काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी व्यवस्थालाई यथावत राखेको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यसअघिकै व्यवस्था कायम राखेको हो ।
राष्ट्र बैंकले यसअघि गरेको सेयर धितो कर्जाको सीमामा कुनै परिवर्तन नगरेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति मार्फत एक व्यक्तिले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग प्रणलीबाट १२ करोड रुपैयाँसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।
सो व्यवस्थापछि सेयर बजार ओरालो लागेको थियो । राष्ट्र बैंकको उक्त कदमको चौतर्फी विरोध भएको थियो भने सीमा फेर बदल गर्न गभर्नरलाई दबाब समेत दिइएको थियो ।
लगानीकर्ताको दबाबका कारण उक्त सीमा संशोधन हुने व्यवस्था गरिए पनि राष्ट्र बैंकले कुनै फेरबदल नगरेको हो । यसैगरी, राष्ट्र बैंकले सेयर धितोमा ७० प्रतिशत बराबर ऋण लिन पाइने व्यवस्थामा पनि कुनै परिवर्तन गरेको छैन ।