काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारमा आज एकाएक उछाल आएको । दुई दिन लगातार दोहोरो अंकले घटेको बजार मंगलबार करिब २१ अंकले बढेको छ । आज सूचकसँगै कारोबार रकमा पनि बढोत्तरी आएको छ ।
निरन्तर ओरालो लागेको बजारमा एकै दिन दोहोरा अंकले सुधार आउँदा लगानीकर्तालाई थोरै भएपनि राहत महशूस भएको छ ।
भारित औसत लागत विधिबाट पूँजीगत लाभकरण गणनाका लागि सीडीएससीले हाल प्रचलनमा रहेको ल्याप्चे युगको अन्त्य गर्न नयाँ सफ्टवेयर परीक्षणमा ल्याएपछि लगानीकर्ताको आत्मबल बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से २०.५७ अंकले बढेर ११९०.९० विन्दुमा पुगेको छ । आज १७१ कम्पनीको ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँको कारोबार भएको छ । २१ लाख ८४ हजार २७१कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका ११ वटा समूमध्ये सामूहिक लगानी कोष र अन्य समूहको सूचक ओरालो लागेका छन् भने अरु बाँकी सबै समूहको सूचक बढेका छन् ।
आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १४५.५अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक १२३.५३ अंकले उकालो लागेको छ । वाणिज्य बैंक समूह पनि १८.९८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ५ करोड ७२ लाख ३० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपाल बैंकको २ करोड २९ लाख र नेपाल लाइफको २ करोड २० लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य करिब ९.४६ प्रतिशतले बढेको छ भने सिटी एक्सप्रेस फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ४.८५ प्रतिशतले घटेको छ ।