काठमाडौं । सरकारले देशभर ५४ नयाँ सहरहरु निर्माण गरिरहेको छ । केही अध्ययनका क्रममा रहेका छन् भने केही कार्यान्वयनका चरण पुगिसकेका छन् ।
कम बजेटका बावजुद विभिन्न सहरहरुमा पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार पछिल्लो समय मध्यपहाडी लोकमार्गमा भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् ।
मध्यपहाडी क्षेत्रमा कुल १० वटा शहरको भौतिक पूर्वाधार निर्माणको कामलाई सहरी विकास मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।
सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेणी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सुविधासम्पन्न सहर निर्माण गर्न लागेको हो ।
मध्यपहाडी लोकमार्ग भित्र पर्ने बसन्तपुरमा नयाँ सहर निर्माण अन्तर्गत चालु आर्थिक वर्षको त्रैमासिक (साउन–असोज) मा १०.६४ प्रतिशत भौतिक प्रगति भएको विभागले जनाएको छ । हालसम्म यस आयोजनामा कुल ५.६३ प्रतिशत काम सम्पन्न भएको विभागको भनाई छ ।
नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार विजुली पोल राख्ने लगायतका कामहरु भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत नयाँ सहर विकास शाखाका सुचना अधिकारी रमिता ताछमोले बताइन् । उक्त नयाँ सहर निर्माणका क्रममा ३१.७० प्रतिशत वित्तिय खर्च पनि भएको छ ।
त्यसैगरी फिदममा चालु आर्थिक वर्षमा मात्र २.१७ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त भौतिक पूर्वाधार निर्माणका क्रममा ५.५६ प्रतिशत वित्तिय खर्च भएको नयाँ सहर विकास शाखाले जनाएको छ । नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार विजुली पोल राख्ने लगायतका कामहरु भइरहेको छ ।
त्यस्तै, साफे नयाँ सहर निर्माणका क्रममा चालु आर्थिक वर्षमा कुल १.२५ प्रतिशत भौतिक प्रगति भएको छ । नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार विजुली पोल राख्ने लगायतका कामहरु भइरहेको छ । उक्त सहर निर्माणका क्रममा चालु आव भित्र १२.५२ प्रतिशत वित्तिय खर्च भएको विभागले जनाएको छ ।
साथै, यही राजमार्गमा पर्ने राकम नयाँ सहर निर्माणको काम चालु आवको पहिलो त्रैमासिक अवधिमा २.०८ प्रतिशत भौतिक प्रगति भएको छ । नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार विजुली पोल राख्ने लगायतका कामहरु भइरहेको छ । यस आयोजनामा भौतिक निर्माणका क्रममा ३० प्रतिशत वित्तिय प्रगती भएको छ ।
चौरझारी नयाँ सहर निर्माणका क्रममा चालु आर्थिक वर्षमा ४४.५७ प्रतिशत भौतिक प्रगति भएको छ । भौतिक संरचना निर्माणका क्रममा उक्त सहरमा ६१.४५ प्रतिशत वित्तिय खर्च भइसकेको छ । नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार विजुली पोल राख्ने लगायतका कामहरुले तिब्रता पाएको छ ।
त्यसैगरी डुम्रेमा बन्ने नयाँ सहर निर्माणका क्रममा चालु आवमा ५.५१ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उक्त सहर निर्माणका क्रममा ७४.४५ प्रतिशत वित्तिय खर्च भइसकेको विभागले जनाएको छ ।
बैरेनी, पाटन, खुरकोट, भुर्तीबांङ लगायतका क्षेत्रको प्रगति विवरण आउन अझै बाँकी रहेको विभागले जनाएको छ । विभागका अनुसार हाल सबै सहरका योजना प्रमुखहरुसँग त्रैमासिकको प्रगति विवरण माग गरिएको छ ।
प्रत्येक शहरमा बस पार्क, मनोरञ्जन पार्क, तरकारी बजार, सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको विकास गरिने योजना रहेको छ ।
सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यसाथ सरकारले आर्थिक वर्ष २०६७÷ ६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको छेउछाउमा १० वटा नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो ।
सुचना अधिकारी तछामोले सबै नयाँ सहरहरुमा ल्याण्ड पुलीङको काम भइरहेको बताइन् । नयाँ सहर निर्माणका लागि चालु आवमा साढे ३ अर्ब बजेछ छुटाइएको छ । ११ वटा सहरका लागि छुट्टै बजेट दिइने भने पनि हालसम्म ठोस निर्णय तथा कार्यान्वयन हुन सकेको छैन ।
गत आर्थिक वर्षमा नयाँ सहर निर्माणका लागि २ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त बजेटले डिपिआर लगायतका कामहरु सम्पन्न भएको थियो ।