काठमाडौं । फेस मास्कको आयात घट्दो क्रममा रहेको छ । नेपालमै फेस तथा सर्जिकल मास्कको उत्पादन वृद्धि भएसँगै विदेशबाट आयात घटेको हो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ मा मास्क आयात झन्डै आधाले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिना (साउन-कात्तिक)मा २० करोड २० लाख ५३ हजार रुपैयाँ बराबरको फेस्क मास्क भित्रिएको हो ।
यो गत वर्षको सोही अवधिको तुलनामा १२ करोड ३५ लाख रुपैयाँको कम हो । गत वर्ष कात्तिकसम्म ३२ करोड ५६ लाख १६ हजार रुपैयाँ बराबरको मास्क आयात भएको थियो ।
चालु आवमा २० करोड बढीको ७ करोड ९ लाख २३ हजार ८२१ पिस मास्क नेपाल भित्रिएको छ । जसबाट ३ करोड २९ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
कोभिड–१९ को महामारीपछि नेपालमा धेरै उद्योगले मास्क उत्पादन सुरु गरेसँगै विदेशबाट हुने मास्कको आयात घटेको हो । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्का स्वदेशमा फेस मास्कको उत्पादन सुरु भएसँगै मास्क आयात घटेको बताउँछन् ।
‘कोभिड – १९ को संक्रमणदर वृद्धि भएसँगै मास्क प्रयोग अनिवार्य नै भएपछि नेपालमा मास्क उत्पादन वृद्धि भयो, दैनिक हजारौंको पिस मास्क उत्पादन हुन थालेपछि मास्क आयात घट्यो, उत्पादन वृद्धि भएपछि आयात घट्नु स्वभाविक हो, अहिले नेपाल मास्कमा झन्डै आत्मनिर्भर उन्मुख भइसकेको छ,’ खड्काले चाणक्य पोष्टसँग भने ।
अधिकांश मेडिकलजन्य वस्तुमा परर्निभर रहेको नेपाल मास्कमा छोटै समयमै आत्मर्निरन्मुख बनेको उनको भनाइ छ । नेपालले हाल अष्ट्रेलिया, बंगलादेश, चीन, डेनमार्क, फ्रान्स, जर्मन, भारत, कतार लगायत विश्वका ५२ देशबाट फेस मास्क आयात गर्दै आएको छ ।
नेपाली मास्क निर्यात हुन थाल्यो
नेपालमा मास्क उत्पादनमा वृद्धि भएसँगै पछिल्ला दिनहरुमा निर्यात समेत हुन थालेको छ । चालु आवको चार महिनामा नेपालबाट ३ करोड २७ हजार रुपैयाँ बराबरको फेस मास्क निर्यात भएको विभागको तथ्याकं छ ।
चालु आवमा नेपालबाट १५ लाख ५३४ पिस मास्क निर्यात भएको छ । नेपालबाट भारत, न्यूजिल्यान्ड, कतार, भुटान लगायतका देशहरुमा फेस मास्कको निर्यात भइरहेको विभागले जनाएको छ ।
यकीन तथ्यांक नभए पनि अहिले नेपालमा घरेलुदेखि ठूला उद्योगले समेत मास्क उत्पादन गर्न थालेका छन् । ती उद्योगले झन्डै नेपालको माग धान्ने मास्क उत्पादन गर्ने बताइएको छ ।
मास्कको तथ्यांक गत बर्षदेखि मात्र राखियो
विभागले गत आर्थिक वर्षदेखि मात्र मास्कको तथ्यांक राख्न थालेको हो । कोभिड–१९ को महामारीपछि मास्कको व्यापार देखिएकाले तथ्यांक राख्न थालिएको विभागका एक कर्मचारीले बताए ।
‘पहिले मास्कको तथ्यांक राखिने गएिको थिएन । तर, कोभिडपछि मास्कमा महसुल लगायतका सुविधा दिनुपर्ने अवस्था आउन सक्ने भएकोले यसको तथ्यांक चाहिन्छ भनेर आव २०७७/७८ देखि छुट्टै एचएस कोड राख्न थालेको हो,’ उनले भने ।