नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ ।
हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ ।
‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’ (पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माणमा जोड दिइएको हो ।
करिब ६० किलोमिटर लामो पदमार्ग निर्माणको काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताउनुभयो । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माणकार्य तीव्र पारिएको हो ।
गाउँपालिकाको विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी सो निर्माण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कोपिला पण्डितको भनाइ छ ।
उनका अनुसार पर्यटन विभागले स्थानीय तहको समन्वयमा २ करोड रुपैयाँ लागतमा सो पदमार्ग निर्माण भइरहेको हो । हेलम्बु, सिमिसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटरमध्ये १५ किमीको काम सकिसकेको छ ।
पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमीमा पनि १० किमी मात्रै काम बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए ।
बजेट र अनुमानित लागत
उक्त कामका लागि प्रदेश नं. ३ बाट र ५० लाख अनुदान निकासा भएको थियो । त्यसैबाट प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्ग निर्माणकार्य शुरु गरिएको सव–इञ्जिनीयर शेरबहादुर राईले जानकारी दिए ।
पहिलो मार्गअन्तर्गत हाल निर्माण शुरु गरिएको हेलम्बु–१ स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङजाला भञ्ज्याङमा गएर टुङ्गिने छ । त्यसैगरी दोस्रो रुटमा वडा नं. ६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ हुँदै ग्याङजालामै गएर टुङ्गिने छ ।
दुवैतिरबाट शुरु गरी अन्तिम विन्दुमा पुगेपछि उक्त पदमार्ग अङ्ग्र्रेजी अक्षरको ‘सी’ आकार अर्थात् अर्धचन्द्र आकारको हुनेछ । सम्पूर्ण निर्माणकार्य सम्पन्न भएपछि दुवैतर्फबाट रसुवाको चर्चित धार्मिकस्थल गोसाइँकुण्ड जान पनि सरल र सहज हुने बताइएको छ ।
पदमार्ग कडा चट्टाने ढुङ्गालाई काटेर इँटाका रुपमा तयार गरी निर्माण भइरहेको छ । सो मार्ग एक मिटर पूरा गर्न ३० हजार लाग्नुका साथै समय पनि बढी लाग्ने गर्दछ । झण्डै चीनको ‘ग्रेटवाल’को झल्को दिने उक्त पदमार्ग हेर्दा आकर्षक देखिने बताइएको छ ।
ह्योल्मो भूमि र धार्मिकस्थलका रुपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो । यसले हेलम्बुमा पर्यटक विकासका लागि धेरै सहयोग गर्ने गाउँपालिका अध्यक्ष शोर्पाको भनाइ छ । समग्र हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य गाउँपालिकाले लिएको शेर्पाले बताउए।
“लाङटाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन्, अर्को हेलम्बुको कुटुम्साङ, माग्नीकोट, ठाडेपाटी गोसाइँकुण्ड रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ”, अध्यक्ष शेर्पाले भने, “हेलम्बु हुँदै लाङटाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण जरुरी देखिएको छ, त्यहीअनुरुप हामिले काम थालेका हौँ ।”
झण्डै १०० किलोमिटर दूरीमा रहेको काठमाडौंको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमागाउँ कुटुम्साङबाट ठाडेपाटी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले पनि चलिरहेको छ ।
सो पदमार्गले गर्दा स्थानीयवासीलाई दैनिक काम गर्नसमेत सहज भएको छ । वडा नं. १ का वडाध्यक्ष मिङ्मार लामाले पदमार्गले सिन्धुपाल्चोक र रसुवा दुवै जिल्लाको पर्यटन प्रवद्र्धनका लागि टेवा पुग्ने बताए । रासस