झापामा नेपालकै ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास, पब्लिकलाई ३० प्रतिशत सेयर

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा मुलुककै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास भएको छ ।

 

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले १० मेगावाट विद्युत् उत्पादन गर्ने झापा इनर्जी लिमिटेडको वैदिक विधिपूर्वक सोमबार शिलान्यास गरेका हुन् ।

 

झापा निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा तीन वर्षअघि यो सौर्य ऊर्जा परियोजना सुरु भएको थियो । रु ८० करोडको कूल लागत रहने यस परियोजनामा ३० प्रतिशत पब्लिक सेयर रहने र बाँकी ७० प्रतिशत लगानी माछापुच्छ्रे बैंकले गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्षसमेत रहेका सांसद साँवाले बताए।

 

नेपाल सरकारबाट विद्युत् उत्पादन अनुमति र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् विक्री सम्बन्धी पीपीए सम्झौता गरिसकेको झापा इनर्जीले सोलार प्यानल राख्नका लागि शिवसताक्षी नगरपालिका–४ बोलोचोकमा २१ बिगाहा ७ कठ्ठा जग्गा खरिद गरिसकेको छ । सो जग्गामध्ये १८ बिगाहा क्षेत्रफलमा सोलार प्यानल राखिने र अरु स्थानमा पर्यटकीय एवं कृषि परियोजना सञ्चालन गरिने कम्पनीका सञ्चालक सुभाष भट्टराईले जानकारी दिए।

 

उनका अनुसार आगामी एक वर्षभित्र विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड)मा जोडिसक्ने लक्ष्य रहेको छ । कम्पनीले नेपाल सरकारलाई विद्युत् विक्री गर्ने भएको हुँदा प्राधिकरणसँग पीपीए सम्झौता गरेको हो ।

 

नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पुर्याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताए । विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा समेत यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए ।

 

पूर्व–पश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजना स्थल रहेको छ । त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिक छ । जहाँ कम्पनीबाट उत्पादित सौर्य विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

३४ करोडमा बन्यो प्रधानमन्त्रीको निजी आवास, बंकरसहित यस्ता छन् सुविधा Read Previous

३४ करोडमा बन्यो प्रधानमन्त्रीको निजी आवास, बंकरसहित यस्ता छन् सुविधा

एउटै खोलामा ४ जलविद्युत् आयोजना निर्माण सुरू, कुन-कुन कम्पनीले बनाउँदै छन् ? Read Next

एउटै खोलामा ४ जलविद्युत् आयोजना निर्माण सुरू, कुन-कुन कम्पनीले बनाउँदै छन् ?