३४ करोडमा बन्यो प्रधानमन्त्रीको निजी आवास, बंकरसहित यस्ता छन् सुविधा

काठमाडौं । प्रधानमन्त्रीका लागि अत्याधुनिक सुविधा सम्पन्न निजी आवास निर्माण सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीका लागि बंकरसहितको  भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न गरेको हो ।

 

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठ अनुसार प्रधानमन्त्री निजी निवास निर्माण अन्तर्गत प्राइभेट ब्लक (आवास भवन) निर्माण सम्पन्न भएको हो ।

 

प्रधानमन्त्री निजी निवास अन्तर्गत प्राइभेट र पब्लिक ब्लक (सार्वजनिक ब्लक) निर्माण गरिनेमा हालसम्म प्रइभेट ब्लकको काम सम्पन्न भएको उनले बताए । अहिले पब्लिक ब्लकको निर्माण भइरहेको छ ।

 

प्रधानमन्त्रीको प्राइभेट ब्लक १३ हजार ५०० वर्गफिट क्षेत्रफलमा बनाइएको छ भने पब्लिक ब्लक २७,००० वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको छ ।

 

श्रेष्ठका अनुसार प्राइभेट ब्लक र पब्लिक ब्लक दुवै गरी आयोजना निर्माणको कुल लागत ३३ करोड ८० लाख ८३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

 

कस्तो छ भवन ?

 

प्रधानमन्त्री निजी आवास २२ कोठाको निर्माण भएको छ । तीन तले प्राइभेट ब्लकको पहिलो तलामा भान्सा, भोजनकक्ष र लबी बनाइएको छ । दोस्रो तलामा शयनकक्षहरू तथा बैठककोठा, प्रधानमन्त्रीका सुरक्षाकर्मीका लागि पनि शयनकक्ष बनाइएको छ । निर्देशक श्रेष्ठका अनुसार माथिल्लो तलामा दुईवटा पाहुनाकोठा, एउटा शयनकक्ष, एउटा लबी, भोजनकक्ष, पूजाकोठा, हल तथा बरन्डाहरू रहेका छन् ।

 

उक्त भवन नेपाली पूरानो शैली झल्किने गरी निर्माण भएको कार्यालयले जनाएको छ । भवनमा काठका बुट्टेदार खम्बा तथा आँखीझ्यालहरू छन् भने भुइँमा र बरन्डामा नेवारी इँटा डाचिअपा प्रयोग गरिएको छ ।

 

त्यस्तै, २७,००० वर्गमिटर क्षेत्रफलमा बनिरहेको पब्लिक ब्लक पनि तीन तलाकै हुनेछ । सो भवनमा प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी पाहुनाका लागि भेटघाट कक्ष बनाइएको छ भने मन्त्रिपरिषद् बैठकका लागि छुट्टै कोठा बनाइने छ । त्यस्तै, पत्रकारहरुका लागि मिडियाकक्ष पनि निर्माण गरिने छ ।

 

निजी आवास भवन निर्माण पूरा भएसँगै अब वास्तु पूजा सकेर प्रधानमन्त्री शेरबहादुर देउवा उक्त भवनमा सर्ने जनाइएको छ ।

 

अब कति काम बाँकी छ ?

 

आयोजना अन्तर्गत हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ भने वित्तीयतर्फ ६४ प्रतिशत प्रगति भएको आयोजनाकी निशा पाण्डेले जानकारी दिइन् ।

 

सिभिल स्ट्रक्चर निर्माणको काम शतप्रतिशत पूरा भएको छ । कोर्टयार्ड मा ट्रस इष्टेसन वर्क सम्पन्न भइ रुफटाइल, वाटरप्रुफ मेम्ब्रेनको काम सम्पन्न भएको छ । हाल प्रधनमन्त्री निजी निवास निर्माण मात्र सम्पन्न भएको हो । थप सार्वजनिक भवन निर्माण पूरा हुन बाँकी रहेको छ । चाँडै उक्त भवन समेत पूरा गरी हस्तान्तरण हुने विभागले जनाएको छ ।

 

दाची ब्रीक वर्कको काम ८० प्रतिशत पूरा भएको छ । अझै यस अन्तर्गत २० प्रतिशत काम पूरा गर्न बाँकी रहेको छ । एचभीएसीको ७५ प्रतिशत कार्य सम्पन्न भएको छ । यसको २५ प्रतिशत काम अझै पूरा हुन बाँकी रहेको देखिन्छ । विद्युतीय काम, पाइप र जडानका काम हालसम्म ५०÷५० प्रतिशत सम्पन्न भएको छ । उक्त कार्यको ५० प्रतिशत काम पूरा हुन बाँकी नै रहेको छ ।

 

पायर पाइटिङको काम ९० प्रतिशत पूरा भएको छ । फ्लोरिङको काम समेत २० प्रतिशत बाँकी रहेको छ । आइपीएस फ्लोरिङको काम ९० प्रतिशत बाँकी रहेको छ । काठको काम ९० प्रतिशत भए पनि १० प्रतिशत बाँकी रहेको विभागले जनाएको छ ।

एनएमबीको भिडीयो केवाइसीबाट खाता खोलेर कारोबार गर्दा २५०० फाइदा हुने Read Previous

एनएमबीको भिडीयो केवाइसीबाट खाता खोलेर कारोबार गर्दा २५०० फाइदा हुने

झापामा नेपालकै ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास, पब्लिकलाई ३० प्रतिशत सेयर Read Next

झापामा नेपालकै ठूलो सौर्य ऊर्जा परियोजनाको शिलान्यास, पब्लिकलाई ३० प्रतिशत सेयर