अब सवारीसाधनको ५ वर्षको कर अग्रिम तिर्न मिल्ने, यस्ता छन् फाइदा

काठमाडौं । अब ५ वर्षसम्मको सवारीसाधनको वार्षिक कर एकैपटक अग्रिम तिर्न मिल्ने भएको छ । यातायात व्यवस्था प्रदेश कार्यालय वाग्मतीले सवारीसाधन नवीकरणमा नयाँ व्यवस्था लागू गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

यसअघि हरेक वर्ष गर्नु पर्ने नवीकरण अब सेवाग्राहीले चाहेको खण्डमा एकै पटक ५ वर्षको शुल्क तिर्न सक्नेछन् । यसले धेरै सेवाग्राहीलाई फाइदा पुग्ने देखिन्छ ।

 

यातायात व्यवस्था कार्यालय हेटौंडाका अनुसार ५ वर्षको नवीकरण एकै पटक गर्दा सेवाग्राहीलाई दोहोरो फाइदा दिन सक्ने छन् । सेवाग्राहीले ५ वर्षको शुल्क हाल कायम भएको करको दर अनुसार तिर्न पाउने व्यवस्था गरिएको छ । यसले ५ वर्ष भित्र कर बढेमा बढेको रकम तिर्नु पर्ने छैन भने एकै पटक नविकरण गर्दा कुल लाग्ने सवारी करको १० प्रतिशत छुट समेत पाइने छ ।

 

यातायात व्यवस्था कार्यालय हेटौडाका सूचना अधिकारी राजु अर्याल भन्छन्, ‘हामीले ५ वर्षको कर एकै पटक तिर्ने ग्राहकलाई १० प्रतिशत रकम छुट दिएका छौं । पछिल्ला वर्षमा हरेक वर्ष वार्षिक कर बढी रहेको छ । यसरी एकैपटक कर तिर्ने ग्राहकले बढेको रकम पनि तिर्नु पर्दैन ।’

 

एकै पटक ५ वर्षको वार्षिक कर तिर्दा ग्राहकले कम्तीमा एक वर्षको तेस्रो पक्ष बीमा गर्नु पर्ने हुन्छ । अन्य ४ वर्षको बीमा भने अनिवार्य नगरिएको सूचना अधिकारी अर्यालले बताए । अर्याल भन्छन्, ‘तेस्रो पक्ष बीमा भनेको सेवाग्राहीको फाइदाका लागि हो, हामीले अनिवार्य गरेका छैनौं, उपभोक्तले आफैँ आफू सुरक्षित हुन यो बीमा लेख खरिद गर्न सक्नेछन् ।’

 

वाग्मती प्रदेश कार्यालयले यो सुविधा कार तथा मोटरसाइकल दुवैमा लागू हुने जनाएको छ ।

निजी क्षेत्रले भरपर्दो आधार देखाए विद्युत व्यापारको अनुमति दिइने Read Previous

निजी क्षेत्रले भरपर्दो आधार देखाए विद्युत व्यापारको अनुमति दिइने

मन्त्रीले सेयर बजार घटाउन/बढाउन भूमिका खेल्न सक्दैन : अर्थमन्त्री शर्मा Read Next

मन्त्रीले सेयर बजार घटाउन/बढाउन भूमिका खेल्न सक्दैन : अर्थमन्त्री शर्मा