काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (मंसिर १६ गते) अन्तिम दिन रहेको छ । एभरेष्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र सबैको लघुवित्तले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
तीनै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर १७ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस १ गते बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा साधारण सभा बोलाएको छ ।
त्यसैगरी, साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट घोषणा गरेको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.५७ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश पारित गर्न मंसिर २९ गते १३ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा महाराज रिसोर्ट, रुपन्देहीमा हुनेछ ।
त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस ३ गते पाँचौं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.६३ प्रतिशत गरी कुल ३२.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।