काठमाडौं । मैतिदेवीबाट धोवीखोलाको किनारै किनार बानेश्वर कार्यालय र्फकदैं एक्कासी भोक लागेको अनुभुति भयो । दिउँसो खाजाको समय थियो । साथी र म खोलाको किनारमै रहेको रेष्टुरेन्टमा पस्यौं । नाम याद गरिएन ।
भित्र नेपाली पारामा सजाइएको रहेछ रेष्टुरेन्ट । मान्द्रो र बाँसको सानो कटेरो बनाइएको । अनी बेतका टेबुल कुर्चीहरु थिए । भुईंमा चकटी ओछ्याएर बस्ने ब्यवस्था पनि रहेछ ।
‘यहाँको बिशेष परिकार के हो ?’, मैले सोधें ।
‘विरियानी,’ वेटरले जवाफ फर्काए ।
एउटा चिकेन बिरियानी मगाएर साथी र म गफिन थाल्यौं ।
बटर चिकेन र बिरियानी पछिल्लो समय भारतको पहिचान बनेका छन् विश्वभर । विश्वभर धेरैको रोजीरोटी यहि दुई परिकारले धानेका छन् । नेपालमा पनि केही नव उद्यमीको रोजीरोटी बिरियानीले धान्न थालिसकेछ !

रमाइलो लाग्यो । तर, नेपालको परिकारले विश्वस्तरमा हैसियत बनाउन नसक्दा र दिनदिनै लोप भएर जादैं गरेको अनुभुति गर्दा भने खिन्न लाग्यो ।
करिब १० मिनेटपछि माटोको भाँडों (मटिया) मा माथीबाट ‘एलुमिनियम फोइल’ले ढाकेर विरियानी आइपुग्यो ।
‘एलुमिनियम फोइल’ उघारें । बेस्सरी तेलमा खारेर झुरा बनाइएका स–साना प्साजका टुक्राहरु बिरियानीको माथि छरिएको थियो । पहेंलो, रातो र सेते रङका भातका सिताहरु सुन्दर देखिन्थे । र, माटोको भाँडोबाट मगमग बिरियानीको बास्ना आइरहेको थियो । यो परिकारले एकैपटक मेरो नाक, आँखा र जिब्रोलाई आकर्षित गर्यो ।
‘पेन्टरको पेन्टिङले हेर्नेको आँखालाई मात्र आकर्षित गर्छ । तर, हामीले बनाएको खानाले मानिसहरुको आँखा, नाक र जिब्रोलाई समेत आफुतर्फ आकर्षित गर्छ । त्यसैले हामी दुनियाँको सबैभन्दा ठूलो कलाकार हौं । खाना बनाउनु भनेको कुनै सामान्य पेसा मात्र होइन,’ अमिताभ बच्चनले उनको एक सिनेमामा बोलेको ‘डाइलग’ याद आयो ।
राइतासँग (दहिमा काँक्रो, प्याज आदिका स–सना टुक्रा मिसाएर बनाइने परिकार) चिकेन बिरियानीको स्वाद बेजोड थियो । टिम्मुरको पिरोले जिब्रो भने हल्का परपराइरहेको थियो । वेटरलाई रेष्टुरेन्टको नाम सोधौं जस्तो लाग्यो ।
सानो ठाउँ, अत्याधिक भिडभाड र ज्यादै ब्यस्त वेटरलाई बोलाएर सोध्न मन लागेन । आफैं उठेर बाहिर गएर रेष्टुरेन्टको साइनबोर्ड हेरें ।
लेखिएको थियो, ‘मटिया हाउस’

रेष्टुरेन्ट ब्यवसाय
युवा वर्गमा रेष्टुरेन्ट ब्यवसाय चर्चित भइरहेको छ पछिल्लो समय । रेष्टुरेन्टको नाम परम्परागत खाले नेपाली शब्दबाट जुटाउनु, ठुलो पूँजीगत खर्च गर्नु, धेरै भाडा तिर्नु, ब्राण्डिङ गर्ने प्रयास गर्नु, आफ्नो सबै बजेट वा पूँजी सक्नु, त्यसपछि रेष्टुरेन्ट सञ्चालन गर्ने पैसा जुटाउन नसक्नु र अन्तत ब्यवसायबाट पलायन हुनु नेपाली युवा रेष्टुरेन्ट ब्यवसायीहरुको नियती रहिआएको छ ।
तर, मटिया केही फरक लाग्यो । अत्यन्तै कम पूँजीगत खर्च गरिएको छ । तर, सञ्चालन र खानाको गुणस्तरम भने चुस्तता ल्याउने प्रयास गरिएको छ । कम खर्चम सृजनशिल ढंगले सजावटको काम गरिएका छन् । यस्तो हुँदा सञ्चालकमा ठूलो पूँजीगत खर्च उठाउनु पर्ने दवाब पर्दैन र रेष्टुरेन्ट हलुका हुन्छ र तुरुन्तै फाइदामा जान्छ । हलुका बेलुन माथि माथि उडे झैं ।

यो सबै अनुभुत गरेपछि सञ्चालकलाई भेट्ने इच्छा जागेको मात्र के थियो उनी टुप्लुक्कै आइपुगे । रेष्टुरेन्टमा उनको प्रवेश, कर्मचारिहरुलाई दिएको निर्देशन आदि देखेपछि उनी नै सञ्चालक भएको ठम्याउन गाह्रो भएन ।
केही बेरको कुराकानी पछि मटियाका सञ्चालक तिनै बिवश काफ्ले रहेछन् जसले काठमाण्डौंमा पहिलोपटक भक्का भित्राएका थिए ।
भक्का
भक्का भन्ना साथ चामल पिठोबाट बनाइएको परिकार बुझिन्छ । यो परिकार पूर्वी तराई हुँदै काठमाडौं भित्राउने श्रेय विश्वास काफ्लेलाई जान्छ । उनले पहिलो पटक भक्का व्यवसाय पुरानो बानेश्वरबाट सुरु गरेका थिए ।
पढाइअघि बढाउन उपत्यका छिरेका विश्वासले १२ सकेपछि गैर सरकारी सँस्थामा काम गरे । जहाँ उनको तलब ५० हजार मासिक रहेको थियो । स्नातक पढ्दै जागिर गरिरहेका उनलाई एक दिन आफ्नो गाउँको भक्का काठमाडौंमा खान मन लाग्यो । तर, पाएनन् । त्यसपछि उनले काठमाडौंमै भक्का व्यवसाय गर्ने सोच बनाए ।

यसरी २३ वर्षको उमेरमै उनले परिवारसँग आर्थिक सहयोगमा भक्का व्यवसाय गर्न सुरु गरे ।
५/६ लाख लगानीमा उनले पुरानो बानेश्वरमा भक्का व्यवसाय सञ्चालन गरेका थिए । गर्मिमा भक्काको व्यापार सामान्य हुने गरे पनि जाडो याममा यसको व्यापार उत्कृष्ट हुने गरेको बिवश बताउँछन् ।
उनले भक्कासँगै माटोका भाँडामा चिया बेच्न थाले । यसरी माटोका भाँडामा चीया खान रुचाउनेहरुको संख्या बढ्दै गयो । भक्का ब्यवसाय गरेर गर्मिमा मासिक २०/३० हजार रुपैयाँको कमाई हुने भएता पनि जाडोमा भने २÷३ लाखको हाराहारीमा कमाई हुने गरेको उनले जानकारी दिए ।
‘गर्मिमा भक्का खासै खाँदैनन्, त्यही पनि गत वर्षको गर्मिमा भन्दा यो पटकको गर्मिमा अलि बढि व्यापार भएको छ । जाडोमा भने भक्काकै पैसाले मटियाको समेत खर्च धानिन्छ,’ बिवशले चाणक्य पोष्टसँग भने ।
मटियाको जन्म
भक्का व्यापार गर्दा गर्दै सुरु गरेको माटोको भाडामा चिया बेच्ने कन्सेप्टलाई मटिया हाउसमा प्रयोग गरेका हुन् । उनले माटोकै भाडामा पकवानहरु बनाएर बेचे झन कस्तो हुन्थ्यो भनेर मटियाको सोचे ल्याए ।
त्यसपछि उनले ऋणको चाँजोपाजो सहित मटिया हाउस सुरु गरे । मटिया हाउसका लागि उनले भक्तपुरमा बन्ने माटोका भाडासँग सम्पर्क गरी माटोकै भाडामा सबै प्रकारको पकवान बनाउन थाले ।
मासु तथा तरकारी, लगायतका पकवान पहिलैदेखि माटोको भाडामा बनाउने चलन भएपनि अन्डा भने माटोको भाँडामा बनाउन उनले नै पहिलो पटक शुरु गरे । उनले माटोको भाँडामा बट्टाई, हाँस, चित्रा, अष्ट्रिच लगायत विभिन्न चरा चुरुंगीका परिकार बनाउने गर्छन् ।
त्यस बाहेक माछाका परिकारहरू, कुखुराका परिकार, खसीका परिकार, फुल्का (विशेष प्रकारको रोटी ) लगायतका पकवानहरु मटियामा तयार हुने गरेको छ । यसरी माटोको भाडामा परिकारहरु बनाउँदा उनले मासिक २५ देखि ३० हजार लगानी माटोको भाँडामा गर्ने गरेका छन् ।
हाल उनले मटिया हाउस सञ्चालन गर्न थालेको ६ महिना भयो । यस्तै पकवान पकाउन प्रयोग गरिने माटोका भाँडा वातावरण मैत्री भएकाले त्यसलाई गमलामा परिणत गर्ने उनको यो योजना छ । तर, त्यो भने पुरा हुन सकेको रहेनछ । समूहमा वा दैनिक आउने ग्राहकहरुलाई बिशेष छुटको पनि ब्यवस्था रहेछ ।
मटियामा चिया तथा आईसक्रिम ५० रुपैयाँदेखि मटियामा बनेको परिकारहरु १४ सय रुपैयाँसम्ममा खान सकिन्छ । हाल बानेश्वर वरिपरी मात्र डेलिभरीको व्यवस्था भएपनि आगामी दिनमा त्यसलाई वृद्धि गर्दै लैजाने उनले बताए । यस्तै, उनको मटिया हाउसमा बन्ने खानालाई उनले पर्यटन वर्ष २०२० मा प्रदर्शनी गर्ने जानकारी दिएका छन् ।
आगामी योजना
हाल बिवश नयाँ रेष्टुरेन्ट खोल्ने योजनामा रहेछन् । उनका अनुसार अबको १५/२० दिनमानयाँ रेष्टुरेन्ट सार्वजनिक हुँदैछ । यो पटक पनि सानो लगानीमा छुट्टै योजनाका साथ नयाँ तरिकाको रेष्टुरेन्ट खोल्न लागेको उनले बताए ।
आफ्नै थिम र सोचमा आधारित भएर रेष्टुरेन्ट खोले सफल भइने तर, काम गर्न भने लाज मान्न नहुने उनको बुझाई रहेको छ ।