काठमाडौं । देशको समग्र अर्थतन्त्र झन्झन खस्कँदै गएको छ । चालु आर्थिक वर्ष सुरु भएयता लगातार ओरालो लागेको अर्थतन्त्र महिनैपिच्छे झनै खराब हुँदै गएको हो ।
कारोनाले शिथिल अर्थतन्त्र सुधारोन्मुख हुने अपेक्षा गरिए पनि अर्थतन्त्रका अधिकांश सूचक भने नकारात्मक रहेको सरकारी तथ्यांकले नै देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ४ महिनाको (कात्तिक मसान्तसम्म) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अर्थतन्त्रका मुख्य मुख्य सूचक खस्कँदो अवस्था रहेका हुन् ।
राष्ट्र बैंकका अनुसार व्यापार घाटा ह्वात्तै बढेको छ भने शोधान्तर बचत, विदेशी मुद्रा संचिति अस्वभाविक रुपले घट्दो क्रममा रहेको छ । त्यस्तै, रेमिट्यान्स आप्रवाह पनि लगातार घट्दो क्रममा रहेको छ भने मूल्य वृद्धि बढ्दो क्रममा रहेको छ । वैदेशिक अनुदान प्राप्त शून्य रहेको छ । यद्यपि, समीक्षा अवधिमा निर्यात व्यापारभने दोब्बरले बढेको छ ।
कस्तो छ अर्थतन्त्रको अवस्था ?
व्यापार घाटा ५७ प्रतिशतले बढ्यो
चालू वर्षको पहिलो तीन महिनामै व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई ५६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । चारमहिनाको अवधिमा कुल ६५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६१.६ प्रतिशत बढी हो ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्यात १०९ प्रतिशतले बढ्यो
कात्तिकसम्म वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया,अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात वृद्धि भएको छ ।
रेमिट्यान्स साढे ७ प्रतिशतले घट्यो
समीक्षा अवधिमा विप्रेषण आप्रवाह झन्डै साढे ७ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड कायम भएकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३८२पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।
चालु खाता सवा २ खर्ब घाटामा, एक महिनामै ७१ अर्ब बढ्यो
समीक्षा अवधिमा चालु खाता २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँले घाटामा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
चालु खाता घाटा महिना दिनमै साढे ७१ अर्ब रुपैयाँले बढेको छ। असोजमा चालु खाता २ खर्ब ५१ अर्ब ७० करोड घाटामा रहेको थियो ।
शोधनान्तर घाटा अहिलेसम्मकै उच्च
शोधनान्तर घाटा एक महिनामै दोब्बरले बढेको छ । असोजमा ७६ अर्ब १४ करोडले घाटामा रहेको शोधान्तर स्थिति कात्तिकमा आइपुग्दा १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च घाटा हो।
जबकी गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ११० अर्ब ६५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको छ । घट्दो रेमिटेन्स, उच्च व्यापार घाटाका कारण शोधनान्तर घाटा अहिलेसम्मकै उच्च भएको हो ।
विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले घट्यो
२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा १२४४ अर्ब ८५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११ प्रतिशतले कमी आई ११०७ अर्ब ४७ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११ प्रतिशतले कमी आई १३७ अर्ब ३८ करोड कायम भएको छ । २०७८ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६.१ प्रतिशत रहेको छ ।
वैदेशिक अनुदान शून्य
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा वैदेशिक अनुदान शून्य देखिएको छ । बजेट वक्तव्यमा सरकारले वैदेशिक अनुदानबाट ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकामा साउनदेखि असोज मसान्तसम्म ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको प्रतिवद्धतामात्र आएको छ । तर, अनुदान प्राप्ति भने शून्य छ ।
अनुदान दिने मुलुकको अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव परेका कारण अनुदान प्राप्ति शून्य भएको हुनसक्ने जानकारहरु बताउँछन् ।
महँगी आकाशिँदै
२०७८ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको छ ।
२०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेल, यातायात, माछा तथा मासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २९.११ प्रतिशत, १२.३६ प्रतिशत, १०.९१ प्रतिशत, १०.७० प्रतिशत, १०.३० प्रतिशत र १०.२४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ३.३९ प्रतिशत, ४.६९ प्रतिशत, ३.६४ प्रतिशत र ४.३२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।