामाग्रीको व्यापार बढेको छ,पछिल्लो मैलै इन्डक्सन चुलो , हिटर जस्ता सामान दैनिक १५ वटा सम्म विक्री गरेको छु, अन्य समयमा दिनमा एक दुईटा मात्र विक्री हुन्थ्यो,’ उनले भने ।
बजारमा पानी तताउने जग र केट्लीको विक्री सबैभन्दा धेरै हुने गरेको उनी बताउँछन् । बजारमा जग ५०० देखि १५०० रुपैयाँसम्म, किट्ली १२०० देखि २५०० सम्म र हटब्याग कम्पनीअनुसार प्रतिपिस २५० रुपैयाँदेखि १ हजार मूल्यसम्म होलसेल मूल्यमा पाइन्छ ।
त्यस्तै, हिटर ४५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका पाइन्छ । त्यसैगरी ४ हजारदेखी १९ हजार सम्मका विभिन्न ब्राण्डका ग्यास हिटर पाइन्छन् ।
बजारमा घरायसी प्रयोगका इलेक्ट्रिकल सामान ब्राण्डेड र नन् ब्राण्डेड गरेर दुई थरीका छन् । ब्राण्डेड केही महँगा छन् । तुलनात्मक रुपमा नन् ब्राण्डेड सामान केही सस्ता छन् । तर महङ्गो सामान टिकाउ हुन्छ भन्ने जनविश्वास पनि कतिपयको रहेको छ । तर व्यापारीहरु भने ब्राण्डेड र नन् ब्राण्डेड खासै सफर नहुने बताउँछन् ।
‘कोही मान्छे ब्राण्डकोपछि लाग्छन्, तर ब्राण्ड र मूल्य धेरै हुँदा मात्र सामान राम्रो हुन्छ भन्ने होइन, प्राय विद्युतीय सामानहरु जतन गरे टिकाउ नै हुन्छन्,’ व्यापारी कार्की भन्छन् ।
तुलानात्मक रुपमा ननब्रान्डेड सामाननै बढी विक्री हुने गरेको व्यापारी हरु बताउँछन् । महंगो विद्युतीय सामान किन्न चाहानेले विशेषगरी सीजी, बाल्ट्रा,यशुदा, एलजी लगायत ब्राण्डको खोजी धेरै हुने गरेको व्यापारीहरुको भनाइ छ । व्यापार बढेसँगै विद्युतीय सामग्रीको आयात समेत बढेको छ ।