राष्ट्रिय गौरवका ६ सडक : कुनै कछुवाको तालमा, कुनै धमाधम काम हुँदै, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्न सक्ने रणनीतिक महत्वका सडक आयोजनाको प्रगति सन्तोषजनक हुन सकेको छैन ।

 

राष्ट्रिय गौरवका आधा दर्जन बढी सडक आयोजना निर्माणधीन अवस्थामा छन् । तर, ती आयोजनाहरुको वित्तीय र भौतिक प्रगति दयनीय रहेको छ ।यद्यपि, काम भने निरन्तर भइरहेको छ ।

 

हाल राष्ट्रिय गौरवका आयोजना अन्तर्गत हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग (मध्यपहाडी), उत्तर दक्षिण लोकमार्ग (कोशी करिडोर), उत्तर दक्षिण (कालिगण्डकी करिडोर), उत्तर दक्षिण (कर्णाली करिडोर), काठमाडौं-तराई द्रुतमार्ग निर्माणका क्रममा छन् ।

 

राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निर्माण सुरू भएका सडके दशक बित्दा समेत सम्पन्न हुन सकेका छैनन् । हाल अधिकांश सडक आयोजनाको काम सुस्त गतिका भइरहेको छ भने अझै कहिले सम्पन्न हुन्छ त्यसको टुंगो समेत छैन ।

 

बजेट अभाव, ठेकेदारको लापारबाही, मुआब्जा विवाद, रुख कटान अनुमति नपाउनु, भौगोलिक कठिनाइ, कोराना लगायत कारणले समयमै सम्पन्न हुन नसकेका हुन् ।

 

कस्तो छ राष्ट्रिय गौरवका सडक आयोजनको अवस्था ?

 

काठमाडौं तराई/मधेस द्रुर्त मार्ग

 

चालु आर्थिक वर्षभित्र राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको सबै ठेक्का लगाइने भएको छ । आयोजनालाई तीव्र गतिमा अघि बढाइ तोकिएकै समयमै सक्ने लक्ष्यका साथ बाँकी रहेका सडक तथा पुल निर्माणको ठेक्का लगाइने भएको हो ।

नेपाली सेनाले निर्माण गरिरहेको ७२ किलोमिटर लामो फास्ट ट्रयाकमा ३ वटा सुरूङमार्ग ६.४१ किलोमिटर, ८७ वटा पुल १०.५९ किलोमिटर र ५५.५ किलोमिटर सडकखण्ड निर्माण गर्नुपर्ने हुन्छ । सोमध्ये सुरूङमार्ग, केही पुलको ठेक्का लागे पनि बाँकी पुल र सडक निर्माण (४५ किमी बढी ट्रयाक खोलिसकिए अवस्था)को ठेक्का यसैवर्ष भित्र लगाइने नेपाली सेनाले जनाएको छ ।

 

आयोजनालाई हाल ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । सोमध्ये ५ वटा प्याकेजका लागि ठेक्का आह्वान भइसकेको छ भने बाँकी ६ वटा प्याकेजका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको सेनका प्रवक्ता सन्तोष बल्लव पौडेलले जानकारी दिए ।

 

उनका अनुसार नेपाली सेनाले हालसम्म सुरूङमार्ग बनाउन २ वटा प्याकेजको ठेक्का व्यवस्थापन गरिसकेको छ । अब लेन डाँडादेखि खोकनासम्मका लागि करिब ४० किलोमिटर सडक र पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको सेनाले जनाएको छ ।

 

पुष्पलाल (मध्यपहाडी राजमार्ग) लोकमार्ग

 

आव २०६४/६५ देखि सुरू भएको पुष्पलाल राजमार्गको लम्बाइ १ हजार ८७९ किलोमिटर रहेको छ । पूर्वको पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म डबल लेन कालोपत्र सडक तथा पुल निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

 

आयोजना अन्तर्गत हालसम्म १ हजार १०७ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ । आयोजना अन्तर्गत सबै ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ । ७०० किलोमिटर सडकमा अपग्रेडीङको काम भइरहेको छ ।

 

आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो । संशोधित लागत भने तीन गुणा बढेको छ । संशोधित लागत अनुमान एक खर्ब १ अर्ब ५० करोड गरिएको छ ।

 

चालु आर्थिक वर्षको पहिलो चैमासिक (साउन–असोज) मा आयोजना अन्तर्गत १४.२ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्षको पहिलो चैमासिकमा कुल २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको थियो । चालु आर्थिक वर्षमा लक्ष्यको ५७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

 

वित्तीयतर्फ चालु आवमा ४३ प्रतिशत प्रगति भएको छ । चालु आवमा ५० करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ । चालु आवका लागि आयोजनामा १ अर्ब १५ करोड रुपैयाँ खर्च गर्ने गरी विनियोजन गरिएको छ ।

 

चालु आवभित्र आयोजना अन्तर्गत ३४० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ । चालु आवमा २४ वटा पुल निर्माण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ। चालु आवको पहिलो त्रैमासिकमा २ वटा पुल सम्पन्न गर्ने लक्ष्य भए पनि उक्त कार्य सम्पन्न भएको छैन ।

हुलाकी राजमार्ग

 

आर्थिक वर्ष २०६६/६७ देखि सुरू भएको हुलाकी राजमार्ग आयोजना अन्तर्गत हालसम्म ७६३ किलोमिटर सडक कालोपत्र भएको छ । कुल १ हजार ७९२ किलोमिटर सडक लम्बाई रहेको उक्त सडक खण्डमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

 

चालु आवको पहिलो त्रैमासिकमा आयोजनामा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो । आयोजनामा चालु आवको त्रैमासिकमा शतप्रतिशत खर्च भएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको पहिलो त्रैमासिकका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त आयोजना अन्तर्गत चालु आवको त्रैमासिकमा ४ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेपनि हालसम्म कुनै पुल निर्माण सम्पन्न भएको छैन ।

 

आयोजनाका लागि प्रारम्भिक लागत ४७ अर्ब २२ करोड रुपैयाँ अनुमान गरिएकोमा संशोधित लागत अनुमान करिब १८ अर्ब रुपैयाँ बढेर ६५ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

 

उत्तर-दक्षिण लोकमार्ग (कोशी कोरिडोर)

 

आव २०६५/६६ बाट सुरू भएको कोशी करिडोर उत्तर–दक्षिण आयोजना कुल १६२ किलोमिटर लामो रेको छ । १४८ किलोमिटर ट्रयाक खुलेको छ । यसमा कालोपत्र भएकाले हाल सुरू गरिएको छ । यस आयोजना अन्तर्गत ४ वटा पुल सम्पन्न भएको छ । यो आयोजनामा ठेक्का लाग्न नसक्दा भने जस्तो काम हुन सकेको छैन । आयोजना अन्तर्गत चालु आवमा एउटा पुल निर्माण गर्ने लक्ष्य रहेको छ । यसमा केही प्रगति हुन सकेको छैन ।

विभागका सूचना अधिकारी गुरुप्रसाद अधिकारीले भौगोलिक अवस्था र सिजन हेरेर कम लक्ष्य राखिएको बताए । ‘यो आयोजना निकै जटिल छ त्यसैले कम लक्ष्य राखिएको हो,’ अधिकारीले चाणक्य पोष्टसँग भने । उनले चालु आवमा आयोजना अन्तर्गत चालु आवको त्रैमासिकलाई सडकको काम नरहेको बताए ।

 

यो आयोजनामा चालु आवभित्र १० किलोमिटर ग्राभेल गर्ने र ७ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिएको छ । चालु आवमा यस आयोजना अन्तर्गत ४ वटा पुल निर्माण गर्ने लक्ष्य रहेको छ । आयोजनाको च्याम्ताङदेखि किमाथानसम्म सेनाले ट्रयाक खोल्ने काम गरिरहेको छ । सेनाले ट्रयाक खोली हस्तान्तरणपछि सडक विभागले कालोपत्र गर्ने लक्ष्य रहेको छ । यस आयोजनामा अझै पूरै ठेक्का लागि सकेको छैन ।

 

१६ अर्ब २० करोड लागत अनुमान गरिएको यो आयोजनाको लागि हालसम्म ११ अर्ब २९ करोड रुपैयाँ खर्च भइसकेको छ । ७ वर्षको अवधिको भौतिक प्रगति १४८ किलोमिटरको ट्याक खुलाउने काम सकिएको छ ।

 

उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी कोरिडोर)

 

आव २०६६/६७ देखि निर्माण सुरू ४३१ किलोमिटर लामो यस सडक हालसम्म ११८ किलोमिटर मात्रै ग्राभेल गरिएको छ । रामदीदेखि गैडाकोटसम्म १३२ किलोमिटर मध्ये ५५ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । यो आयोजना अर्को आवभित्र सकिने अधिकारीले बताए ।

 

आयोजना अन्तर्गत २८ प्रतिशत वित्तीय प्रगति भएको २९ प्रतिशत भौतिक प्रगति भएको छ । चालु आर्थिक वर्षभित्र यस आयोजना अन्तर्गत १ किलोमिटर कालोपत्र गर्ने र १०७ किलोमिटर ट्रयाक खोल्ने लक्ष्य रहेको छ । चालु आवभित्र यो आयोजनामा १६ वटा पुल निर्माण गर्ने लक्ष्य रहेको छ ।

त्रैमासिक ०.१ किलोमिटर ट्रयाक २ पुल निर्माण गर्ने लक्ष्य रहेको छ । यसमा अहिले ग्राभेलिङको काम हुने क्रममा छ । रामदी गैडाकोटमा ग्राभेल हुदै गरेको विभागले जनाएको छ ।

 

कालीगण्डकी कोरिडोर अन्तर्गत हालसम्म ट्रयाक खुलाउने काम सकिएको छ भने ११ वर्षअघि २७ अर्ब लागत अनुमान गरेर यो आयोजना सुरू गरिएको हो । यस आयोजनामा हालसम्म २२.४ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । आयोजनामा चालु आवमा ५ करोड रुपैयाँ खर्च भएको छ ।

 

बेनी-जोमसोम-कोरला सडक 

 

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने यस आयोजना अन्तर्गत कुल १८६ किलोमिटर ट्रयाक खोल्ने र स्तरोन्नति गर्ने लक्ष्य रहेको छ । २०७३/७४मा सुरू भएको उक्त आयोजना हालसम्म १६० किलोमिटरमा ट्रयाक खुलेको छ भने १६० किलोमिटर ग्राबेल भएको छ । आयोजनामा १४ किलोमिटर सडक कालोपत्र भएको छ ।

 

चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकोमा ४ किलोमिटर कालोपत्र गरिएको छ । आयोजना अन्तर्गत चालु आवको त्रैमासिकमा ११ वित्तीय प्रतिशत प्रगति भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३६ भौतिक प्रतिशत भएको छ ।

आयोजना अन्तर्गत हालसम्म कुल ६९ प्रतिशत वित्तीय प्रगति भएको विभागले जनाएको छ । आयोजना अन्तर्गत वार्षिक १२ वटा पुल सम्पन्न गर्ने लक्ष्य रहेको छ । सो अन्तर्गत प्रतित्रैमासिकमा एउटा पुल सम्पन्न गर्ने लक्ष्य भए पनि हालसम्म सम्पन्न भएको छैन ।

 

कर्णाली करिडोर (हिल्सा-सिमिकोट) : यस आयोजना अन्तर्गत सेनाको बाहेक १४५ किलोमिटर (हिल्सा–सिमिकोट) सडक खण्ड ९५ किलोमिटर तथा सिमिकोट–सलिसल्ला सडक खण्डमको ५० किलोमिटरमा सडक ट्रयाक निर्माण तथा पुल निर्माण भइरहेको छ ।

 

२०६९/७० मा सुरू भएको यस आयोजनामा चालु आवमा १० किलोमिटर सडक ट्रयाक खोल्ने तथा ग्राभेल गर्ने लक्ष्य रहेको छ । चालु आवको पहिलो त्रैमासिकमा २.४ किलोमिटर ट्रयाक खोल्ने लक्ष्यमध्ये ७०० मिटर ट्रयाक खोल्ने काम भएको हो । सिमिकोटमा ४ वटा पुल निर्माणको काम भइरहेको छ ।

 

चालु आवको पहिलो त्रैमासिकमा ६ करोड ४२ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहे पनि ११ लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको छ ।आयोजनाको कुल लागत ४ अर्ब १० करोड अनुमान गरिएको छ । चालु आवका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मन्त्रीले सेयर बजार घटाउन/बढाउन भूमिका खेल्न सक्दैन : अर्थमन्त्री शर्मा Read Previous

मन्त्रीले सेयर बजार घटाउन/बढाउन भूमिका खेल्न सक्दैन : अर्थमन्त्री शर्मा

सेयर बजारमा लगातार भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

सेयर बजारमा लगातार भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी