काठमाडौँ । कोरोनाका कारण धरासाय बनेको व्यापार,व्यवसाय उकास्न नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको पुनरकर्जा अत्यन्त न्यून व्यवसायीले मात्र लिएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्मा जम्मा ५५ कम्पनीले मात्र पुनरकर्जा लिएका हुन् । ती कम्पनीहरुले २१ वटा बैैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ८० करोेड १३ लाख रुपैयाँ पुनरकर्जा लिएका हुन् ।
सोमध्ये ११ जना ऋणीले ८ वटा बैंकक तथा वित्तीय संस्थाबाट १ अर्ब ८६ करोड २३ लाख रुपैयाँ विशेष पुनरकर्जा लिएका छन् । त्यस्तै, ४४ जना ऋणीले १९ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ बराबरको साधरण पुनरकर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा गत आवमा दिइएको रकमको सीमा ननाघ्ने गरेर यस वर्ष पनि पुनरकर्जा सुविधालाई निरन्तरता दिएको थियो । सोही सुविधा प्रयोग गर्दै व्यवसायीहरुले पुनरकर्जा लिएका हुन् ।
पुनरकर्जा लिने व्यवसाय तथा उद्योगहरुले बैंकहरुलाई ५ प्रतिशत ब्याज तिर्नुपर्छ भने राष्ट्र बैंकले पुनरकर्जा बापत ३ प्रतिशत ब्याजदरमा बैंकहरूलाई उपलब्ध गराउँदैे आएकको छ ।
५० प्रतिशत ऋणी पर्यटन क्षेत्रका
राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी पुनरकर्जाको सुविधा लिने पर्यटन क्षेत्रका व्यवसायीहरु रहेका छन् । कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित बनेको पर्यटन व्यवसायीले नै धेरै ऋण लिएका हुन् ।
असोजसम्म राष्ट्र बैंकबाट दिइएको पुनरकर्जा सुविधामध्ये ५०.९३ प्रतिशत अर्थात ३ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ पर्यटन क्षेत्रका व्यापार व्यवसायले ऋण लिएका हुन् ।
राष्ट्र बैंकका अनुसार पर्यटनपछि दोस्रोमा जलविद्युत् क्षेत्रमा २३.६४ प्रतिशत अर्थात् १ अर्ब ६० करोड ७६ लाख रुपैयाँ पुनरकर्जा गएको छ । त्यसैगरी,उत्पादनमूलक उद्योगहरूमा करिब १२ प्रतिशत अर्थात ८० करोड ८० लाख रुपैयाँ पुनरकर्जा गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
अस्पतालमा ७.१६ प्रतिशत अर्थाात ४८ करोड ७० लाख रुपैयाँ, शिक्षामा २४ करोड ५० लाख, यातायात क्षेत्रमा १३ करोड ५२ लाख रुपैेयाँ पुनरकर्जा गएको छ । सबैभन्दा कम पुनरकर्जा लिनेमा कपडा व्यवसायी रहेका छन् ।
कपडा व्यवसायीहरुले कुल पुनरकर्जाको ०.८० अर्थाात ५ करोड ४७ लाख रुपैयाँ पुनरकर्जाको सुविधा लिएका छन् ।
आधा पुनरकर्जा वाग्मती प्रदेशमै
सबैभन्दा धेरै पुनरकर्जा सुविधा लिनेमा वाग्मती प्रदेशका व्यवसायीहरु रहेका छन् । राष्ट्र बैैंकका अनुसार वाग्मती प्रदेशमा हालसम्म ३ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ पुनरकर्जा सुविधा उपयोग भएको छ । यो कुल पुनरकर्जाको ५०.७८ प्रतिशत हो ।
गण्डकी प्रदेशमा १ अर्ब ८९ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यसैगरी, लुम्बिनी प्रदेशकका व्यापार थथा व्यवसायहरुले ८८ करोड ५५ लाख रुपैयाँ, प्रदेश १ मा ३६ करोड ४२ लाख रुपैयाँ पुनरकर्जा सुविधा लिएका छन् ।
पुनरकर्जा सुविधा सबैभन्दा कम उपयोग गर्नेमा प्रदेश नम्बर १ रहेको छ । यस प्रदेशमा ३.०१ अर्थात २० लाख ४४ हजार रुपैयाँ मात्र पुनरकर्जा लिएका छन् ।
यस्तो छ पुनरकर्जाको मापदण्ड
राष्ट्र बैंकले पुर्न कर्जाको लागि केही मापदण्ड तोकेको छ । बैंकका अनुसार पुनरकर्जाको लागि संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने छ ।
आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम एक वर्ष बाँकी रहेको हुनुपर्ने तथा एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ ।
पुनरकर्जाको लागि आवेदन गरिएको कूल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने छ ।
त्यस्तै, आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने तथा आवेदन पेश गर्ने संस्थाको पूँजीकोष अनुपात बैंकले तोके बमोजिम पुगेको हुनुपर्ने व्यवस्था राष्ट्र बैैंकले गरेको छ ।