काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । पछिल्ला दुई दिनमै करिब १०० अंकले घटेको बजारमा आज भने झिनो अंकले घटेको हो ।
सूचकमा झिनो अंकको गिरावट आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्बले घटेर ३ सीमित भएको छ ।
सेयर बजार मापक सूचक नेप्से १.६४ अंकले घटेर २६२८.३७ विन्दुमा आइपुगेको छ । मंगलबार २२५ कम्पनीको ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ रुपैयाँ बराबरको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक र निर्जीवन बीमा समूह सबैभन्दा धेरै ०.८३ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह ०.८४ प्रतिशतले घटेको छ ।
आज आइसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक झन्डै १४ करोड र हिमालयन डिस्ट्रीलरी १० करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।
झिनो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।
यसैगरी, तेह्रथुम पावर ७.०८, युनाइटेड इदीमार्दी ६.४९, आइसीएफसी फाइनान्स ६.१०, हिमाल दोलखा, समिट लघुवित्त, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
घट्दो बजारमा आज इन्फिटी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.७७ प्रतिशतले घटेको छ ।