जाजरकोट । खुद्रा पसल दर्ता गरेर ५ लाख रुपैयाँ पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ ।
उनले भने, “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा १ हजार २०० कर तिर्न १० हजार रुपैयाँ खर्च गर्नुपर्छ ।”
स्थायी लेखा नम्बर (पान) लिन र कर तिर्न सुर्खेत जानुपर्ने भएपछि उनीजस्ता सानो व्यवसाय गरी गुजरा चलाउनेका लागि निकै सास्ती भएको छ ।
यो क्षेत्रको आन्तरिक राजश्व कार्यालय सुर्खेत र जुम्लामा मात्र भएकाले जिल्लाका व्यवसायीलाई कर तिर्न सुर्खेत र जुम्ला जानुपर्छ । २० लाखसम्मको पूँजी राखेर व्यवसाय गर्ने व्यापारीले नगर क्षेत्रभित्र भए २ हजार ५०० र गाउँपालिकाभित्र भए १ हजार २५० वार्षिक कर बुझाउनु पर्छ ।
बारेकोट गाउँपालिका–५ का प्रकाश गिरीले खुद्रा पसल सञ्चालन गरेका छन् । उनले १ हजार २५० कर बुझाउन सुर्खेत जाँदा १० हजारभन्दा बढी खर्च भएको बताए । बैंकबाट वा जिल्ला सदरमुकाममा शाखा कार्यालय राखेर त्यहीँबाट राजश्व बुझाउने व्यवस्था मिलाउन सबैको आग्रह छ ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर खत्रीले जिल्लामै कर बुझाउने व्यवस्था मिलाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गगरे। जिल्लाका तीन हजार व्यवसायी पानमा दर्ता भएका छन् । रासस